२०८१ आश्विन २१ गते, सोमबार ११:०३
  • बुटवललाई पर्यटनको ट्रान्जिट प्वाइन्टको रुपमा विकास गर्न जोड

    पर्यटन प्रवद्र्धनका लागि ठोस गुरुयोजना आवश्यक

    बुटवल- बुटवललाई पर्यटनको ट्रान्जिट प्वाइन्टको रुपमा विकास गर्न आवश्यक रहेको एक कार्यक्रममा बताइएको छ । बुटवलमा जारी लुम्बिनी एक्स्पोको अवसरमा रुपन्देही व्यापार संघले मंगलबार आयोजना गरेको कार्यक्रममा सहभागीहरुले यातायातको ट्रान्जिट प्वाइन्टको रुपमा रहेको बुटवल पर्यटनको ट्रान्जिट हब बन्न सक्ने प्रसस्त आधारहरु रहेको उल्लेख गरेका थिए ।

    उत्तर तिर पाल्पा, पोखरा दक्षिण तर्फ बुद्ध जन्मस्थल लुम्बिनी रहेको बुटवलले पर्यटन क्षेत्रबाट राम्रो फाइदा लिन सक्ने पर्यटन सम्बन्धि जानकार, व्यवसायी र सरकारी अधिकारीहरुको भनाइ छ ।

    कार्यक्रममा लुम्बिनी प्रदेश पर्यटन परिषदका कार्यकारी अधिकृत रामु जोशीले बुटवल र आसपासमा पर्यटकीय सम्भावनाको ठाउँ भएपनि त्यसको उपयोग हुन नसकेको बताए। बुटवलले पर्यटकलाई के देखाउने हो प्रष्ट गुरुयोजना बनाउन आवश्यक रहेको बताए। ‘औसतमा ५ सय वटा गाडी सुनौलीबाट सिधै पोखरा गएको हुन्छ । पूर्व पश्चिम पनि यही प्वाइन्टबाट गएको हुन्छ तर बुटवल कहिले रेष्टिङ प्वाइन्ट भएन।’ जोशीले भने ‘बुटवलमा किन आउने पर्यटक, होटलमा बस्न मात्र आउँदैनन्। अब बुटवल उपमहानगरमा पर्यटन उपसमिति आवश्यक छ ।’

    गौतमबुद्ध अन्तर्राष्ट्रिय विमान स्थल भैरहवाका महाप्रबन्धक हंसराज पाण्डेले पर्यटकीय विकासको लागि हवाइ यातायात मात्र नभइ स्थल मार्ग पनि सहज र सुगम हुनुपर्ने बताए । ‘अन्य देशमा विमानस्थल देखि मुख्य शहरका विन्दुसम्म सटल सर्भिस हुन्छन्। कमसेकम सटल एक्सप्रेस नभएपनि सेड्युल बस सेवा हुनसक्छ ।’ उनले भने ‘बुटवलको मुख्य ठाउँदेखी एयरपोर्टसम्म यहाँहरुले सुगम बस जोड्दिनुस्। विमानस्थलले के सहकार्य गर्नुपर्छ गछौं।’

    पाण्डेले गौतमबुद्ध अन्तर्राष्टिय विमास्थलप्रति विदेशी विमान कम्पनीहरुले चासो दिइरहेको भन्दै उनीहरुले अध्ययन गरिरहेकाले ढिलोचाँडो भैरहवाबाट अन्तर्राष्ट्रिय उडान हुने विश्वास व्यक्त गरे ।

    नेपाल चेम्बर अफ कमर्श लुम्बिनीका अध्यक्ष टंक पोखरेलले पर्यटन प्रवद्र्धन सम्बन्धी बहस धेरै भएकाले अब ठोस कार्यक्रमका साथ अघि बढ्नुपर्ने उल्लेख गरे । बुटवल उद्योग बाणिज्य संघका उपाध्यक्ष सुरुज भट्टराईले बुटवलको पर्यटकीय गुरुयोजना बनाउन संघ तयार रहेको बताए । रुपन्देही उद्योग संघका बरिष्ठ उपाध्यक्ष कृष्णप्रसाद पराजुलीले बुटवलमा पर्यटकीय वातावरण बन्नुपर्ने धारणा राखे ।

    होटल संघ लुम्बिनीका महासचिव पूरुषोत्तम अर्यालले लुम्बिनी आएका पर्यटक मध्ये ७० प्रतिसत भन्दा बढि नबसी फर्किने भन्दै पर्यटकलाई भुलाउने ठाउँको जरुरी भएको बताए। मणिमुकुन्द सेन उद्यान संरक्षण समितिका अध्यक्ष माधव नेपालले सरकारको अस्पष्ट नीतिका कारण पर्यटन क्षेत्र समस्यामा परेको उल्लेख गरे।

    बरिष्ठ पत्रकार डिआर घिमिरेले पर्यटकीय क्षेत्रको विकासको लागि गहन सबै पक्षको सहकार्य आवश्यक रहेको उल्लेख गरे। पत्रकार महासंघ रुपन्देहीका सल्लाकार दिनेस पाण्डेले पर्यटकलाई घुमाउन होटल व्यवसायीहरुले ठोस प्याकेज बनाउनुपर्ने उल्लेख गरे।

    पश्चिम नेपाल बस व्यवसायी प्रालिका सञ्चालक सदस्य जिवन बन्जाडेले पर्यटन प्रवद्र्धनमा आँफूहरु सहकार्य गर्न तयार रहेको भन्दै पर्यटकीय प्याकेज सहितको भिडीयो भएमा बसमा यात्रुहरुलाई देखाइने बताए ।

    नेपाल पार्क महासंघका अध्यक्ष खेम लुइटेलले बुटवलको फूलबारी सँगै अन्य ठाउँलाई पनि जोडेर पर्यटकीय विकास गर्नुपर्ने धारणा राखे ।

    लुम्बिनी एक्स्पो मुल आयोजक समितिका संयोजक कृष्ण प्रसाद घिमिरेको अध्यक्षतामा तथा पर्यटन समितिका सदस्य दिवाकर घिमिरेको सञ्चालनमा भएको कार्यक्रममा एक्स्पोका पर्यटन उपसमिति संयोजक मनहरी बस्यालले गोष्ठीको उदेश्यमाथि प्रकास पारेका थिए। कार्यक्रममा, रुपन्देही व्यापार संघका पूर्व अध्यक्ष मोति ज्ञवाली, डा. सागर न्यौपाने, बलबहादुर आचार्य लगायतले आफ्ना भनाइ राखेका थिए ।