२०८१ आश्विन २१ गते, सोमबार ११:०८
  • तानसेनमा फागुन १९ गतेबाट पर्यटन, उद्योग र व्यापार महोत्सव हुँदै

    पाल्पा – पाल्पाको तानसेमा फागुन १९ गतेबाट महोत्सव सुरु हुने भएको छ। तानसेनको टुँडिखेलमा फागुन १९ गते देखि २९ सम्म रोजगार पर्यटन उद्योग र व्यापार महोत्सव २०८० हुन लागेको हो। तानसेन नगरपालिकाको मुख्य आयोजना, पर्यटन विकास परिषद् , लुम्बिनी प्रदेश वन तथा वातावरण, पर्यटन तथा खानेपानी मन्त्रालय को सह आयोजना तथा राजधानी राइट्स नेपाल काठमाण्डौको व्यवस्थापनमा महोत्सव हुन लागेको हो।
    पाल्पालाई कृषि ,रोजगार, पर्यटन तथा व्यापारमा सम्भावनायुक्त स्थान हो भन्ने बनाउन महोत्सवको आयोजना गर्न लागिएको तानसेन नगरपालिकाको मेयर सन्तोषलाल श्रेष्ठले बताए।

    तानसेन नगरपालिकाको वार्षिक नीति तथा कार्यक्रम अनुसार पर्यटन र कृषिको माध्यमबाट रोजगारको पहिचान र सृजना तथा आन्तरिक राजस्वको प्रवर्द्धनका लागि प्रथम एतिहासिक महोत्सव आयोजना गर्न लागिएको नगरपालिकाको प्रवक्ता यादव सिंह कार्कीले जानकारी दिए। महोत्सवको माध्यमबाट यस क्षेत्रमा उत्पादित कृषिजन्य बस्तुको प्रचार प्रसार, गर्दै उत्पादक र उपभोक्ताहरुको मध्यस्तता को कम गर्दै कृषि वाली बाट उत्पादित ताजा तरकारी, फलफूल,अन्नबाली, पशुपंछी पालन , माछा,च्याउ जडिबुटी आदिको स्टल हरू रहने छन्। यस्तै पाल्पाली ढाका,करुवा जस्ता कुटीर उद्योग हरूलाई झल्काउने स्टल हरू पनि रहनेछन्।

    महोत्सवमा ३ सय बढी स्टल रहनेछन् । जस मध्ये ५० वटा कृषि, पशु,घरेलु उधोगबाट उत्पादित बस्तुको निशुल्क स्टल रहने तानसेन नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत जीवन ज्ञवालीले बताए। महोत्सवको ३ लाखले अवलोकन गर्ने र १० करोड बढिको कारोबार हुने अपेक्षा गरिएको छ।