२०८१ आश्विन २१ गते, सोमबार ११:०२
  • भैरहवाबाट अन्तर्राष्ट्रिय उडान गर्ने जहाजलाई इन्धनको मूल्यमा छुट दिने तयारी

    भैरहवा-भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गर्ने जहाजलाई हवाइ इन्धनको मुल्यमा छुट दिने तयारी भएको छ। उद्घाटन भएको डेढ वर्ष भन्दा बढि भइसक्दा पनि भैरहवाबाट नियमित अन्तराष्ट्रिय उडान हुन सकेको छैन।

    बायुसेवा कम्पनीहरुलाई आकर्षित गर्न हवाइ इन्धनको मुल्यमा पनि छुट दिने तयारी भइरहेको नेपाल नागरिक उड्यन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले बताए। ‘भैरहवा आउने जहाजलाई इन्धनमा पनि छुट दिन पर्छ कि भन्ने बारे छलफल अघि बढेको छ।’ उनले भने ‘तेल दिने नेपाल आयल निगमले हो। पर्यटन मन्त्रालय मार्फत हामीले निगमलाई अनुरोध गर्ने तयारीमा छौं।’

    हाल हवाइ इन्धनको मुल्य आन्तरिक तर्फ १३६ रुपैया प्रतिलिटर र अन्तर्राष्ट्रिय उडान तर्फ १.०३५ डलर प्रतिलिटर रहेको छ। पेट्रोल, डिजेल र मटितेलको मुल्य काठमाडौँ भन्दा भैरहवामा प्रतिलिटर ३ रुपैया सस्तो छ। ढुवानी भाडाका आधारमा काठमाडौँ र भैरहवामा मूल्य फरक फरक रहेको हो। तर हवाइ इन्धनको मुल्य भने काठमाडौँ र भैरहवामा एउटै छ।

    भैरहवामा हवाइ इन्धनको मुल्य कम गर्ने कुरामा निगमले पनि दायित्व सम्झनुपर्ने प्राधिकरणका प्रवक्ता निरौलाले बताए। ‘काठमाडौँमा तेल ल्याउँदा ढुवानी खर्च लाग्छ। त्यसका आधारमा भैरहवा आउने जहाजलाई इन्धनको मुल्य घटाएमा बायु सेवा कम्पनीहरुलाई राहत हुन्छ।’ उनले भने ‘इन्धनमा राहत हुने वित्तीकै टिकटमा कम पर्न जान्छ र यात्रुलाई सहज हुन्छ।’

    नेपाल आयल निगम पनि सरकार मातहतको निकाय हो। सरकारले नै बनाएको अन्तराष्ट्रिय विमानस्थललाई सुरुमा प्रवद्र्धन गर्न आयल निगमले मुनाफा नलिएर हवाइ इन्धन उपलब्ध गराउँदा राम्रो हुने प्राधिकरणका निरौलाको भनाइ छ। हाल भैरहवाबाट उडान गर्ने जहाजले अहिले भैरहवा आउने जहाजले अवतरण, पार्किङ, सञ्चार तथा र सुरक्षा जाँच शुल्कमा छुट पाउने गरेका छन्।