२०८१ आश्विन २१ गते, सोमबार ११:०९
  • खुम्जुङ र ठमिछोवा खुम्बु ल्होसार कपको सेमिफाइनलमा प्रवेश

    काठमाडौं – ‘खुम्बु ल्होसार कप’ फुटबल प्रतियोगीता अन्तर्गत आज भएका खेलमा खुम्जुङ युवा क्लब र ठमिछोवा फुटबल क्लब विजयी सेमिफाइनलमा प्रवेश गरेका छन्। काठमाडौंको सानोगौचरण खेलमैदानमा भएको खेलमा ठमिछोवाले खुन्दे कम्युनिटी क्लबलाई ५-१ गोल अन्तरले पराजित गरेको हो। खेलमा छिरिङ काल्डेन शेर्पा म्यान अफ द म्याच भएका छन्।


    आजै भएको अर्को खेलमा आमाडब्लम युवा क्लबलाई २-० ले पराजित गरि खुम्जुङ युवा क्लब बिजयी भएको छ । दोस्रो खेलको म्यान अफ द म्याच फुरा छिरिङ शेर्पा भएका छन्।

    ‘खुम्बु ल्होसार कप’ प्रतियोगिताको यो १४ औं संस्करणको आयोजना ठमिचो क्षेत्रका दुई संस्थाहरु यम्बु ठमिस्रो किदुग काठमाडौं र उमीछछोवा युवा समूहले संयुक्त रुपमा गरेका हुन्। प्रतियोगिताका बिजेताले खुम्बु ल्होसार कपको रनिङ सिल्ड, मेडल, प्रमाण–पत्रको साथमा नगद एक लाख रुपियाँ, प्राप्त गर्ने छन्। उपविजेताले ५० हजार रुपैयाँ र तेस्रो हुने टिमले २५ हजार रुपैया पाउने छन्। माघ २९ गतेबाट सुरु भएको प्रतियोगिता फाल्गुण ७ गतेसम्म चल्ने छ। ८ दिनसम्म सञ्चालन हुने प्रतियोगितामा जम्मा १६ खेल हुनेछन्। ८ टिम सहभागी छन्।

    शेर्पा समुदायको चाड ल्होसार (नयाँ वर्ष) पारेर विगत १३ बर्षदेखि आयोजना हुँदै आएको यो प्रतियोगीता सोलुखुम्बुस्थित खुम्बु पासाङ ल्हामु गाउँपालिकाको विभिन्न गाउँमा जन्मिएर हाल काठमाडौँमा रहेका युवाहरुबीच हुने र शेर्पा युवाहरुलाई खेलकुदप्रति लगाव बढाउनु, उनीहरुको प्रतिभा प्रदर्शन गर्नु र समुदायलाई जोड्नु यस खेलको उद्देश्य रहेको आयोजकको भनाई छ।