२०८१ आश्विन २१ गते, सोमबार ०९:१५
  • बुटवल-नारायणगढ सडकको पूर्णता, भैरहवाबाट अन्तर्राष्ट्रिय उडान र बुद्धपरिपथमा विद्युतीय बस नयाँ वर्षमा हाम्रो चाहाना (अन्तर्वार्ता)

    ‘लुम्बिनीको पर्यटन क्षेत्रलाई चलायमान गराउने सडक खाना महोत्सवको उदेश्य हो’

    बुद्ध जन्मस्थल लुम्बिनीमा गत वर्षको तुलनामा पर्यटकको आगमन बढेको छ। तर कोभिड अघिको लयमा अझै फर्किन सकेको छैन। भारतीय पर्यटकहरुको आगमन बढे पनि आन्तरिक र तेस्रो मुलुकका पर्यटक विगतको भन्दा कम छ। लुम्बिनीको थप प्रचार प्रसार र प्रवद्र्धनको लागि नयाँ वर्षको अवसरमा होटल संघ लुम्बिनीले पुस १५ गते सडक खाना महोत्सव गर्दैछ। खाना महोत्सव र लुम्बिनीमा पर्यटनको अवस्था बारे हामीले लुम्बिनी होटल संघका अध्यक्ष गोविन्द ज्ञवालीसँग कुराकानी गरेका छौं।

    नयाँ वर्ष सन २०२४ को अवसरमा लुम्बिनीमा होटलको बुकिङ कस्तो छ ?
    अहिलेको अवस्थामा लुम्बिनी क्षेत्रका होटलहरुको बुकिङको अवस्था ५० प्रतिसत जति छ। नयाँ वर्ष मनाउन भारतीय पर्यटकहरु आउनुहुन्छ । कतिपय विना अग्रिम बुकिङ पनि आउने हुँदा आज यहाँका होटलहरुमा ७० प्रतिसत अक्कुपेन्सी हुने हामीले अनुमान गरेका छौं।

    विगतको तुलानामा अहिलेको नयाँ वर्षमा पर्यटकको आगमन कस्तो हो ?
    कोभिड पछि गतवर्षहरुको तुलनामा त राम्रो हो। तर कोभिड अघिको तुलनामा चहल पहल कम हो। कोभिड पहिले जुन हिसाबले आन्तरिक र विदेशी पर्यटक आउँथे त्यो अनुसार आउन सकेका छैनन्। लुम्बिनीको पर्यटन अझै लयमा फर्किन सकेको छैन।

    कोभिड अघिको लयमा फर्किन नसक्नुको कारण के हो?
    सबै भन्दा ठूलो कुरा त आर्थिक मन्दि हो। मान्छेहरुले अहिले खर्च कन्ट्रोल गरेका छन्। त्यसैले पनि घुम्न कम निस्केका छन्। सडकको दुराअवस्थाका कारण पनि लुम्बिनीमा पर्यटक आउन खोजेका छैनन्। तिहार पछिको समय आन्तरिक पर्यटकको चाप हुने बेला हो । तर कोभिड अघि जस्तो चाप देखिएन। बुटवल नारायणगढ सडकको यात्रा कष्टकर हुँदा मान्छेहरु लुम्बिनी आउन खोजेका छैनन। यसले पनि ठूलो असर गरेको छ । पर्यटकहरुलाई भारतीय मुद्रा पनि व्याण्ड जस्तो छ । २० हजार भन्दा बढि ल्याउन नपाउने अवस्था हुँदा असर परेको छ ।

    नयाँ वर्षको अवसरमा लुम्बिनीमा खाना महोत्सव गर्दै हुनुहुन्छ, यसले लुम्बिनीको पर्यटन प्रवद्र्धनमा कस्तो प्रभाव पार्छ?
    कोभिड पछिको धरासाइ भएको व्यवसायलाई केही हदसम्म चलायमान गराउनु हाम्रो मुख्य लक्ष्य हो। लुम्बिनीमा जति होटलहरु छन् ती होटलका खानाहरुको प्रचारको थलोको रुपमा पनि विकास गर्ने खाना महोत्सवको उदेश्य हो। ५ तारे होटलमा पाइने खाना पनि सडक महोत्सवमा सस्तो मुल्यमा पाइन्छ। अरु विभिन्न खानेकुराहरु सहज मुल्यमा उपलब्ध हुन्छ।

    खाना महोत्सवको तयारी कसरी भइरहेको छ ?
    अपरान्ह ४ बजेसम्म सबै स्टलहरु तयार भइसक्छ । ५ बजे कार्यक्रमको उद्घाटन समारोह सुरु हुन्छ। २ घण्टा कार्यक्रम चल्छ। ७ बजेदेखी १२ बजेसम्म साँस्कृतिक कार्यक्रम, खाने रमाइलो गर्ने हुन्छ। यहाँ अरु स्थानिय सांस्कृतिक कार्यक्रम पनि हुन्छ।

    सन २०२४ मा लुम्बिनीको पर्यटन क्षेत्रले के अपेक्षा गरको छ ?
    हाम्रो मुख्य चाहाना धेरै भन्दा धेरै पर्यटक लुम्बिनीमा आउन भन्ने नै हो। त्यसको लागि पर्यटकीय वातावरण पनि बन्नुपर्छ। बुटवल नारायणगढ सडक छिटो भन्दा छिटो बन्नुपर्यो। सडक मार्गबाट लुम्बिनी आउन चाहाने आन्तरिक र बाहय पर्यटकले सास्ती भोग्नुपर्दैन। लुम्बिनीको पर्यटन आगमनलाई नै केन्द्रित गरेर गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भएको छ। त्यसमा ४०-४५ अर्ब लगानी भएको छ। तर पूर्णरुपमा चल्न सकेको छैन। सबै भन्दा ठूलो कुरा अबको वर्ष अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुनुपर्छ। तत्काललाई दिल्ली, बनारस लगायतका ठाउँमा चले पनि पर्यटन क्षेत्रलाई केही मात्रामा भए पनि राम्रो हुन्छ।

    लुम्बिनीमा विद्युतीय बस त्यत्तीकै थन्क्याइएको छ। छिटो भन्दा छिटो बुद्ध परिपथमा विद्युतीय गाडी चल्नुपर्छ। कपिलबस्तु, रामग्राम र देबदह लगायतका ठाउँमा विद्युतीय बस गुडाउन सक्यो भने कम्तीमा आन्तरिक पर्यटनलाई चलायमान बनाउँछ। विदेशी पर्यटकहरुको बसाइ पनि लम्बिन्छ। लुम्बिनीको बारेमा स्थानिय, प्रदेश र केन्द्र सरकारले विशेष ध्यान दिनुपर्छ। कर्मचारीहरुको भ्रमण प्याकेजमा अनिवार्य लुम्बिनी घुम्न जानुपर्ने भनेर कार्यक्रम राखिदियो भने आन्तरिक पर्यटक बढ्छ। नयाँ वर्षमा मुख्य गरेर बुटवल–नारायणगढ सडकको पूर्णता, भैरहवाबाट अन्तराष्ट्रिय उडान र बुद्धपरिपथमा विद्युतीय बस सञ्चालन होस् भन्ने हाम्रो मुख्य चाहाना हो।