२०८१ आश्विन २१ गते, सोमबार ११:०४
  • भैरहवाबाट अन्तर्राष्ट्रिय उडानको लागि व्यवसायीहरुले आज प्रधानमन्त्रीसँग छलफल गर्दै


    भैरहवा -भैरहवाबाट नियमित अन्तराष्ट्रिय उडानको माग गर्दै आएका व्यवसायीहरुले मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गर्ने भएका छन्। सोमबार संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री सुदन किराँतीसँग छलफल गरेका व्यवसायीहरुले मंगलबार प्रधानमन्त्रीसँग छलफल गर्न लागेका हुन्।

    सोमबारको छलफलबारे पर्यटन मन्त्री सुदन किराँतीले विहान प्रधानमन्त्रीलाई व्रिफिङ गरेका छन्। १२ देखी १ बजेसम्मको विचमा आफूहरुले प्रधानमन्त्रीसँग भेटको लागि समय माग गरेको सिद्धार्थ सञ्जालका अध्यक्ष अनिलकुमार ज्ञवालीले जानकारी दिए। ‘विहान ७ बजे पर्यटनमन्त्रीज्युले भेटेर हिजोको छलफलबारे ब्रिफिङ गर्नुभयो। भैरहवाबाट आएका हामीहरुले आज भेट्न पहल गरिरहेका छौं।’ हिजोको वार्तामा मन्त्रीज्युबाट केही आशा देखाइएको ज्ञवालीले बताए। ‘भैरहवाबाट दिल्ली तत्काल उडान गर्ने भन्ने छ। सरकारले चाहयो भने भैरहवा दिल्ली उडान हुन सक्छ भन्ने भयो।’ उनले भने।

    पर्यटनमन्त्रीसँगको वार्तामा सहभागी नाट्टा लुम्बिनीकी अध्यक्ष रचना पन्तले सरकारको तर्फबाट आशा देखाइएको तर अन्तराष्ट्रिय उडान भइहाल्छ भन्ने आधार नदेखीएको बताइन। ‘पर्यटनमन्त्रीज्युले आजैका दिनबाट मातहतका निकायलाई निर्देशन दिन्छु। काम सुरु गरिसकें भन्नुभयो।’ उनले भनिन् ‘यो दिनबाट हुन्छ भनेर भन्नुभएन। निराशावादी त नभनौं, आशा गर्ने खासै आधार पनि अहिलेसम्म देखिएको छैन।’

    गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलको उद्घाटन भएको डेढवर्ष बढि भइसक्दा पनि नियमीत अन्तराष्ट्रिय उडान हुन सकेको छैन। अन्तराष्ट्रिय उडानको माग गर्दै मंसिर २४ गतेबाट व्यवसायीहरुले विमास्थलमा धर्ना दिइरहेका छन्।