२०८१ आश्विन २१ गते, सोमबार १३:०९
  • रामग्रामको दुईदिने उत्सव: पर्यटकीय विकासको ढोका खुल्यो कि औपचारिकतामा सिमित

    परासी-गौतम बुद्धको अस्तुधातु रहेको स्थान नवलपरासी पश्चिमको रामग्राममा सोमबार र मंगलबार ठूलै चहलपहल थियो। सोमबार साँझ रामग्राममा दिप प्रज्वलन भएको थियो। सो अवसरमा एक हजार ११२ शान्तिदीप क्यान्डिल र ७ हजार दीप प्रज्जवलन गरिएको थियो। संस्कृती पर्यटन तथा नागरिक उउडयन मन्त्री सुँदन किराँतीले दीप प्रज्वलनको शुभारम्भ गरेका थिए। दीप प्रज्वलनले रामग्राम स्तुपा क्षेत्र झिलीमिली र आकर्षक देखिएको थियो।

    अर्कोदिन मंगलबार पनि रामग्राम स्तुपा क्षेत्रमा विहानैदेखी चहलपहल थियो। पश्चिम नवपरासीको सदरमुकाम परासीबाट स्तुपासम्म सर्वसाधारण देखी विशिष्ठ व्यक्तीहरुको ओहोर दोहोर भइरहेको थियो। ३ किलोमिटरको यो क्षेत्रमा पर्यटकीय बस, सरकारी तथा निजी सवारी साधनको बाक्लो आवतजावत थियो।परासी बजारबाट रामग्राम स्तुपा जाने सडक तर्फ प्रवेशद्वार राखिएका थिए। सडकका दायाँबायाँ थान्का चित्रको ध्वाजाहरुले सजाइएको थियो। समारोह स्थल स्तुपा परिसर बाहिर अरु केही प्रवेशद्वार बनाइएका थिए।

    रामग्राम स्तुपा परिसरमा बनाइएको समारोहस्थल आकर्षक र अरु कार्यक्रम स्थल भन्दा फरक देखिएको थियो। विहानै देखि बुद्धध्वनी गुन्जीएको थियो। लुम्बिनीमा बर्षेनी हुने बुद्ध जयन्ती समारोह भन्दा मंगलबार रामग्राम स्तुपामा भएको समारोह भव्य र आकर्षक देखिन्थ्यो। विहान साढे १० बजेतिर हेलिकप्टरबाट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड समारोह स्थलमा अवतरण गरे।

    प्रमुख अथिती प्रधानमन्त्री प्रचण्डसहित विशिष्ठ अथितीहरुलाई आसन ग्रहण गराइएको स्थान पनि अन्य समारोह भन्दा भिन्न लाग्थ्यो। आसन ग्रहण गर्ने स्थान र सम्बोधन गर्ने मञ्च अलग अलग ठाउँमा थिए। प्रधानमन्त्री प्रचण्ड, पर्यटनमन्त्री सुदन किराँती, पतन्जली योग पिठका अध्यक्ष आचार्य बालकृष्ण, भारतीय जनता पार्टीका सांसद राम माधव लगायत अथिती दर्शक दिर्घाको विच भागमा स्तुपातिर फर्केर बसेका थिए।

    स्तुपासँगैको मञ्चमा सम्बोधन गर्ने व्यवस्था मात्र थियो। मञ्च नजिकै आकर्षक बुद्धको मुर्ति थियो। दर्शक दिर्घाको वरिपरि भिक्षुहरुको समूह बस्ने छुट्टा छुट्टै मञ्च सैलीका ठाउँ थिए।

    मंगलबार मध्यान्न १२ बजेर १२ मिनेटमा प्रधानमन्त्री प्रचण्डले दीप प्रज्वलन गरे। यो दिन अग्रेजी पात्रो अनुसार १२ महिना १२ तारिख(डिसेम्बर १२) को संयोग पनि परेको थियो। समारोहमा प्रधानमन्त्री प्रचण्डले अब रामग्रामको विश्वव्यापी रुपमा प्रचारप्रचार हुने आशा व्यक्त गरे।’ रामग्राम अगाडि उभिएर विश्वशान्तिको लागि भनेर आज मलाई प्रमुख अथितीको रुपमा दीप प्रज्वलन गर्ने जो अवसर प्राप्त भयो’ उनले भने ‘आजको कार्यक्रमपछि रामग्राम बारे, यहाँ रहेको बुद्धको अस्तीधातुबारे र यहाँको ऐतिहासिक तथा सांस्कृतिक महत्वको बारेमा विश्वमा एउटा नयाँ सन्देश बलियोसँग जानेछ भन्ने विश्वास पनि म व्यक्त गर्दछु।’

    प्रधानमन्त्री अघि बोलेका संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री सुदन किराँतीले रामग्रामलाई नयाँ तरिकाले ब्राण्डीङ गर्नुपर्ने उल्लेख गरे। ‘हामीले यसलाई नयाँ तरिकाले ब्राण्डीङ गर्न सके पर्यटकहरुलाई दुई तिन हजार वर्ष अघिको समय अनुभुत गराउन सकिन्छ। यो क्षेत्र धार्मिक सांस्कृतिकको विशाल गन्तव्य हुन सक्छ। किराँतीले भने। समारोहमा आचार्य बालकृष्ण, भारतीय सांसद माधवले पनि आफ्ना भनाइ राखेका थिए। लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्यारक्याल लामाले रामग्राम स्तुप बुद्धको जीवनको निकै महत्वपूर्ण स्थल रहेकाले यसको बृहत्तर विकासका लागि कोषका तर्फबाट पहल भइरहेको बताए। लुम्बिनी विकास कोषको नेतृत्वमा रामग्राम नगरपालिका, थाई विहार र द प्रोमिस ल्यान्ड नामक संस्थाको आयोजना रामग्राम स्तुप क्षेत्रको पुनस्थापना, संरक्षण र विकासका लागी दुरदर्शि परियोजनाको सुभारम्भ गरिएको थियो। सो अवसरमा रामग्राम क्षेत्रको गुरुयोजना पनि प्रस्तुत गरिएको थियो।

