२०८१ आश्विन २१ गते, सोमबार ११:०७
  • लुम्बिनीमा थाइ पर्यटकको आगमन, कोभिड अघिकै अवस्थामा


    लुम्बिनी -बुद्ध जन्मस्थल लुम्बिनीमा पछिल्लो समय थाइल्याण्डका पर्यटकहरुको आगमन बढेको छ । २०२४ को जनवरी महिनामा ४ हजार ६ जना थाइ पर्यटक आएको लुम्बिनी विकास कोषले जनाएको छ । कोभिड अघि सन २०१९ को जनवरी महिनामा थाइल्याण्डबाट ३ हजार ५३१ पर्यटक आएका थिए । यो तथ्यांकलाई आधार मान्दा थाइल्याण्डको पर्यटक आगमन कोभिड अघिकै अवस्थामा पुगेको देखिन्छ।

    राहदानी वाहक अन्य मुलुकका पर्यटकको आगमनमा भने अझै लयमा आइसकेको छैन। लुम्बिनीमा रहेको थाइ गुम्बाले विभिन्न कार्यक्रम आयोजना गरेकाले पछिल्लो समय थाइल्याण्डका पर्यटक बढेको लुम्बिनी विकास कोषका सूचना अधिकृत हरि राइले बताए। ‘पछिल्लो समय थाइ टेम्पलको तर्फबाट विभिन्न स्वास्थ्य सिविरहरु र अन्य कार्यक्रम पनि भए। सिविरमा स्वास्थ्यकर्मीहरु पनि आएका थिए।’ उनले भने ‘यहाँ भएको कार्यक्रमले थाइल्याण्डमा पनि चर्चा हुने नै भयो । त्यसैले पर्यटक बढेका छन्।’

    लुम्बिनी होटल संघका अध्यक्ष गोबिन्द ज्ञवालीले यो बेला थाइ पर्यटकहरुको सिजन पनि भएको बताए। ‘थाइल्याण्डमा कठिन दान गरेपछि तिर्थयात्रा गर्नुपर्ने हुन्छ। तिर्थ यात्रा घुम्ने क्रममा कतिपय लुम्बिनी आउनुभएको हो।’ उनले भने ‘यो बेला लुम्बिनीमा थाइ पर्यटकहरुको सिजन पनि हो। गत वर्ष भन्दा अहिले अलि बढि चहलपहल देखिएको छ।’ लुम्बिनीमा रहेको थाइ गुम्बाले पनि विभिन्न गतिविधि गरिरहेका कारण पर्यटकल आगमन बढेको उनको ज्ञवालीको भनाइ छ।

    पछिल्लो समय मात्र भारतको बोधगयाबाट थाइल्याण्डका भिक्षुहरु पैदल लुम्बिनी आएका छन्। २० जना जति भिक्षुहरु रामग्राम हुँदै लुम्बिनी आएका हुन्। थाइल्याण्डबाट जति पर्यटक आएका छन्। त्यस अनुसारको फाइदा पनि व्यवसायीहरुले लिन नसकेको लुम्बिनी होटल संघका निवर्तमान अध्यक्ष मिथुनमान श्रेष्ठ बताउँछन्। ‘जुन अनुसारले व्यवसायीक फाइदा हुनुपर्ने हो त्यो अनुसार भएको छैन। आएका थाइ पर्यटक मध्ये धेरै गुम्बामा बस्ने गर्दछन्।’ उनले भने ‘भारतबाट आउने भएकाले त्यतैका ट्राभल एजेन्सीले लिएर आउने लुम्बिनी देखाएर सोही दिन फकाउने गर्छन। यसले हामी पर्यटन व्यवसायीहरुलाई सोंचे जस्तो फाइदा हुँदैन।’

    २०२३ मा थाइल्याण्डबाट कुल १५ हजार ७२१ पर्यटक लुम्बिनी आएका छन् । कोभिड अघि सन २०१९ मा २८ हजार ३६४ थाइ पर्यटक लुम्बिनी आएका थिए। गत जनवरीको तथ्यांकले थाइल्याण्डका पर्यटक अझ बढ्न सक्ने अनुमान गरिएको छ।