२०८१ मंसिर १० गते, सोमबार ११:४५
  • जितगढी अब उत्सव मनाउने थलो मात्र नबनोस्, पर्यटकीय चहलपहल देखियोस्

    पशुपतिनाथ काठमाडौँको र फेवाताल पोखराको पहिचान भएजस्तै जितगढी बुटवलको पर्यटकीय पहिचान बन्नुपर्छ

    सुदीप भण्डारी
    जितगढी किल्ला २०८ वर्ष अघि नेपालले अंग्रेजलाई पराजित गरेको ऐतिहासिक ठाउँ हो। कर्नेल उजिरसिंह थापा नेतृत्वको नेपाली सेनाले यही किल्लामा अंग्रेज फौज माथि विजयी हाशील गरेका थिए। केही वर्ष अघि सम्म जितगढी जिर्ण र गुमनाम थियो। बुटवलकै धेरै मान्छेलाई जितगढी बारे पत्तो थिएन। जिर्ण जितगढीमा संरचनाहरु थपेर र रंगरोगन गरेर आकर्षक बनाइएको छ। तर अहिलेसम्म बुटवलले जितगढीलाई भजाएर फाइदा लिन सकेको छैन।

    रंगरोगन गरेर आकर्षक बनाइए पनि बैशाख ७ गते विजय उत्सव या केही फाट्ट फुट्ट औपचारीक कार्यक्रम बाहेक खासै चहलपहल देखिँदैन। विद्यालयको स्थानिय पाठ्यक्रममा भएकाले कहिलेकाँही बुटवलका विद्यार्थीहरु जितगढी पुग्ने गरेका छन्। तर बाहिरी जिल्लाका विद्यार्थी तथा भ्रमण समूहलाई जितगढीमा आकर्षित गर्न सकिएको छैन। पूर्वपश्चिम राजमार्गको सामुन्ने रहेको यो ऐतिहासिक किल्लामा टाढा टाढाबाट जति पर्यटक आउनुपर्ने हो त्यस्तो चहलपहल हुन सकेको छैन।

    जितगढीबाट केही दुरीमा रहेको मणिमुकुन्द सेन उद्यान अर्थात फूलबारीमा बार्षिक ८ लाख जति घुम्न आउँछन्। तर ऐतिहासिक ठाउँ भएर पनि जितगढी अवलोकनकर्ताको रोजाइ बन्न सकेको छैन। तिहार यताका २ महिनाको अवधिमा झण्डै ५५ हजार विद्यार्थी फूलबारीमा शैक्षिक भ्रमणको लागि आएका छन्। उनीहरु मध्ये ५ प्रतिसतले पनि ऐतिहासिक किल्लाको अवलोकन गरेका छैनन्।पर्यटकीय चहलपहल नहुनुको कारण भ्रमण कर्ताहरुको रोजाइमा नपरेर होइन। बुटवलले जति प्रचार–प्रसार र प्रवद्र्धन गर्नुपर्ने थियो नगरेर हो। नेपालीले गौरब गर्न सक्ने ऐतिहासिक ठाउँको व्यवस्थित रुपमा प्रचार प्रसार मात्र हुन सकेको भए दशक पहिलेदेखि नै जितगढीमा राम्रो चहलपहल हुन्थ्यो।

    शुक्रबार नेपाली सेनाले बुटवल उपमहानगरपालिकालाई जितगढी किल्ला हस्तान्तरण गर्दैछ।

    राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आथित्यतामा नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयलाई जितगढी किल्ला हस्तान्तरण गर्ने कार्यक्रम छ । हस्तान्तरणपछि जितगढीको प्रवद्र्धन र चहलपहलमा ठूलो परिवर्तन आउनुपर्छ। ऐतिहासिक किल्ला जितगढीको प्रवद्र्धन र पर्यटकीय चहलपहल बढाउन केही पहलहरु हुनुपर्छ।

