२०८१ आश्विन २१ गते, सोमबार १०:५९
  • कोषका उपाध्यक्ष लामासँग राजदुत पाथिरानाले भने: श्रीलंकाबाट भैरहवा नियमित उडान हुन्छ

    लुम्बिनी-नेपालका लागि श्रीलंकन राजदुत सुदर्शना पाथिरानाले बुद्ध जन्मस्थल लुम्बिनीको भ्रमण गरेका छन्। भ्रमणको क्रममा उनले भैरहवा श्रीलंका नियमित उडान हुने प्रतिबद्धता जनाए। भ्रमणको क्रममा लुम्बिनी विकास कोषका उपाध्यक्ष डा। ल्हाक्याल लामासँग पनि राजदुत पाथिरानाको भेट भएको थियो।

    भेटमा उपाध्यक्ष लामाले बुद्धजन्मस्थल लुम्बिनीको पर्यटकीय, धार्मिक र ऐतिहासिक विकासका लागि भैरहवाबाट अन्तर्राष्ट्रिय उडान हुनुपर्ने बताए। उनले श्रीलंका बुद्धिष्ट राष्ट्र समेत रहेकाले भैरहवामा सिधा उडान गर्दा बुद्धजन्मस्थल लुम्बिनी आउन निकै सहज हुने बताए। एयर फोर्स चिफ समेत रहेर काम गरिसकेका राजदुत पाथिरानाले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा श्रीलंकाबाट नियमित उडान हुने प्रतिबद्धता जनाए। उनले बुद्धजन्मस्थल लुम्बिनी जस्तो पवित्र स्थान आउन धेरै श्रीलंकनहरु इच्छुक हुने गरेको बताउँदै सिधा उडान गरेर आउने व्यवस्थाका लागि तत्तकालै काम गर्ने बताए।
    सो अवसरमा राजदुत पाथिराना र उपाध्यक्ष डा. लामाविच लुम्बिनीको धार्मिक, साँस्कृतिक र पर्यटकीय विकास, संरक्षण र सम्बद्र्धक बिषयमा सहकार्यका लागि समेत छलफल भएको छ ।

    राजदुत पाथिरानाले शनिबार लुम्बिनीको मायादेवी मन्दिरको दर्शन गरे। कोषका सदस्य सचिव सानुराजा शाक्यले राजदुत पाथिरानालाई लुम्बिनीको महत्व, यसको पछिल्ला विकास लगायतका बिषयमा जानकारी गराए। पाथिरानालाई लुम्बिनी विकास कोषका योजना प्रमुख सरोज भट्टराई, कार्यकारी सदस्य श्याम रोका, सूचना तथा जनसम्पर्क अधिकृत हरिध्वज राई, लेखा अधिकृत भिम बस्नेतले समेत स्वागत गरेका थिए । राजदुत पाथिरानाले लुम्बिनीसँगै भैरहवा स्थित गौतमबुद्ध विमानस्थलको समेत भ्रमण गर्नेछन्।