२०८१ आश्विन २१ गते, सोमबार ११:०९
  • कपिलबस्तुको सगरहवामा मूर्ति कार्यशाला शुरु

    लुम्बिनी- कपिलबस्तुको सगरहवामा मूर्तिकार्यशाला शुरु भएको छ। लुम्बिनी विकास कोषको मुख्य आयोजना कपिलवस्तु नगरपालिका, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान काठमाण्डौ, पर्यटन डिभिजन कार्यलय लुम्बिनी सहित स्थानीय संघसंस्थाहरुको आयोजनामा ऐतिहासिक, पुरातात्विक स्थल सगरहवामा प्रथम कपिलबस्तु राष्ट्रिय मूर्तिकार्यशाला शुरु भएको हो।

    कार्यशालाको उद्घाटन गर्दै लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाले सगरहवा बुद्धकालिन समयमा शाक्यहरुको नरसंहार भएको स्थल भएकाले यसलाई अन्तर्राष्ट्रियकरण गर्न प्रत्येक वर्ष शान्ति पूजा गर्ने घोषणा गरे। यो पटक मूर्तिकार्यशाला गरिएको भन्दै उनले  आगामि बर्ष सगरहवामा भएको घटनाका बारेमा प्रचार गर्न कोष सहित स्थानीय सरकारसँग मिलेर विश्वशान्तिको कामना सहित महोत्सव गरिने जानकारी दिए।
    कपिलबस्तु ऐतिहासिक र पुरातात्विक स्थलहरु धेरै रहेको जिल्ला भएकाले यसको विकासका लागि लुम्बिनी विकास कोषले काम गरिरहेको उनले जानकारी दिए।

    कपिलबस्तु नगरपालिकाका प्रमुख सुदीप पौडेलले मूर्तिकार्यशालाले पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न निकै महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे। उनले कपिलबस्तु नगरपालिका ऐतिहासिक स्थल सगरहवा सहित यहाँका बौद्धकालिन क्षेत्रहरुको विकासका लागि सहकार्य गर्न तयार रहेको बताए। उनले कपिलबस्तुलाई अन्तर्राष्ट्रियकरण गर्नका लागि रामग्राममा जस्तै यहाँ पनि कार्यक्रम गर्न सुझाव दिए।

    कोषका कोषाध्यक्ष एंव कार्यशाला निर्देशक समितिका संयोजक ढुण्डिराज भट्टराई (सिद्धिचरण) ले सगरहवामा शाक्य गणराज्यको उत्थान र पतनसंग गाँसिएका विभिन्न कथाहरुलाई मूर्तिमा कलाकारहरुले उतार्ने बताए। कार्यशालाबाट तयार भएका मूर्तीहरुले सगरहवाको ऐतिहासिक र पुरातात्विक महत्व उजागरसँगै पर्यटक आउने वातावरण बनाउने उनको भनाइ छ।

    नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान मूर्तिकला विभागका प्रमुख दिनेश्वर महतोले पुरातात्विक र ऐतिहासिक बिषयसँग जोडेर मूर्ति निर्माणको काम शुरु गरिएको बताए। उनले अरनिको स्मृती दिवसको अवसर पारेर ऐतिहासिक स्थलमा मूर्ति निर्माणको कामको थालनी हुनु निकै खुशीको कुरा भएको उल्ल्ेख गरे ।

    कार्यक्रममा कपिलबस्तु जगदीशपुर जलासय व्यवस्थापन बहुसरोकार मञ्चका अध्यक्ष एंव कार्याशाला सचिवालय सदस्य देवेन्द्र कुमार पोखरेल, भन्ते सुमंगलो, दामोदर सापकोटा लगाउतले बोल्दै सगरहवा आफैमा ऐतिहासिक स्थल भएकाले मूर्तिकार्यशालाले यस क्षेत्रको ऐतिहासिक पक्षलाई उजागर गर्दै पर्यटन प्रवद्र्धन गर्नेमा जोड दिए । कार्यशालाको अवसरमा लेखक पोमनारायण पौडेलद्धारा लिखित प्राचिन कपिलबस्तुको पतन र सगरहवा पुस्तकको विमोचन गरिएको छ । पुस्तकको लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. लामाले विमोचन गरेका हुन ।

    कार्यशाला आगामि माघ ८ गतेसम्म सञ्चालन हुनेछ । शाक्यमुनि बुद्धको जीवनको उतार्धतिर कोशल राज्यका राजा विडूडभले आफू बाबु प्रु्नजीतलाई झुक्याएर शाक्यपुत्री भनि दासीपुत्रीसँग विवाह गरिदिएको र प्रतिशोधबश कपिलबस्तु राज्यका हजारौं शाक्यहरुको सामूहिक बध गरेको स्थनका रुपमा सगरहवालाई चिनिन्छ ।
    सन् १८९७ मा डा. फुुरर्हरद्वारा गरिएको उत्खनन् तथा अन्वेषणमा शाक्य सेनाहरुको सम्झनामा १७ वटा निर्माण गरिएका ठूूलो वर्गाकार स्तुुपहरु र धेरै संख्यामा साना स्तुुप भेटिएको थियो। स्तुुपभित्र हड्डी, सुन, चाँदी, क्रिस्टल तथा रुबी जस्ता सामाग्री प्राप्त भएका थिए। जगदिशपुर तालको काखैमा रहेको लम्बु सागर रुपमा परिचित सगरहवा ५२ विघा क्षेत्रफलमा फैलिएको छ।