२०८१ आश्विन २१ गते, सोमबार ११:०५
  • पहिलो पटक रानीमहल पुगेका गगनले भने, ‘ऐतिहासिक ठाउँमा आउन ढिला गरेछु’

    तानसेन-नेपाली कांग्रेसका महामन्त्री गगन थापा पहिलो पटक रानीमहल पुगेका छन्। कांग्रेस पाल्पाको जिल्ला सम्मेलनको लागि शनिवार तानसेन आएका थापा आइतबार विहान पाल्पा दरबार, रणउजेश्वरी भगवती मन्दिर अवलोकन गरेर रानीमहल पुगेका हुन्।

    थापाले रानीमहल जस्तो ऐतिहासिक ठाउँमा आउन आँफूले ढिला गरेको बताएका थिए। ‘यस्तो ऐतिहासिक ठाउँमा आउन म ढिला गरेछु, अलि पहिले आउनुपर्ने रहेछ। पाल्पा धेरै पटक आएँ। तर रानीमहललाई मैले मिस गरेको रहेछु भनेर महामन्त्री ज्युको प्रतिक्रिया थियो।’ यात्रामा सँगै रहेका कांग्रेस लुम्बिनी प्रदेस सदस्य रमेश खनालले भने। कालिगण्डकीको तिरमा यस्तो ढुंगा माथि दरबार रहेको यो ठाउँमा एकपटक सबै जना आउनुपर्ने थापाको भनाइ छ।

    कांग्रेस पाल्पाका जिल्ला सभापति हिमालदत्त श्रेष्ठले रानीमहलदेखी तानसेनसम्मको सडक चौडा गर्नुपर्छ भनेर ध्यानाकर्षण महामन्त्रीलाई ध्यानाकर्षण गराएको बताए। ‘पर्यटकीय विकासको लागि यो सडक लाइफलाइन बन्न सक्ने भएकाले यो सडकलाई चौडा बनाउनुपर्छ भनेर हामीले भन्यौं।’ उनले भने ‘रानीमहलको तर्फ अलिकती पानीले कटान गरिरहेको छ। त्यसको तटबन्धनको लागि पनि कुरा राख्यौं।’

    पछिल्लो समय रानीमहल घुम्न जाने पर्यटकहरुको चहलपहल बढेको छ। गगन पनि पार्टीका कार्याकर्ता र सुभेक्षुक सहित रानीमहल पुगेका थिए।