२०८३ जेष्ठ २६ गते, मंगलवार ०५:०१
  • पर्यटन र शान्तिका लागि भैरहवा–लुम्बिनी ‘बौद्ध सञ्चार पदयात्रा

    भैरहवा-विश्वभर शान्तिको सन्देश दिने र शान्तिमार्गीलाई लुम्बिनी आउन र पदयात्रा गर्न प्रेरित गर्ने उद्देश्यले भैरहवादेखि लुम्बिनीसम्म बौद्ध सञ्चार यात्रा गरिएको छ। लुम्बिनी प्रेस क्लब, रुपन्देहीले आफ्नो नवौं स्थापना दिवसको अवसरमा शुक्रबार भैरहवा–लुम्बिनी मौन पदयात्रा गरेको हो। २२ किलोमिटर लामो मौन पदयात्राले शान्ति, अहिंसा र आध्यात्मिकताका लागि विश्वभर सन्देश पैदा गरेको क्लबका कार्यबाहक अध्यक्ष कमल रायमाझीले बताए। पत्रकारले शान्तिको सन्देश फैलाउनुपर्छ, शिथिल पर्यटन क्षेत्रलाई माथि उठाउन प्रयास गर्नुपर्छ भन्ने पनि बौद्ध संचार यात्राको उद्देश्य रहेको उनले बताए।

    बिहान ७ः१० मा भैरहवाको लुम्बिनी गेटबाट रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारी, लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्य, सिद्धार्थ होटल संघका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठ, लुम्बिनी प्रेस क्लबका संस्थापक अध्यक्ष माधव ढुंगाना, सशस्त्र प्रहरी २७ नम्बर गणका प्रमुख दीपककुमार थापा, राष्ट्रिय अनुसन्धानका रुपन्देही प्रमुख हुमाकान्त पाण्डे, सिद्धार्थ होटल संघ, नेपालका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठ लगायतले रिवन काटेर बौद्ध सञ्चार यात्राको सुरुवात गरेका थिए। पदयात्रा ११ः४० मा लुम्बिनीस्थित मायादेवी मन्दिर परिसरमा पुगेको थियो। मायादेवी परिसरमा लुम्बिनी विकास कोषका उपाध्यक्ष डा।ल्याहरक्याल लामा, सदस्यसचिव सानुराजा शाक्य लगायतले स्वागत गरेका थिए ।

    ‘पर्यटनका लागि शान्ति, शान्तिका लागि आध्यात्मिक मौन यात्रा’ नारा दिएको बौद्ध संचार यात्रामा भिक्षुभिक्षुणी, लामा, पत्रकार, विभिन्न संघ–संस्थाका प्रमुख तथा प्रतिनिधि, उद्योगी–व्यवसायी, नेपाली सेना, प्रहरी, सशस्त्र र सर्वसाधारण सहभागी भए।

    लुम्बिनी विकास कोषका उपाध्यक्ष डा।ल्याहरक्याल लामाले बौद्ध सञ्चार यात्राले फेरि एकपटक विश्वमाझ शान्ति र अहिंसाको सन्देश प्रवाह गरेको बताए। उनले शान्तिमार्गीलाई लुम्बिनी आउन, पदयात्रा गर्न प्रेरणा मिलेको उल्लेख गरे।
    उपाध्यक्ष डा।लामाले अब यस्ता पदयात्रा तिलौराकोट, देवदह, रामग्राम लगायतका बौद्धस्थलहरुमा पनि हुनुपर्ने बताए।

    रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बुद्धले बुद्धत्व प्राप्त गर्न जाँदा र शान्तिको सन्देश दिँदा हिँडेरै दिएको भन्दै लुम्बिनीमा पदयात्रा र आध्यात्मिक कार्यक्रम धेरैभन्दा भेरै हुन जरुरी रहेको जनाए ।

    लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्य, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष बसन्त गिरी, लुम्बिनी प्रेस क्लबका संस्थापक अध्यक्ष माधव ढुंगानाले जतिसुकै दुःखकष्ट गरेर आए पनि लुम्बिनी आउँदा शान्तिको अनुभुति हुने जनाए। उनीहरुले पदयात्रा र शान्तिको सन्देश दिन तथा पर्यटन प्रबद्र्धनका लागि प्रेस क्लबले खेलेको भूमिका सह्रानीय रहेको उल्लेख गरे।