२०८१ आश्विन २१ गते, सोमबार ११:०१
  • चिनियाँ नयाँ वर्षको अवसरमा लुम्बिनीमा प्रसाद वितरण

    उपाध्यक्ष लामा र चिनियाँ राजदुत सोङविच गुरुयोजनाका बारे छलफल


    लुम्बिनी– चिनियाँ नयाँ बर्षको अवसरमा बुद्ध जन्मस्थल लुम्बिनीमा प्रसाद वितरण कार्यक्रम भएको छ। कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत चेन सोङ्ग, चिनियाँ अन्तर्राष्ट्रिय बुद्धिष्ट एशोसिएसनका उपाध्यक्ष युन सुङ लगायतको सहभागीता थियो। चिनियाँ विहारमा आयोजित कार्यक्रममा बौद्ध विश्व विद्यालय, विभिन्न विद्यालय र स्थानीयबासीहरु गरी करिव ४ सय जनालाई प्रसाद वितरण गरिएको थियो।

    कार्यक्रममा लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाले हजारौं चिनियाँ तीर्थयात्रीलाई लुम्बिनीमा स्वागत गर्न आतुर रहेको बताए। ‘प्रत्येक दिन, प्रत्येक महिना हजारौं चिनियाँहरुलाई लुम्बिनीमा स्वागत गर्न पाउँ, त्यो दिनको पखाईमा छौं।’ उनले भने । उपाध्यक्ष लामाले आजकै दिन सुजाताले भगवान बुद्धलाई खिर खान दिएर ज्ञान प्राप्त गरेको बताउँदै यहि दिन खिर बाड्न पाएकोमा खुशी व्यक्त गरे

    सो अवसरमा राजदुत सोङ्गले १५ सय बर्षअघि चिनियाँ यात्रीहरु गरेको पैदल यात्रा र त्यही यात्रा वितान्तले लुम्बिनी पत्ता लगाउने सहयोग गरेको स्मरण गर्दै बुद्धजन्मस्थल जस्तो पवित्र स्थलमा आएर प्रसाद वितरण गर्न पाउदा निकै खुशी लागेको सुनाए। उनले नेपाल र चिनविचको सम्बन्ध हजारौं बर्षदेखि सुमधुर रहेको भन्दै बुद्धले त्यसलाई थप जोडेको उल्लेख गरे। उनले विश्वमा अशान्ति भइरहेकाले बुद्धको शान्ति र अहिंसाको सन्देश सबैले ग्रहण गर्नुपर्ने बताए।

    कार्यक्रममा चिनियाँ अन्तर्राष्ट्रिय बुद्धिष्ट एशोसिएसनका उपाध्यक्ष युन सुङले बुद्धले सुजाता खिर खाएर ज्ञान प्राप्त गरेको दिनमा लुम्बिनीमा आएर प्रसाद वितरण गर्न पाएकोमा खुशी व्यक्त गरे । सुङले राजदुत सोङ्ग, लुम्बिनी विकास कोषका उपाध्यक्षको उपस्थितीमा चिनियाँ भिक्षुभिक्षुणी र लुम्बिनीका स्थानीयको सहभागितामा प्रसाद बाड्न पाउनु आफ्नो लागि अविष्मरणीय बनेको उल्लेख गरे । उपाध्यक्ष सुङ चिनियाँ नयाँ वर्षको सन्दर्भ पारेर भिक्षुभिक्षुणी र तीर्थयात्रीहरुको टोली लिएर लुम्बिनी आएका हुन् ।

    यसैबीच लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा र नेपालका लागि चिनियाँ राजदूत चेन सोङ्ग विच लुम्बिनी गुरुयोजनाका बारेमा छलफल भएको छ । लुम्बिनी स्थित चिनियाँ विहारमा भएको भेटमा बृहत्तर लुम्बिनी क्षेत्रका बिषयमा छलफल भएको छ । भेटमा जापानीज बास्तुविद् केञ्जे टांगेले निर्माण गरेको गुरुयोजनाको पूर्णता, चिनियाँ तीर्थयात्रीलाई लुम्बिनीमा आउने वातावरण बनाउने र लुम्बिनीको विकास र संरक्षण प्रवद्र्धनका सहकार्यका बिषयमा छलफल भएको उपाध्यक्ष डा. लामाले बताए।

    राजदुत सोङ्गले गुरुयोजनाका सन्दर्भमा चासो राखेपछि उपाध्यक्ष डा. लामाले पूर्णता दिने तयारीमा जुटेको बताएका थिए। लुम्बिनीको गुरूयोजना पूरा हुनासाथ कपिलबस्तु र रामग्राम क्षेत्रको विकासका लागि गुरूयोजना बनाउने योजनामा रहेको समेत उपाध्यक्ष डा. लामाले उल्लेख गरे। उनले बृहत्तर लुम्बिनी क्षेत्रको विकासका लागि सहकार्यका लागि चिनसँग आग्रह गरे। भेटमा लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्य, कार्यकारी सदस्य राजेश शाक्य, श्याम रोक्काको उपस्थिती रहेको थियो ।