    गौतमबुद्धको अस्तुधातु रहेको स्थान रामग्राम स्तुपा लुम्बिनी विकास कोष अन्तर्गत रहेको छ। स्तुपामा पहिलो पटक यो स्तरको भव्य कार्यक्रम भएको रामग्राम नगरपालिकाका मेयर धनपत यादवले बुद्धपरिपथलाई बताए। ‘गत बुद्ध जयन्तीमा पनि प्रधानमन्त्री आउनुभएको थियो। हाम्रै नगरपालिकाको कार्यक्रम थियो। अन्तराष्ट्रिय स्तरको कार्यक्रम भएको चाँही पहिलो हो।’

    नगरप्रमुख यादवले रामग्रामको गुरुयोजना अघि बढाउन नेपाल सरकारले पनि थप पहल गर्नुपर्ने बताए। ‘नेपाल सरकारले यहाँको गुरुयोजना अगाडि बढाउने काममा तिब्रता दिनुपर्छ। अर्को तर्फ रामग्रामलाई विश्वसम्पदा सूचीमा सुचिकृत गराउन पर्छ।’ उनले भने । यादबले लुम्बिनीमा विदेशी पर्यटक आएपछि रामग्राम बारे पनि जानकारी गराउनुपर्ने बताए।

    अहिलेको अवस्थामा सार्वजनिक यातायातमा बुद्धजन्मस्थल लुम्बिनीबाट रामग्राम जान सहज छैन। लुम्बिनीबाट भैरहवा गएर बस परिवर्तन गर्नुपर्छ। परासी जान अर्को गाडी चढ्नुपर्छ। परासी बजारबाट दक्षिण तर्फ जाने गाडी पातलो चल्ने गर्छ। त्यसको विकल्पमा केही पैदल हिडेर वा अटो चढेर मात्र रामग्राम स्तुपा पुग्न सकिन्छ।

    रामग्रामको पर्यटकीय विकासको लागि लुम्बिनीबाट यातायातको सिधा पहुँच आवश्यक भएको नेपाल एशोसिएन अफ टुर एण्ड ट्राभल एजेण्ट (नाट्टा) नवलपरासीका अध्यक्ष भोला पराजुली बताउँछन्। ‘रामग्रामलाई बुद्धसर्किटसँग जोड्दै गर्दा यातायातको पनि सहज र सिधा पहुँच हुनुपर्छ।’ उनले भने ‘लुम्बिनीको वृहत विकासको लागि रामग्राम जस्ता बुद्धस्थलमा यातायातको सुविधालाई पनि प्राथमितामा राख्यो भने यो ठाउँको छिटो प्रवद्र्धन हुन सक्छ।’

    नाट्टा नवलपरासीका अध्यक्ष पराजुलीले मंगलबारको कार्यक्रमले रामग्रामको बृहत्तर विकासको ढोका खुलेको धारणा राखे ‘यसले एउटा बृहत्तर विकासको ढोका खुल्यो भन्ने हाम्रो बुझाइ छ। सांस्कृतिक तथा पर्यटकीय हिसाबले अब रामग्रामको एउटा खुड्कीलो अगाडि बढ्यो भन्ने लाग्छ।’ उनले भने ‘सरकारी तहबाट आफ्नो गुरुयोजनामा राखेर रामग्रामलाई बुद्ध सर्किटसँग जोड्ने अभियानमा उच्च प्राथमिकता दिएको खण्डमा अहिले भएको कार्यक्रमले सार्थकता पाउँछ होइन भने पुरानै ताल हुन्छ।’

    रामग्राम स्तुपामा समारोह हुने दिन वरपरका सानादेखी मध्यम स्तरका व्यवसायीहरु पनि व्यस्त थिए। स्थानिय नागेन्द्र हलुवाइलाई मंगलबार चिया र नास्ता खुवाउन भ्याइ नभ्याइ थियो। ‘यती ठूलो कार्यक्रम भइसकेपछि, प्रधानमन्त्री आइसकेपछि अब यो ठाउँको विकास हुनुपर्छ, राम्रा राम्रा मन्दिरहरु बनोस, वर पर सफा र व्यवस्थित हुनुपर्यो।’ उनले बुद्धपरिपथसँग भने ‘अहिले स्तुपामा घुम्न अलि अलि आउने गरेका छन्। अब चहलपहल बढ्नुपर्छ।’

    मंगलबार रामग्रामबासीको लागि एउटा महत्वपूर्ण र ऐतिहासिक दिन थियो। कार्यक्रमलाई मध्यनजर गरेर यहाँका विद्यालयहरुमा विदा समेत दिइएको थियो। समारोहमा ठूलो संख्यामा स्थानियहरु सहभागी भएका थिए। रामग्रामको दुईदिने उत्सवले एकातर्फ बुद्धको अस्तुधातु रहेको यो स्थानमा पर्यटकीय विकासको ढोका खुलेको भन्दै आशा गरिएको छ।

    तर मुलुकमा ठूला तामझामका साथ सुरु गरिएका कतिपय अभियान र आयोजना अलपत्र परेका उदाहरण पनि छन्। यो उत्सवलाई औपचारिकतामा सिमित हुन नदिन अबका दिनमा रामग्राम स्तुपाको पर्यटकीय विकासलाई तिब्रता दिन जरुरी छ।