२०८१ आश्विन २१ गते, सोमबार ०९:१६
  • धार्मिक, ऐतिहासिक अर्घा, प्राकृतिक रुपमा पनि उत्तिकै सुन्दर

    सन्धिखर्क– अर्घा विगतको बाइसे चौबीसे राज्य मध्येको एउटा राज्य हो। अहिले पनि अर्घामा तत्कालिन राजाको दरबार, भगवतीको मन्दिर रहेको छ। त्यसैगरि दक्षिण एसियाकै ठूलो भगवतीको अर्घाको आकर्षणको रुपमा रहेको छ। धार्मीक र ऐतिहासिक गन्तव्य मात्र नभई अर्घा प्राकृतिक रुपमा पनि रमाउन सकिने ठाउँ हो। अर्घाबाट धौलागिरी, अन्नपूर्ण, माछापुछ्रे लगायतका हिमश्रींखला स्पष्टसँग देख्न सकिन्छ। परपर सम्मका दृष्यहरु यहाँबाट नियाल्न सकिन्छ।

    अर्घा राज्यका सुरुका राजा जिल्ला राई हुन्। जिल्ला राइलाई सिसवनगढबाट आइ राजा भएको जंगबहादुरको पालामा रहेको कागजपत्रमा उल्लेख छ। जिल्ला राइसँगै आएका रामभक्त भुसाल पनि अर्घा आइ महाकाली देबीको पुजारी भइ बसेका थिए।
    रामलाल भुसालको ३६ पुस्तापछि देवीलाल भुसाल पुजारी भएको उल्लेख छ।

    जिल्ला राई पछि उनका केही पुस्ताले अर्घामा राज गरेका थिए। सोही वंसका श्रीतर्फकाले अर्घा राज्यमा राज्य गरिरहेको बेला पश्चिम गढवाल राज्यमा मुसलमानहरुको आक्रमण भयो । त्यहाँका राजा शिवराज शाह भागेर अर्घामा आए। अर्घामा रातमा बास बसेको बेला शिवराज शाहलाई देवीले दर्शन दिइ अर्घाका राजा श्रीतर्फका राईलाई हराएर राज्य गर्नु भन्ने निर्देशन दिइन्। सोही अनुसार अर्घा विजयी गरि शिवराज शाहले राज्य गर्न थालेको इतिहास छ। शिवराज शाहका छोरा मेधासीराज शाह हुन।

    धासीले आँफू जिवीत हुँदा नै जेठा छोरा जयन्तराज शाहलाई अर्घाको राजा बनाए। माहिलो छोरा खड्गराज शाहलाई धुर्कोट र कान्छा विरेन्द्रराज शाहलाई खाची राज्यको जिम्मेवारी दिए। त्यसपछि आँफू चुत्रबेसीमा गइ तपस्या गरि समाधी भएको भएका थिए। तीन भाइ सन्तानले तीन ठाउँमा राज्य गरे।

    जयन्तराज शाहका छोरा अनन्तराज शाहले अर्घाबेसीमा विहार भन्ने ठाउँमा सितकालको लागि बनाएको दरबारको अवशेष मात्र बाँकी छ। अनन्तराज शाहका छोरा धनराजशाहले बनाएको रतुवा भन्ने ठाउँको पोखरीको अंस पनि राजाको पोखरी भन्ने नामले चिनिन्छ। अनन्तराजको केही पुस्तापछि वि सं १८३० मा विरकुमार शाह अर्घाका राज भएका थिए। विरकुमार शाह राजा भएको बेलामा अर्घा राज्य पाल्पामा विलय भएको थियो।

    पहिलो राणा प्रधानमन्त्री जंगबहादुर राणाले पनि अर्घा भगवतीमा आएर साधना गरिसकेपछि शक्तीशाली शासक बनको इतिहास रहेको अर्घा भगवती मन्दिर सञ्चालक समितिका अध्यक्ष सरोज भुसालले बताए।
    प्रत्येक कोजाग्रत पूर्णिमामा अर्घामा मेला लाग्ने गर्दछ। पछिल्लो समय अर्घामा पर्यटकहरु बढिरहेका छन््। बार्षिक ८ लाख जति अर्घा आउने गरेको अध्यक्ष भुसालले बताए।

    जिल्ला बाहिरबाट सन्धीखर्क आएकाहरु प्राय अर्घा दरबार आउने गर्दछन्। दाङमा प्राध्यापन गर्ने डा. सुदीप गौतम अर्घा आउँदा रमाइलो लागेको सुनाए। ‘अर्घा भगवती प्रख्यात भगवती हुनुहुन्छ। उहाँका शक्तीका कुरा पुस्तकहरुमा पढ्न पाइन्छ। पढे अनुसार यो ठाउँ ऐतिहासिक त हो’ उनले भने ‘प्राकृतिक रुपमा पनि रमणीय रहेछ। उचाइको ठाउँमा हिमाली दृष्यहरु हेर्न सकिने। एउटा प्रमुख पर्यटकीय क्षेत्र रहेछ।’

    अर्घामा पछिल्लो समय भारतीय पर्यटकहरु आउने गरेका छन्। तर अर्घामा आवश्यक पर्यटकीय पूर्वाधार अझै नबनेको अग्रज पत्रकार विष्णु भुसाल बताउँछन्। ‘राज्यले पर्यटकीय गन्तव्यको सूचीमा राखेर मात्र पुग्दैन। पूर्वाधार र पहुँच मार्गका निर्माण गरिदिनुपर्छ।’ उनले भने ‘त्यसो भएमा अर्घामा पर्यटकीय सम्भावना प्रचुर छ। यो पवित्र र सुन्दर ठाउामा ठूलो संख्यामा पर्यटकहरु आउन सक्छन्।’