२०८१ मंसिर ७ गते, शुक्रबार २१:२९
  • बुद्धकालिन इतिहास भनिरहेका छन् सगरहवाका मूर्तिले

    तिलौराकोट र जगदिसपुर ताल आएका पर्यटकलाई आकर्षित गर्न सकिने


    तौलिहवा – कपिलबस्तुको सगरहवामा जारी मूर्तिकला कार्यशालामा यमबहादुर थापाले गौतमबुद्ध सुकेको रुखमुनी बसेको आकृती निकालेका छन्। सगहरावमा शाक्यहरुको बध हुनुभन्दा अघि गौतम बुद्ध सुकेको रुखमुनि ध्यानमा बसेका थिए।

    मूर्तिकार थापाले यही दृष्य ढुंगामा दिदै सगरहावाको बुद्धकालिन कथाको केही अंस सुनाए। ‘विडुडभले युद्ध गर्ने भनेपछि गौतम बुद्ध यहाँ सुकेको रुखमा ध्यानमा बस्नुभएको थियो। बुद्धलाई देखेर ३ पटक विडुभवको सेना फकिएको थियो ।’ उनले भने ‘बुद्ध ध्यानबाट उठेपछि चौथो पटक विडुडभका सेना आइ यहाँ युद्ध यहाँ नरसंहार भएको थियो । जसमाहजारौं शाक्यहरुको बध भएको थियो।’ मूर्तिकार गोबिन्द चौधरीले युद्ध लड्न तयार भएको विडुडभको आकृती निकालेका छन्। बायाँ हातले तरबार लिएको र दायाँ हात माथि उठाएर मुठ्ठी पारेको मुर्ति उनले तयार गरेका छन्।

    पुरातात्वीक एवं पर्यटकीय स्थल सगरहवामा पुस २३ गतेदेखि कपिलबस्तु राष्ट्रिय मुर्तिकला कार्यशाला चलिरहेको छ। कार्यशालामा कँुदिएका मुर्तिहरुले शाक्यमुनि बुद्धको उत्तरार्धको समयलाई सम्झाइरहेका छन्। जतिबेला सगरहवामा हजारौं शाक्यहरुको सामूहिक बध भएको थियो। तत्कालिन कोशल राज्यका राजा विडुडभवले आफ्ना बाबु प्रसेनजितलाई झुक्याएर शाक्यपुत्री भनि दासी पुत्रिसँग विवाह गरिदिएको प्रतिसोधबस प्राचिन कपिलबस्तु राज्यका हजारौं शाक्यहरुको सामुहिक बध गरेको स्थानको रुपमा सगरहवालाई चिनिन्छ।

    तत्कालिन समयमा कोशल राज्यका राजकुमार विडुभव आफ्नो माओल गएर फर्किदा साथमा लगेको हतियार छुटाएका थिए। फर्केर छुटेको हतियार लिन जाँदा विडुडभले आँफू बसेको आसन दुधले लिपेको देखेका थिए। त्यही नै सगहरवा नरसंहारको कारण मानिन्छ। विडुडभ माओल गएको क्षणलाई मुर्तिकार ताराप्रसाद ओझाले कार्यशालामा आफ्नो मुर्तिमा कैद गरिरहेका छन्। ‘माओली घरमा छुटेको तरवार लिन जाँदा किन बसेको आसन चोख्याएको भनेर सोध्दा, दासीपुत्र भएकाले भन्ने विडुडभले थाह पाए ।’ आँफूले बनाएको मुर्ति बारे बताउँदै उनले भने ‘विडुभवले मेरो आमालाई विभेद गरेर छलकपट गरेर रानी बनाएको हैछ । म दासी पुत्र भएछु । अब बदला नलिइ छोड्दिन भनेर त्यहीबाट युद्ध भएको थियो ।’

    महिला मूर्तिकार सुनिता राणाले मल्लीकादेवीको मुर्ति बनाएकी छन् । जति पिडा भएपनि महिला सौम्य रुपमा कसरी रहन सक्छन भनेर मूर्ति मार्फत आँफूले देखाउन खोजेको उनले सुनाइन् । कार्यशालामा बुद्ध थारुले बनाएको मुर्तिले धेरैको ध्यान खिचेको थियो। उनले विडुडभकी आमा बासभ खतियाको विवाहको दृष्य उतारेका छन्। दुलही बनेकी बासभखतियाको मुर्ति साच्चीकै सुन्दर देखिन्छ।

    लुम्बिनी विकास कोषको मुख्य आयोजना, प्रदेश सरकार, कपिलबस्तु नगरपालिका नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, एवं स्थानिय अगुवा संघ संस्थाहरुको सहयोगमा मूर्तिकला कार्यशाला सञ्चालन भइरहेको हो ।शाक्यहरुले आफ्नो वंसको नरसंहार भएपछि उनीहरुको सम्झनामा सगरहवा तालको दक्षिण पश्चिम भागमा सयौं स्तुपहरु निर्माण गरेको चिनिया यात्री हुयन्साङको सन ६३६ को यात्रा बृतान्तमा उल्लेख छ। सन १८९७ मा डा. फुरर्हरद्धारा गरिएको उत्खनन् र अन्वेषणमा शाक्य सेनाहरुको सम्झनामा १७ वटा निर्माण गरिएको ठूला बर्गाकार स्तुपहरु र धेरै संख्यामा साना स्तुपहरु भेटीएको थियो। स्तुपभित्र हड्डी, सुन चाँदी, क्रिस्टल तथा रुबी जस्ता सामाग्री प्राप्त भएका थिए।

    मूर्तिकला कार्यशालापछि सगरहवाको थप प्रवद्र्धन हुने र यहाँ पर्यटकहरुलाई आकर्षित गर्न सकिने आशा गरिएको छ। लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डीराज भट्टराई सिद्धिचरणले कार्याशालापछि सगरहवालाई चिनाउनको लागि महत्पूर्ण योगदान पुग्ने उल्लेख गरे। ‘यो बुद्धकालिन सांस्कृतिक क्षेत्र हो भन्ने पहिचान भएको तर देखिने चिज केही थिएन। उनले भने त्यतीबेलाको घट्नासँग सम्बधित मूर्तिहरु भइसकेपछि यहाँ पर्यटकहरु स्वभाविक रुपमा आकर्षण बढ्छ ।’

    तिलौराकोटबाट ६ किलोमिटर उत्तर र जगदिसपुर तालदेखि सय मिटरको दुरीमा सगरहवा पर्दछ। अब जगदिसपुर ताल र तिलौराकोट आएका पर्यटकहरुलाई सगरहवामा आकर्षित गर्न सकिने लुम्बिनी विकास कोषका कोषाध्यक्ष भट्राइले बताए।
    माघ ८ गतेसम्म चल्ने मूर्तिकला कार्याशालाका अवसरमा सगरहवामा दैनिक जसो सांगीतिक र सांस्कृतिक कार्यक्रम भइहेको छ।