२०८१ आश्विन २१ गते, सोमबार १३:०८
  • जितगढीलाई बृहत् बुटवलको पर्यटन सर्किटको आधार क्षेत्र बनाउनुपर्छ : रास्ट्रपति

    बुटवल – राष्ट्रपति रामचन्द्र पौडेलले जितगढीलाई बृहत् बुटवलको पर्यटन सर्किटको आधार क्षेत्र बनाउनुपर्ने बताएका छन्।  नेपाली वीरताको ऐतिहासिक केन्द्रका रुपमा  रहेको किल्लालाई वरपरका ऐतिहासिक, पुरातात्विक, धार्मिक र सांस्कृतिक महत्वका क्षेत्रलाई एउटै सर्किटमा जोड्न जरुरी रहेको उनले बताए।

    जितगढी किल्ला नेपाली सेनाद्धारा बुटवल उपमहानगरपालिकालाई हस्तान्तरण कार्यक्रममा शुक्रवार राष्ट्रपति पौडेलले जीतगढीलाई मणिमुकुन्दसेनको दरबार, नुवाकोटगढी, रामापिथेकश क्षेत्र हुँदै सहस्रधारा, लक्ष्मीनगर र हिलपार्कसम्म जोड्न सके यसले देशको पर्यटनको विकासमा समेत योगदान दिने बताए।

    उनले जितगढी राष्ट्रिय स्वाभिमान र पहिचानको महत्वपूर्ण स्थल भएको उल्लेख गर्दै किल्लाको समयानुकुल प्रचार प्रसार र प्रवर्द्धन गर्दै पर्यटकीय स्थल बनाउन बुटवल उपमहानगरपालिकाले योजनाबद्ध रुपमा काम अगाडि बढाएकोमा आफुलाई खुशी लागेको उल्लेख गरे।
    पौडेलले जितगढी किल्ला ठूला साम्राज्यसँंग नेपाली सौर्य र कुटनीतिक चातुर्यताले ठूलो बलिदानीबाट देश जोगाएको इतिहासको निशानी भएको बताए।

    उनले जीतगढीमा युद्धकालकै झल्को दिने खालको कलात्मक गेट, उस्तै पोशाकका उजिरसिंहको पूर्ण कदको शालिक, उनीसँगै लडेका नेपाली सेनाका १२ कमाण्डरको अर्धकदको शालिक र छेउमा विशाल राष्ट्रिय झण्डा फहराउने गरी जीतगढीको महत्व र गरिमा नयाँ पुस्तालाई बुझाउने नेपाली सेना र बुटवल उपमहानगरपालिकाको सराहनीय काम भएको बताए।  “आगामी दिनमा यस किल्लालाई नेपाल अंग्रेज युद्धको अध्ययन, अनुसन्धान गर्ने र पर्यटकीय स्थलको रुपमा प्रवद्र्धन गर्न बुटवल उपमहानगरपालिका, प्रदेश तथा संघीय सरकारलाई यस्ता ऐतिहासिक र सामरिक महत्वका स्थलहरूको संरक्षण र प्रवर्द्धनमा थप चासो बढाउन आग्रह गर्दछु।” उनले भने ।
    कार्यक्रममा नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयलाई जितगढी किल्लाको हस्तान्तरण गरेका थिए।

    कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले जितगढी किल्ला र आसपासका क्षेत्र समेटेर पर्यटीकय स्थलहरुको प्रवर्द्धन गर्नुपर्ने बताए। उनले संघ सरकारले आवश्यक कानुन र अधिकार प्रदेशलाई नदिदा समस्या भइरहेको बताए।

    नगर प्रमुख खेलराज पाण्डेयले उजिरसिंह थापाको योगदानको कदर गर्दै राष्ट्रिय विभुति घोषणा गर्न र पूणर्कदको फोटोसहित ऐतिहासिक जितगढीको फोटो अंकित हुलाक टिकट जारी गर्नका लागि संघ सरकारसँग माग गरे।

    उनले किल्ला र किल्ला आसपासको क्षेत्रको पर्याप्त उत्खनन् गरी थप तथ्य पत्ता लगाउन नेपाल सरकार, पूरातत्व विभागको थप सहयोगको खाँचो रहेको बताए।

    पाण्डेयले जितगढी किल्लालाई युद्ध संग्रहालय, मणिमुकुन्द सेनको ग्रीष्मकालीन दरबार, नुवाकोटगढी, पाल्पा तानसेनको भगवती जात्रासँग जोडेर पर्यटकीय स्थल र नेपाल अंग्रेज युद्धको अध्ययनस्थलको रुपमा विकास गर्ने बताए।

    उपप्रमुख सावित्रादेवी अर्यालले बुटवललाई ‘समानता, स्वाभिमान र अवसरसहितको बस्नयोग्य शहर’ बनाउने दीर्घकालीन सोंचसहित बुटवललाई आर्थिक केन्द्रका साथै पर्यटकीय विश्रामस्थल बनाउने योजना बनाएको बताइन्। उनले बुटवललाई उपयुक्त विश्रामस्थल बनाउनका लागि संघ र प्रदेश सरकारको साथ आवश्यक रहेको उल्लेख गरिन्।

    कार्यक्रममा बोल्दै इतिहासविद् निर्मल श्रेष्ठले बुटवलको जितगढी किल्ला र पाल्पाको भगवती जात्रालाई जोडेर पर्यटकीय स्थलका रुपमा विकास गर्ने र इतिहासको संरक्षणमा समेत विशेष चासो दिनुपर्ने बताए। बुटवल नगरपालिकाको वडा नं। १ मा पर्ने यो गढी तिनाउ नदीको बायाँ किनारमा रहेको छ। जितगढीमा वि।सं।१८७२ बैशाख ७ गते नेपाली सेना र तत्कालीन इष्ट इण्डिया कम्पनीबीच भएको लडाइँमा नेपालले विजय हासिल गरेको थियो। सोही दिनलाई बुटवल उपमहानगरपालिकाले हरेक वर्ष विजय उत्सवका मनाउँदै आएको छ।