
लुम्बिनी-नयाँ वर्षको अवसरमा बुद्ध जन्मस्थल लुम्बिनीमा पर्यटकहरुको चहलपहल बढेको छ। अहिले लुम्बिनीका ८० प्रतिसत होटल कोठाहरु भरिएको होटल संघ लुम्बिनीका महासचिव पुरुषोत्तम अर्यालले जानकारी दिए। ‘नयाँ वर्षको लागि भनेर ५० प्रतिसत पहिले नै बुकिङ थियो। हिजो समेतको बुकिङलाई आधार मान्दा ८० प्रतिसत अक्कुपेन्सी हो।’ उनले भने।
अंग्रेजी नयाँवर्ष सन् २०२४ को अवसरमा लुम्बिनीमा सडक खाना महोत्सव समेत आयोजना गरिएको थियो। होटल संघ लुम्बिनीको मुख्य आयोजनामा भएको खाना महोत्सव २० हजारजतिले अवलोकन गरेका छन्। संघका महासचिव अर्यालले गत वर्ष भन्दा यस वर्षको खाना महोत्सवमा अवलोकनकर्ताहरु बढेको जानकारी दिए। “हाम्रो बिचारमा २० हजार जतिले महोत्सव अवलोकन गरे। त्यसमा ४० प्रतिसत भारतीयहरु थिए।” उनले भने “लुम्बिनीमै भएका तेस्रो मुलुकका पर्यटक र आन्तरिक पर्यटकहरु थिए।”
होटल संघ लुम्बिनीका सल्लाहकार खिम श्रेष्ठले खाना महोत्सव देखिएको चहलपहलले जागेको बताए। ‘गत वर्षको तुलनामा मान्छेहरु बढि नै आएका थिए। गेटबाट परसम्म भिड थियो।’ उनले भने ‘खानाका परिकारहरु पनि अहिले धेरै थिए। नेवारी, थारु परिकारसँग थाइ, जापानीज भेराइटीहरु पनि बढि थियो।’ राती १२ बजेसम्म खाना महोत्सवमा चहलपहल रहेको श्रेष्ठले बताए।
खाना महोत्सवको आइतबार साँझ रुपन्देही ५ का सांसद बासुदेव घिमिरे र प्रदेश सांसद सिके गुप्ताले उद्घाटन गरेका थिए।


