२०८१ आश्विन २१ गते, सोमबार १०:५८
  • बुटवलबाट बेलबास-बेथरी हुँदै लुम्बिनीसम्म चल्ला त बस ?

    बुटवल-बुटवलबाट बेलबास-बेथरी सडक हुँदै लुम्बिनीसम्म बस चलाउन माग उठीरहेको छ। बेलबास बेथरी सडक विस्तारको काम अन्तिम चरणमा छ। चारलेनको यो फराकिलो सडक पर्यटकीय मार्गको रुपमा समेत चिनिन्छ। बुटवल नहरपुरका स्थानियले बेलबास-बेथरी सडक हुँदै लुम्बिनीसम्म बस चलाउन पश्चिम नेपाल बस व्यवसायी प्रा.लि.सँग अनुरोध गरेका छन्।

    बुटवल-११ का वडा सदस्य नकुल शाही नेतृत्वको टोलीले केही दिन अघि प्रा.लि.को कार्यालयमा पुगेर अनुरोध पत्र बुझाएका थिए।
    शाहीले बेलबास बेथरी सडक आसपासमा बढि जनघनत्व भएको भन्दै हुँदै लुम्बिनीसम्म बस सञ्चालन गरेमा चल्न सक्ने बताएका थिए। बस चलेमा स्थानियलाई पनि धेरै सहज हुने उनको भनाइ छ। शाहीले यही सडक हुँदै एयरपोर्ट र बेलहिया सम्म पनि बस सञ्चालन प्रक्रिया अघि बढाउन आग्रह गरे।

    अनुरोध पत्र बुझ्दै पश्चिम नेपाल बस व्यवसायी प्रा.लिका प्रबन्धक सञ्चालक रामचन्द्र भुसालले आफूहरु यो सडकमा बस सञ्चालन गर्न अध्ययन गरिरहेको बताएका थिए। उनले सडक विस्तार छिटो सम्पन्न भए बस सञ्चालन गर्न सजिलो हुने उल्लेख गरे।

    बुटवलबाट लुम्बिनी छैन सिधा सार्वजनिक यातायात

    बुद्ध परिपथसँग कुरा गर्दै प्रा.लि.का प्रबन्ध सञ्चालक भुसालले बेलबास-बेथरी हुँदै लुम्बिनी बस सञ्चालन गर्दा सुरुवातमा खर्च नउठ्ने बताए। तर आँफूहरु घाटामा गएर भएपनि बस सञ्चालनको प्रयास गरेको जानकारी दिए। ‘यो सडकमा यातायात सञ्चालन गर्न हामीले अध्ययन गरिरहेका छौं। लुम्बिनी पुगेर आउँदा खर्च उठ्दैन कि जस्तो लाग्छ।’ उनले भने ‘हामीले अलि अलि घाटामा गएर भएपनि बस सञ्चालन गर्ने पक्षमा छौं। कम्तीमा विहान र बेलुका कार्यालय समयमा चलाएर सुरुवात गर्ने कि भन्ने विचार गरिरहेका छौं।’

    बुटवल उपमहागरपालिका १७ रानीगञ्जकी रमा पौडेल मायादेवी गाउँपालिकामा कार्यरत छिन्। बुटवलबाट बेलबास बेथरी सडक हुँदै सार्वजनिक यातायत सञ्चालन हुँदा धेरै कर्मचारी लाभाम्वीत हुने पौडेलले बताइन्। ‘सियारी र मायादेवी गाउँपालिका अनि लुम्बिनी संस्कृतीक नगरपालिकासम्मका कर्मचारी र शिक्षकहरुले यो सडक ओहोर दोहोर गर्नुपर्छ।’ उनले भनिन् ‘अहिले जसोतसो आफ्नो साधनबाट यात्रा गरिएको छ। नियमीत बस चल्यो भने थुप्रै कर्मचारी शिक्षक सहित स्थानियहरुलाई पनि फाइदा हुन्थ्यो।’

    पश्चिम नेपाल बस व्यवसायी प्रा.लिका प्रबन्ध सञ्चालक रामचन्द्र भुसालले सडक अन्तर्गत केही ठाउँमा जनघनत्व कम भएको र धेरै मान्छेहरु निजी सवारी साधन प्रयोग गर्ने भएकाले केही गाह्रो हुने बताए। विगतमा पनि बुटवलबाट भैरहवा हुँदै र रामापुर हुँदै लुम्बिनी बस सञ्चालन गरेको तर यात्रु नभएर निरन्तरता दिन नसकेको भुसालको भनाइ छ। तर बुटवलबाट लुम्बिनी जाने राम्रो र छोटो बाटो पनि भएकाले भविश्यलाई हेरेर बेलबास-बेथरी सडकमा बस चलाउने प्रयास गरेको भुसालले जानकारी दिए।