२०८१ आश्विन २१ गते, सोमबार ११:०३
  • तेन्जिङ नोर्गे शेर्पा खुल्ला आरोहण प्रतियोगितामा सजन र सिर्जना प्रथम

    काठमाडौँ तेन्जिङ नोर्गे शेर्पा खुल्ला आरोहण प्रतियोगिता (टप रोप इडिशन) मा सजन लामा र सिर्जना तामाङ प्रथम भएका छन्। काठमाडौँको बौद्धस्थित क्रिम्पान्जी एडभेन्चर हबमा पहिलो पटक आरोहण प्रतियोगितामा पुरुष तर्फ सजन र महिला तर्फ सिर्जना प्रथम भएकी हुन्।

    पुरुष तर्फ दिपेन गुरुङ दोस्रो र विजय सुनार तेस्रो स्थानमा रहे। महिला तर्फ प्रेना राइ दोस्रो र यङला भोटे तेस्रो भइन्।
    प्रतियोगितामा पुरुष ३८ जना र महिला २० जनाको सहभागीता रहेको थियो।

    राष्ट्रिय सभा सदस्य सोनाम गेल्जेन शेर्पा र १९५३ को सगरमाथा आरोहणको टोलीका सदस्य कान्छा शेर्पाले आरोहण प्रतियोगिताको उद्घाटन गरेका हुन्। राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिव टंकलाल घिसिङले पहिलो, दोस्रो र तेस्रो हुनेलाई नगद पुरस्कार र हेङ्गिङ ब्याच प्रदान गरेका थिए। साथै विजेताले अन्नपूर्णभ्यू होटल सराङकोटमा एक रात बस्न पाउने छन्।

    नेपाल क्लाइमस एसोसिएसन, युएसएनसीए र नेपाल नेशनल माउन्टेन गाइड एसोसिएसनले संयुक्त रूपमा आरोहण प्रतियोगिताको आयोजना गरेका हुन्। अरोहणको खेललाई प्रवद्र्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरीएको युएस नेपाल क्लाइम्बर्स एसोसिएसनका अध्यक्ष पासाङ निमा शेर्पाले बताए।

    यो प्रतिस्पर्धा मात्र नभएर आरोहण संस्कृति, सौहार्दता र तेन्जिङ नोर्गे शेर्पाको अटल भावनाको उत्सवको पनि प्रतिज्ञा गरिएको कार्यक्रमका संयोजक तथा नेपाल नेसनल माउन्टेन गाइड एशोसियसनका महासचिव छिरिङ जाङबु शेर्पाले बताए। ‘यो प्रतियोगिता मात्र होइन प्रतिष्ठित तेन्जिङ नोर्गे शेर्पा प्रति श्रद्धाञ्जली पनि हो ।’ उनले भने।

    प्रतियोगिताले आरोहण क्षेत्रमा रुचि राख्नेहरुलाई अझ प्रोत्सान गर्ने युएस नेपाल क्लाइम्बर्स एसोसिएसनका संस्थापक अध्यक्ष सेराप जाङ्बु शेर्पाले बताए। ‘हामीले अमेरिकामा पनि टप रोप इडिशनको आयोजना गर्दै आएकोले यस पटक आफनै देशमा नेपाल नेशनल माउन्टेन गाइड एसोसिएसनसँग मिलेर उक्त प्रतियोगिता तेन्जिङ नोर्गे शेर्पाको नाम दिएर उक्त प्रतियोगिताको आयोजना गरेका हौं।’ उनले भने।

    युएस नेपाल क्लाइम्बर्स एसोसिएसनका कोषाध्यक्ष लाक्पा नुरु शेर्पाले आरोहणको खेललाई प्रवद्र्धन गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरेको उल्लेख गरे।