२०८१ आश्विन २१ गते, सोमबार ११:०६
  • लुम्बिनीमा घटे आन्तरिक पर्यटक

    नजिकका जिल्लाबाट मात्र आउँछन् घुम्न, टाढाबाट न्युन

    लुम्बिनी-बुद्ध जन्मस्थल लुम्बिनीमा ५ वर्ष अघिको जनवरी महिनामा नेपाल भित्रैबाट एक लाख १० हजार ३०० जना घुम्न आएका थिए। यो वर्ष जनवरीमा त्यसको आधा जसो मात्र अर्थात ५५ हजार ९५३ आन्तरिक पर्यटक आएका छन्। कोरोना संक्रमणको कारण २०२० र २०२१ मा लुम्बिनीको पर्यटन क्षेत्र संकटमा परेको थियो।

    तर कोरोनाको प्रभाव हटेको धेरै समय भइसक्दा पनि लुम्बिनीको आन्तरिक पर्यटन आगमन लयमा आउन सकेको छैन। यो वर्षको जनवरी महिनामा आन्तरिक पर्यटक अघिल्लो वर्ष भन्दा पनि कम आएका छन्। २०२३ को जनवरीमा ६२ हजार ५३३ आन्तरिक पर्यटक आएकोमा यो वर्ष सुरुवाती महिनामा साढे ६ हजारले घटेका छन्।

    भारतीय र तेस्रो मुलुकका पर्यटक आगमन केही बढ्दा नेपाल भित्रबाटै लुम्बिनी घुम्नेको संख्यामा सुधार आउन सकेको छैन।
    होटल संघ लुम्बिनीका अध्यक्ष गोबिन्द ज्ञवालीले आन्तरिक पर्यटकमा पनि वरपरका जिल्लाबाट मात्र आइरहेको बताए। अहिले लुम्बिनीका होटलहरुमा आन्तरिक पाहुना नै छैनन्। उनले भने नजिक र वरपरका जिल्लाबाट मात्र घुम्न आइरहेको अवस्था छ।टाढाबाट घुम्न आउने पर्यटक एक दमै न्युन छ।

    आर्थिक मन्दीका कारण व्यवसायीहरु घुम्न कम गरेको ज्ञवालीले बताए। त्यस्तै बुटवल नारायणगढ सडकको दुरावस्थाका कारण पनि आन्तरिक पर्यटकहरु लुम्बिनी आउन नखोजेको उनको भनाइ छ।