    पहिलो कुरा जितगढी अब बुटवलको प्रमुख पर्यटकीय गन्तव्य बन्नुपर्छ। जसरी पशुपतिनाथले काठमाडौँ र फेवातालले पोखराको पहिचान दिएको छ। त्यसरी नै अब जितगढी बुटवलको पहिचान बन्नुपर्छ। पशुपतिनाथ र फेवाताल पुगेजस्तै बुटवल आएका जो कोही जितगढी पुग्नुपर्छ भन्ने मान्यता स्थापित हुनुपर्छ। सामाजिक सञ्जालहरुमा बुटवल पुगेको जनाउ दिन जितगढीको फोटो राख्नेछन्।

    मणिमुकुन्द सेन उद्यान अर्थात फूलबारी रुपन्देहीमा लुम्बिनी पछि बढि पर्यटक आउने ठाउँ हो। देशका विभिन्न ठाउँबाट शैक्षिक तथा समूहगत भ्रमणमा फूलबारी आउने गर्दछन्। ति समूहलाई नजिकैको जितगढीमा अनिवार्य पुग्ने वातावरण बुटवलले निर्माण गर्नुपर्छ। त्यसको लागि फूलबारीमा पर्यटकीय सूचना केन्द्र राख्नुपर्छ। त्यहाँबाट बुटवल र आसपासका पर्यटकीय गन्तव्यको जानकारी दिँदै जितगढी जान भ्रमणकर्ताहरुलाई प्ररित गर्नुपर्छ।

    फूलबारी नपुगेका समेत दैनिक सयौं भ्रमण टोली पूर्वपश्चिम राजमार्गको तिनाउ पुल ओहोर दोहोर गरिरहन्छन्। तर उनीहरुले जितगढी बारे पत्तो पाउँदैन्। ति भ्रमण कर्ताहरुलाई जितगढी हेर्नुपर्छ भन्ने वातावरण बनाउनुपर्छ। यसरी भ्रमणका समूहहरुलाई जितगढीमा आकर्षित गर्न सकियो भने ऐतिहासिक किल्लाको थप प्रचारप्रसार र प्रवद्र्धनमा ठूलो सघाउ पुग्छ। अहिलेसम्म राजमार्गमा जितगढी चिनाउने बोर्ड समेत थिएन। अब राजमार्गमा जितगढी चिनाउने बोर्ड वा प्रवेशद्वार हुनुपर्छ।

    बाहिरबाट बुटवल आएर होटलमा बस्ने पाहुनाहरुले पनि एक पटक जितगढी पुग्नै पर्ने मान्यता स्थपित गर्नुपर्छ। यस कुरामा होटल व्यवसायीहरुको भूमिका महत्वपूर्ण हुन्छ। होटल व्यवसायीहरुले बुटवल र आसपासको भ्रमणको प्याकेजमा जितगढीलाई मुख्य रुपमा समेट्नुपर्छ।बुटवल आएका राष्ट्रिय तथा अन्तराष्ट्रिय विशिष्ठ पाहुना, कलाकार तथा प्रतिष्ठीत व्यक्तीहरुलाई पनि जितगढी पुर्याउनुपर्छ। बुटवल उपमहानगरपालिका, यहाँका व्यवसायीक संस्था र पर्यटन अभियानन्ताहरु बीच समन्वय हुने हो भने जिगतढीको प्रवद्र्धनमा कत्ति पनि समय लाग्दैन।

    त्यसै गरि आगन्तुकहरुको रेकर्ड राख्न सहज मुल्यमा टिकटको व्यवस्था गर्नुपर्छ। तत्काल टिकटको व्यवस्था गर्न नसके जितगढीमा आगन्तुकको तथ्यांक र अभिलेख अनिवार्य हुनुपर्छ। यसको प्रवद्र्धनसँगै थप उत्खनन् पनि अघि बढाउन आवश्यक छ। यसो भएमा जितगढी भविश्यमा बुटवलको मात्र राष्ट्रिय स्तरको पर्यटकीय गन्तव्य पनि बन्न सक्छ।