२०८१ आश्विन २१ गते, सोमबार ११:००
  • ‘बुटवलमा ऐतिहासिक, धार्मिकसँगै पर्यावरण र साहसिक पर्यटनको पनि सम्भावना’


    बुटवल-बुटवलमा ऐतिहासिक, धार्मिकसँगै पर्यावरण र सहासिक पर्यटनको पनि सम्भावना भएको एक कार्यक्रमका सहभागीहरुले बताएका छन्। लुम्बिनी प्रदेश पर्यटन विकास परिषदको प्रवर्द्धन र मणिमुकुन्द सेन उद्यान संरक्षण समितिको आयोजनामा विहिबार पर्यटन प्रवर्द्घन सम्बन्धी कार्यशाला गोष्ठी भएको थियो। गोष्ठीमा अब बुटवलले पर्यावरण र सहासिक पर्यटनको सम्भावना पनि खोजी गर्नुपर्ने उल्लेख गरेका थिए।

    सो अवसरमा ऐतिहासिक धार्मिक तथा सास्कृतिक पर्यटन, पर्यापर्यटन, साहसिक पर्यटन, र खाना पयर्टनको विषयमा समूहगत रुपमा छलफल भएको थियो। साहसिक पर्यटनको छलफलको निष्कर्ष सुनाउँदै अग्रज पत्रकार महेन्द्र थापाले बुटवलमा गोल्पार्क लक्ष्मीनगर हिलपार्क हुँदै गुरुङडाँडासम्म र बेलबासदेखी बेथरी साइकिल पर्यटनको सम्भावना रहेको बताए। नुवाकोटको डाँडा र भिँगामारामा प्याराग्लाइडिङ सम्भावना रहेको उनले बताए। तिनाउमा ड्याम बाँधेर बोटिङको र र्याफ्टिङ पनि गर्न सकिने उल्लेख गरे।

    पर्यटन मामिलाका स्तम्भकार युवराज कंडेलले पर्यावरण सम्बन्धी समुहगत छलफलमा चुरेको दक्षिणी पानीढलोको ठाउँलाई पदयात्रा, चराचुरीङगी अवलोकनको रुपमा विकास गर्न सकिने उल्लेख गरे। चुरेका ठाउँमा जंगल सफारी र हिलपार्कका डाँडामा इको साइकिलिंगको सम्भावना रहेको उनले बताए।

    लेखक दलबहादुर गुरुङले ऐतिहासिक धार्मिक तथा सास्कृतिक पर्यटन विषयमा दल बहादुर गुरुङको टिमले सिद्धबाबासँगै अन्य सास्कृति स्थलहरुलाई जोडेर विकास गर्नुपर्ने धारणा राखे। खाना पयर्टनको विषयमा सेफ राजेन्द्र पौडेलले आफनो धारणा प्रस्तुत गरेका थिए।

    गोष्ठीको उद्घाटन गदैै लुम्बिनी प्रदेश सभा सदस्य तथा उद्यानका संस्थापक अध्यक्ष भोजप्रसाद श्रेष्ठले पर्यटनबाट नै आर्थिक समृद्धि सम्भव रहेको बताए। धेरै पर्यटन प्रवर्द्धनको विषयमा गोष्ठीहरु भएपनि त्यसको कार्यान्वयन पक्ष कमजोर रहेको उनले औल्याए। बटौली र तिनाउ नदीको महत्व, यसको ऐतिहासिक पक्ष उजागर गरि सैनामैना देबदहसँग पनि जोड्नुपर्ने श्रेष्ठको भनाइ छ।

    कार्यक्रममा मणिमुुकुन्द सेन उद्यानका अध्यक्ष माधव नेपालले बुटवलमा रहेका पर्यटकिय क्षेत्रहरुलाई ब्यवस्थित गर्दै पर्यटन प्रवर्द्धनमा योगदान मिल्ने गरि लिपिवद्घ तरिकाबाट ठोस योजना बनाउने लक्ष्य सहित कार्यक्रम गरिएको बताए। भक्तपुर र पाटन जस्तो पुरानो बुटवल अर्थात बटौलीको सम्पदालाई संरक्षण र प्रवद्र्धन गर्न नसकिएको उनको भनाइ छ। अब पर्यटन प्याकेजको योजना बनाएर अघि बढ्नुपर्नो नेपालले बताए।

    कार्यक्रममा राष्ट्रिय उद्यान महासंघका केन्द्रिय अध्यक्ष खेम लुईटेल, बुटवल उपमहानगरपालिकाका शाखा अधिकृत गुणाखर खनाल, लुम्बिनी पर्यटन परिषदका अधिकृत बालकृष्ण गैरे, पर्यटन परिषद कार्यालयका गिता आचार्य, नाटा रुपन्देहीका महासचिव अन्जन श्रेष्ठ, उद्यानका महासचिव युवराज घिमिरे, सहजकर्ता बरुण ज्ञवालीले लगायतले बोल्दै ऐतिहासिक, धार्मिक, सामरिक, पर्यटकिय क्षेत्रहरुको विकास र प्रचारप्रसारबाट बुटवलको आार्थिक समृद्धि गर्न सकिने धारणा राखेका थिए।