२०८१ आश्विन २१ गते, सोमबार ११:०१
  • तिनाउ रिभरसाइड रिसोर्ट, जहाँ क्याम्प फायरसहित प्राकृतिक वातावरणमा रमाउन सकिन्छ

    बुटवल – वरपर हरियाली पहाड विचमा शान्त र सानो मैदान, तिनाउ नदिको कलकल आवाज, चराचुरुङ्गीहरुको चिरविर ध्वनी। तिनाउ रिभरसाइड रिसोर्टमा पुग्दा फरक आनन्द अनुभव गर्न सकिन्छ। पाल्पाको तिनाउ गाउँपालिका २ दोभानमा रिभरसाइड रिसोट रहेको छ। केही वर्ष अघिदेखी यहाँ रिसोर्ट सञ्चालन थियो। एक वर्ष अघिदेखि रिसोर्टको व्यवस्थापन परिवर्तन भएर नारायण महत र सुमन लम्सालको साझेदारीबाट सञ्चालन भएको छ।

    नया व्यवस्थापन आएपछि पूर्वाधारहरु पनि थप भएको रिसोर्टका महाप्रबन्धक राजेन्द्र अर्यालले बताए। ‘यो रिसोर्ट हाम्रो म्यानेजमेन्टमा आइसकेपछि केही समय चलाइयो। थप पूर्वाधार निर्माणका लागि ३ महिना बन्द भयो। दसैंपछि सफ्टओपनिङ गरेर चलाएका छौं।’ उनले भने ‘राम्रो रेस्पोन्स आएको छ। बैशाख १ गते ग्रान्ड ओपनिङ गर्दैछौं।’

    रिसोर्टमा हाल पाहुनाहरु बस्नको लागि ६ वटा भिल्ला हाउस रहेको छ। त्यसबाहेक क्याम्पिङ टेन्टहरु पनि रहेको महाप्रबन्धक अर्यालको भनाइ छ। ‘सबै रुम तयार नभएकाले क्याम्पिङ टेन्टलाई हामीले प्राथमिकता दिएका छौं। अहिले हामीसँग ६ वटा जति भिल्ला हाउस तयार छन्।’ उनले भने ‘एउटा भिल्लामा ८–१० जनाको समूह सहजसँग बस्न सकिन्छ। आवश्यक परेमा हामीले अतिरिक्छ बेड र म्याट पनि उपलब्ध गराउँछौं।’

    भिल्ला हाउसमा एउटा लिभिङ रुम, बेड रुम र किचन समेत छ। बेडरुम बाहेक माथिल्लो तलामा पनि चार पाँच जना बस्न मिल्छ। भिल्ला हाउसको किचनमा आँफै पकाएर खानेहरुका लागि समेत सुविधा प्रदान गरिने म्यानेजर अर्यालले जानकारी दिए। कतिपय भारतीय पर्यटकहरु आँफै पकाएर खाने खालका हुन्छन्। रिसोर्टमा अरु कोठाहरु निर्माण हुँदै छ। बैशाखमा ग्राण्ड ओपनिङ हुँदासम्म ४२ वटा कोठा तयार हुने छ। त्यसमा डिलक्स, स्वीट रुमहरुको पनि सुविधा लिन सकिने महाप्रबन्धक अर्यालको भनाइ छ।

    क्याम्प फायरको लागि पनि पाहुनाहरु रिसोर्टमा आउने गरेका छन्। क्याम्पमा बस्न चाहानेहरुको लागि रिसोर्टले क्याम्पिङ टेन्ट उपलब्ध गराउने गरेको छ। रिसोर्ट परिसरको खुल्ला ठाउँमा क्याम्प फायरको आनन्द पनि लिन सकिन्छ।


    तिनाउ किनारमा ४२ रोपनी क्षेत्रफलमा ३५ करोडको लागतमा तिनाउ रिभरसाइड रिसोर्ट निर्माण भएको हो। रिसोर्टमा आन्तरिक र भारतीयसहित केही तेस्रो मुलुकका पर्यटक पनि आउने गरेका छन्। ‘दसैं पछि पोल्याण्डबाट आउनुभयो। भारतबाट परिवारसहित आएर तीन–चार दिन बसेर जानुभएको छ।’ महाप्रबन्धक अर्यालले भने ‘आएका पाहुनाहरु सबै सन्तुष्ट हुनुहुन्छ।’

    विशेष गरि शुक्रबार र शनिवार रिसोर्टमा पाहुनाहरुको चाप हुने हुन्छ। ‘दुई दिन त भिल्लाहरु र टेन्टहरु प्याक हुन्छ। हामीलाई सेवा दिन पनि हम्मे हम्मे हुन्छ।’ उनले भने ‘रिसोर्टमा आउने मध्ये ४० प्रतिसत पाहुना भारतीय हुन्छन्।’
    जाडो कम हुँदै गएपछि अझ पर्यटकको चाप हुने अर्यालको भनाइ छ। नजिकै तिनाउमा स्वच्छ पानी बगेको छ। चैत बैशाखमा खोलामा नुहाउन र राती टेन्टमा बस्न पनि आनन्द हुन्छ। त्यसबेला अझ पाहुना बढ्ने अर्यालको आशा छ।


    रिसोर्टमा चार वटा रुफटप कटेज पनि बनाइएको छ। जहाँ बसेर परपरसम्मका दृष्यहरु देख्न सकिन्छ। लुम्बिनीमा पर्यटकहरुको संख्या बढ्दै गयो भने। प्राकृतिक वातावरणमा रमाउने पर्यटकहरुलाई दोभानमा पनि आकर्षित गर्न सकिन्छ। तिनाउ रिभरसाइड रिसोर्ट दोभानको पर्यटकीय गहना जस्तै बनेको छ। दोभान र तिनाउ गाउँपालिकामा थुप्रै पर्यटकीय गन्तव्यहरु छन्। रिसोर्ट मार्फत तिनाउका नुवाकोट, बसन्तपुर, जन्तिलुंङ, सत्यवती, कचल जस्ता पर्यटकीय गन्तव्यको पनि प्रवद्र्धनमा सघाउ पुर्याउँछ। महाप्रबन्धक अर्यालले तिनाउ रिभरसाइडलाई पाल्पाकै नमुना रिसोर्टको रुपमा स्थापित गर्ने योजना रहेको बताए।