
बुटवल-गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको नजिकको मुख्य शहर बुटवल हो। विमानस्थल प्रयोग कर्ता मध्ये सबैभन्दा बढि बुटवलकै छन्। तर विमानस्थलमा झरेर बुटवल आउन सबैको लागि सहजता छैन। कि आफ्ना मान्छेलाई लिन बोलाउनुपर्छ या महंगो ट्याक्सी भाडा तिर्नुपर्छ।
सार्वजनिक यातायातको प्रयोग गर्न केही हिंडेर गेट बाहिरको सडकमा आउनुपर्छ। त्यहाँबाट बसमा चढेर सोझै बुटवल आउन कहाँ पाइन्छ। तीन किलोमिटर यात्रा गरेपछि अर्को बस फेर्नुपर्छ। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको प्रयोगकर्ता सबै उच्च बर्गका व्यवसायी मात्र हुँदैनन्। बैदेशिक रोजगारिबाट आएका र बाध्यताले आन्तरिक उडान गरेकाहरुले सार्वजनिक यातायात चढेर दुई चार हजार बचाउन खोज्ने पनि हुन्छन्। तर तिनीहरुको लागि त्यो सुविधा छैन। बेलुकापख विमानस्थलमा अवतरण गर्नेलाई त अलपत्र पर्ने अवस्था हुन्छ। भनेको ठाउँमा ट्याक्सी जाँदैनन्। गए पनि झन महंगो भाडा तिर्नुपर्छ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक हंसराज पाण्डेले अन्य देशमा विमानस्थल देखि मुख्य शहरसम्म सटल एक्स्प्रेस हुने तर बुटवलदेखी गौतमबुद्ध विमानस्थलसम्म सेड्युल बस समेत नभएको बताए। केही दिन अघि बुटवलमा भएको कार्यक्रममा उनले हाम्रोमा विमानस्थलदेखि मुख्य शहरसम्म सार्वजनिक यातायात बेहाल भएको बताए।
पाण्डेले विमानस्थलदेखी बुटवलसम्म सिधा सार्वजनिक यातायातको व्यवस्था गर्न समेत आग्रह गरे। ‘अन्य देशमा विमानस्थल देखी मुख्य शहरसम्म सटल सर्भिसहरु हुन्छ। कतिपय देशमा रेल होलान कतिपय देशमा बस होलान् । कमसेकम सटल एक्स्प्रेस नभएपनि सेड्युल बस त हुनसक्थ्यो होला।’ उनले भने ‘बुटवलको मुख्य ठाउँदेखी एयरपोर्टसम्म सुगम बस जोड्दिनुस्। विमानस्थलले स्थान उपलब्ध गराउन पर्छ कि सूचना उपलब्ध गराउन पर्छ। सहकार्य गर्न तयार छ।’
लुम्बिनी एक्स्पोको अवसरमा मंगलबार बुटवलमा आयोजित पर्यटन प्रवद्र्धनमा हाम्रो भुमिका विषयक अन्तरक्रिया कार्यक्रममा गौतमबुद्ध अन्तराष्ट्रिय विमास्थलका महाप्रबन्धक हंसराज पाण्डेले आफ्ना धारणा यसरी राखेका थिए।

हवाइ यातायात मात्र सुगम भएर हुँदैन, त्यससँगै स्थल यातायात पनि सुगम हुन पर्छ। विमानस्थलदेखि मुख्य शहरसम्मको सार्वजनिक यातायातको हाम्रोमा साँच्चीकै बेहाल छ। यसमा हामीले आत्मालोचना गर्नैपर्छ। अन्य देशमा विमानस्थलदेखी मुख्य शहरसम्म सटल सर्भिसहरु हुन्छ। कतिपय देशमा रेल होलान कतिपय देशमा बस होलान्। एयरपोर्ट सटल एयरपोर्ट एक्स्प्रेस यस्ता सेवाहरु हुन्छन्। कमसेकम सटल एक्स्प्रेस नभएपनि बुटवलबाट विमानस्थलसम्म सेड्युल बस त हुनसक्थ्यो। सायद बेलहियासम्म छ होला।
बुटवलको बसपार्कदेखी एयरपोर्टसम्म सार्वजनिक यातायातको आवधिक सर्भिसका लागि मैले यहीँबाट यहाँहरुलाई अनुरोध गरें कसले कतिखेर कुन तहबाट पहल गरिदिनुपर्ने हो। मैले आज आँफै हात जोडेर अनुरोध गरें। बुटवलको मुख्य ठाउँदेखी एयरपोर्टसम्म सुगम बस जोड्दिनुस्। विमानस्थलले सहकार्य के गर्नुपर्छ। स्थान उपलब्ध गराउन पर्छ कि सूचना उपलब्ध गराउन पर्छ। डिजिटल डिस्प्ले राख्नुपर्छ भने हामी राख्छौं। त्यसमा हामी पूर्ण प्रतिबद्ध छौं। पहिले आन्तरिक यातायातलाई सुगम बनाउँ।
दोस्रो कुरा सार्वजनिक यातायात त थिएन। अर्को हुन्छ पेड यातायात, ट्याक्सी त छ तर कुनैमा पनि मिटर छैन। त्यो पनि कुरा गर्नुपर्यो। को कहाँसम्म जाने हो, सरकारले तोकेको शुल्कमा जानुपर्ने हो नि। मिटर हुनुपर्ने मिटर छैन, कमसेकम भाडादर त उपलब्ध हुनुपर्यो। मलाई भाडादर उपलब्ध गराइदिए ठूलो अक्षरमा डिस्प्ले गर्थें। म आएको १० महिना भयो डे वानदेखी लागिरहेको छु मेरा यात्रुहरुले यती तिर्नुपर्छ भन्ने जानकारी होस।

