२०८१ आश्विन २१ गते, सोमबार ११:०१
  • पोखरा पर्यटन परिषद्को आयोजनामा कन्दरा लाइभ कन्सर्ट हुने

    पोखरा-पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउने उदेश्यले शुक्रबार पोखराबाट कन्दरा साँगीतिक अभियान २०८० सुरु हुने भएको छ। ‘पहिला घरदेश अनि परदेश’ नारासहित गीतसङ्गीतमार्फत् नेपालको पर्यटन प्रवद्र्धनको सन्देश प्रवाह गर्ने उदेश्यले पोखरा पर्यटन परिषदको आयोजना र कन्दरा व्याण्डको व्यवस्थापक अल्फा स्क्वायर प्रालिको व्यवस्थापनमा सांगीतिक कार्यक्रम हुन लागेको हो।

    जसअनुसार पौष २७ गते पोखरा प्रदर्शनी केन्द्र नयाँबजारमा पहिलो कार्यक्रम हुन लागेको हो। कन्दरा लाइभ कन्सर्टको तयारी पूरा भएको पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले जानकारी गराए। ‘घरदेश घुमौँ, पर्यटन प्रवद्र्धन गरौँ ‘गुञ्जनसहित पर्यटन उद्यमलाई पुनर्जागरण गरी पर्यटकीय गन्तव्य स्थलको सन्देश दिने, आन्तरिक तथा वाह्य पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने, घुमफिर संस्कृति एवम् दीगो पर्यटनलाई प्रोत्साहित गर्ने गरी अर्थतन्त्र चलायमान र गतिशील बनाउने एवम् गीतसङ्गीतको जगेर्ना गर्ने उद्धेश्यले कन्दरा साँगीतिक अभियान–२०८० तय भएको श्रेष्ठले बताए। ‘गीत मात्रै गाउने कार्यक्रम नभई पर्यटन प्रवद्र्धनका गतिविधिलाई समेत आत्मसात् गर्दै हामी अगाडि बढेका छौं’, उनले भने ,‘कन्दरा लाइभ कन्सर्ट मार्फत आन्तरिक पर्यटक पोखरा भित्र्याउने लक्ष्य हाम्रो हो’ । पोखरा पछि मुलुकका सातै प्रदेश र मुख्य सहरमा कन्दरा सांगीतिक अभियान आयोजना हुने छ।

    पोखरामा हुने लाइभ कन्सर्टका लागि भिआइपी टिकट १ हजार रुपैयाँ र आम सर्वसाधारणका लागि ३ सय रुपैयाँ तोकिएको श्रेष्ठले उल्लेख गरे । कार्यक्रमलाई १० हजार दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको छ । पत्रकार सम्मेलनमा बोल्दै गायक बिबेक श्रेष्ठले कन्दरा ब्याण्ड नयाँ पुस्तामाझ पनि उत्तिकै लोकप्रिय रहेको बताए। नयाँ पुस्तासँग साक्षत्कार गर्दा आफुहरुलाई प्रेरणा मिलेको अभिव्यक्ति उनको छ ।

    कन्दराले अहिलेसम्म ६ वटा एल्वम र सयौँ गीत संगीत बजारमा पस्केको छ। मुलुकभित्र र मुलुकबाहिर गरी २ सयभन्दा बढी कन्सर्ट सम्पन्न गरिसकेको छ। अभियानको यो पहिलो र ठूलो कन्र्सट हो। कन्दराका विवेक श्रेष्ठ, सुनिल थापा, हरि महर्जन, देव लामा, सुन्दर महर्जन, पङ्कज झाको समूहले डेढ दर्जन गीतसङ्गीतलाई लाइभ प्रस्तुति दिनेछन्। पर्यटन उद्यमसँग सम्बद्ध १४ वटा संस्थाहरूको आवद्धता रहेको छाता सङ्गठन पोखरा पर्यटन परिषद् आयोजक र लायन्स क्वल अफ पोखरा सामिप्य सहआयोजक रहेको कन्दरा लाइभ कन्सर्टको सम्पूर्ण व्यवस्थापकीय काम पूरा भएको छ ।

    गण्डकी प्रदेश सरकार, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, पोखरा महानगरपालिका, नेपाल पर्यटन बोर्ड, गण्डकी प्रज्ञा प्रतिष्ठानले मुलुकका सातै प्रदेशमा गरिने साँगीतिक अभियानको प्रवद्र्धनमा हातेमालो गरेका छन्। स्टेज, साउण्ड सिस्टम र लाइटका लागि आइएसएस काठमाडौँले संयोजन गरेको छ। कन्सर्टको टिकेटिङमा आइएमइ पे, इन्टरनेटमा डिस होम फाइबर, फ्लाइटमा बुद्ध एयर पाटर्नर रहेका छन् । आइएमइ, डिस होम, चन्द्रागिरी हिल्स, मौलाकाली केबुलकार, बुटबल हिल्स लुम्बिनी केबुलकार, भाटभटेनी सुपरमार्केट, गो बञ्जी नेपालले कन्सर्टलाई साथ र समर्थन गरेका छन्।