२०८१ आश्विन २१ गते, सोमबार १३:१४
  • भैरहवामा भियतनाम एयरलाइन्सले मार्चबाट थाल्ला त उडान ? दुई सातादेखि छलफल जारी

    अक्टोवरमा उडान गर्ने भनेपनि आएनन् कम्बोडिया र म्यानमार एयरलाइन्स

    भैरहवा– भियतनाम एयरलाइन्सले मार्चबाट भैरहवामा उडान थाल्ने तयारी गरेको छ। भियतनामको राष्ट्रिय विमान कम्पनीले गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा उडान गर्न चासो राखेको हो।

    दुई सातादेखि निरन्तर कुराकानी भइरहेको र भैरहवामा चार्टड उडान गर्न भियतनाम सकारात्मक देखिएको गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलका महाप्रबन्धक हंसराज पाण्डेले जानकारी दिए। ‘दुई सातादेखी हामीबीच अनलाइन छलफल भइरहेको छ। सुरुमा यहाँको अवस्थाको बारेमा हामीले उहाँहरुलाई बताएका छौं।’ उनले भने ‘त्यसपछि भियतनामको तर्फबाट राखेको चासो र जिज्ञासाहरु राखेका थिए। त्यसको जवाफ पनि हामीले फर्काएका छौं ।’ अहिले चार्टड उडानबाट सुरु गर्ने र बजार अध्ययन गरेपछि उडान नियमित पनि हुन भियतनाम एयरलाइन्सको योजना रहेको महाप्रबन्धक पाण्डेले जानकारी दिए।

    चार्टड उडान भनेको सेड्युल अनुसार नभइ यात्रु पुर्याएर गरिने उडान हो। भियतनाम बौद्धधर्मलम्बीहरुको बाहुल्यता भएको मुलुक हो। त्यहाँका बौद्धमागीहरुले बुद्ध जन्मस्थल लुम्बिनी आउने गर्दछन्। लुम्बिनीमा पछिल्लो समय भियतनामका पर्यटकहरुको आगमन बढेको छ। कोभिड अघिको तुलनामा अन्य मुलुकका पर्यटकको आगमन कम देखिँदा भियतनामको भने बढेको छ। सन २०२३ मा १० हजार ४१४ भियतनामीहरुले लुम्बिनीको भ्रमण गरेका छन् । कोभिड अघि सन २०१९ मा ८ हजार ३४५ जना भियतनामी पर्यटक लुम्बिनी आएका थिए ।

    म्यानमार, श्रीलंकन, चिनिया, थाइ लगायतका पर्यटक भने कोभिड अघिको तुलनामा घटेका छन् । भियतनामले पछिल्लो समय अर्थतन्त्रमा निकै प्रगति गरेको छ। अर्थतन्त्रमा प्रगति गरेकै कारण भियतनामीहरु घुम्ने क्रम बढेको र त्यसको प्रभाव लुम्बिनीमा पनि परेको लुम्बिनी विकास कोषका सुचना अधिकृत हरि राइको भनाइ छ । ‘भियतनाम सुपर पावर भइसक्यो। उसको राम्रोसँग अर्थतन्त्र बढेको छ। अमेरिकाको चिनमा भएको लगानी भियतनाम तिर सरेको छ।’ उनले भने ‘अर्थतन्त्र बलियो भएपछि घुम्ने क्रम पनि बढेको हो। बुद्धिष्ट मुलुक भएकाले लुम्बिनीमा पनि भियतनामका पर्यटकको आगमन बढेको हो।’

    कोषका सूचना अधिकृत राइले पनि भियतनामीहरु चार्टड उडान मार्फत आउन चाहेको बताए। भियनामका पर्यटकहरु गुणात्मक मानिन्छ। भियतनामबाट चार्टर उडान सुरु भएमा अरु अन्तराष्ट्रिय उडानहरु पनि थपिन सक्ने आशा गरिएको छ।

    यस अघि म्यानमार, कम्बोडिया लगायतका देशले उडान गर्ने चार्टर उडान गर्ने बताएपनि अहिलेसम्म हुन सकेको छैन।
    कम्बोडियाको नेश्नल एयरलाइन्स र म्यानमार नेश्नल एयरलाइन्सले अक्टोबरबाट चार्टर उडान सुरु गर्ने बताएका थिए। तर हालसम्म उडान नगरेको विमानस्थलका महाप्रबन्धक पाण्डेको भनाइ छ। ‘कम्बोडियाले कागजै लेखेर दिएको थियो। तर सुरु गरेको छैन। भियतनामसँग भएको छलफलको आधारमा उसले गर्छ जस्तो लाग्छ।’ उनले भने।

    बौद्ध धर्मलम्बीको बाहुल्य भएको पूर्वी एशियाका मुलुकहरुबाट धार्मिक पर्यटकहरु लुम्बिनी आउन सक्ने सम्भावना देखेर भैरहवामा अन्तराष्ट्रिय विमानस्थल निर्माण भएको हो। तर उद्घाटन भएको डेढ वर्ष बढि भइसक्दा पनि गौतमबुद्ध विमानस्थलबाट नियमित अन्तराष्ट्रिय उडान हुन सकेको छैन।