२०८१ आश्विन २१ गते, सोमबार ११:००
  • पर्वतीय प्रशिक्षण प्रतिष्ठानलाई न्याथममा गाभ्ने निर्णय रोक्न पूर्वपदाधिकारीहरुको माग

    काठमाडौं – नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानलाई नेपाल पर्यटन तथा होटेल व्यवस्थापन प्रतिष्ठान९न्याथम०मा गाभ्ने निर्णय रोक्न सरोकारवालाहरुले माग गरेका छन्। शनिवार पत्रकार सम्मेलन गर्दै प्रतिष्ठानका पूर्वपदाधिकारीहरुले आपत्ती जनाउँदै सरकारको ध्यानाकर्षण गराएका छन्।

    चालु आर्थिक वर्ष २०८०/०८१ को बजेटमा नेपाल सरकारले प्रशिक्षण प्रतिष्ठानलाई न्याथममा गाभ्ने व्यवस्था गरेको थियो। उक्त व्यवस्थालाई कार्यान्वयन गर्न संकृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मन्त्रीपरिषदमा पठाएकोप्रति पदाधिकारीहरुले आपत्ति जनाएका हुन्। दुई निकायलाई समायोजनको विषयमा सम्बन्धित सरकारवालाहरुसँग छलफल नै नगरी मन्त्रालयले प्रक्रिया अगाडी बढाएको उनीहरुको अरोप छ।

    पत्रकार सम्मेलनमा प्रतिष्ठानका पूर्वअध्यक्ष लाक्पाफुटी शेर्पाले ट्रेकिङ गाइड, हिमाल सम्बन्धि प्रशिक्षण र अनुसन्धानकर्ता उत्पादनमा प्रतिष्ठानको महत्वपूर्ण भुमिका रहेको बताईन्। प्रतिष्ठानलाई सरकारले अभिभावकीय जिम्मेवारी लिएर थप लगानी गुर्नपर्नेमा ठाँउमा खारेज गर्न खोजेर गैरजिम्मेवार पन देखाएको उनको भनाई छ।

    शिक्षण प्रतिष्ठानको पाठ्यक्रमलाई समयसापक्ष बनाउँदै लैजानुपर्नेमा न्याथमसँग समायोजन गरेर प्रतिष्ठानको औचित्य र हालसम्मका उपलब्धी समाप्त पार्न खोजेको शेर्पाको आरोप छ। न्याथमले हस्पिटालिटी र प्रतिष्ठानले पर्वतीय शिक्षा, प्रशिक्षण र अनुसन्धानमा जोड दिँदै आएको भन्दै दुबै निकायको भुमिका फरक रहेको उनको भनाइ छ। जस कारण दुई निकायलाई एकआपसमा गाभ्न नहुने शेर्पाको तर्क छ।

    नेपाल पर्वत आरोहण प्रशिक्षक संघका प्रतिनिधि छिरिङ पान्दे भोटेले दुई प्रतिष्ठानलाई समायोजन गरेर सरकारले पर्वतीय शिक्षालाई समाप्त पार्न खोजेका बताए। पर्वतीय शिक्षण प्रतिष्ठानले दक्ष जनशक्तिको उत्पादन गरेर नेपालका हिमालहरुलाई विश्वमा चिनाउँदै आएको बताउँदै थप सशक्त बनाउन सरकारलाई आग्रह गरे।

    यस्तै, छिरिङ जाङबु शेर्पाले पर्वतीय क्षेत्रमा दक्ष कामदार र आरोहीहरु पलायन भइरहेको समयमा राज्यले यस्ता निकायलाई थप जिम्मेवार बनाउनु पर्नेमा राज्यले नै निष्कृय पार्न लागि परेको भन्दै आपत्ति जनाए।
    उनले नेपालको हिमालका बारेमा विदेशमा गएर शिक्षा लिनुपर्ने अवस्था आउन नदिन शिक्षण प्रतिष्ठानलाई विश्वविध्यालयको रुपमा अगाडी बनाउन समेत सरकालाई आग्रह गरे।

    प्रतिष्ठानका पुर्वअध्यक्ष सन्तोष थापा मगरले दक्ष जनशक्ति उत्पादन गर्ने थलोलाई सरकारले वेवास्था गरेको बताए। प्रतिष्ठानका गुडविल एम्बेष्डर सञ्जय खतिवडाले सरकारले समायोजन तयारी फिर्ता नलिए हिमाली पर्यटनमा आधारित व्यवसायी, मजदुर र विध्यार्थीहरु आन्दोलनमा उत्रिने चेतावनी दिए।