२०८१ आश्विन २१ गते, सोमबार ११:०५
  • बुटवलको समपुरक योजना: नुवाकोट पुग्न परम्परा झल्किने पदमार्ग निर्माण गरिने

    जितगढीसँगै तिनाउ किनारमा आरती केन्द्र बनाइने

    बुटवल-बुटवल उपमहानगरपालिकाले नुवाकोट पदमार्गलाई आगामी योजनाकोे प्राथमिकतामा राखेको छ। वडा नम्बर १ मा रहेको बुटवल माविदेखि ऐतिहासिक नुवाकोट गढी सम्म पुरानो परम्परा झल्किने गरि पदमार्ग निर्माण गर्न लागिएको उपमहानगरले जनाएको छ।

    उपमहानगरपालिकाको पछिल्लो कार्यपालिका बैठकले आगामी आर्थिक वर्ष २०८१ /०८२ का लागि संघीय समपूरक अनुदान र विशेष अनुदानका योजना छनोट गरेको छ। समपुरक अन्तर्गत नुवाकोट पदमार्गको लागि ५ करोडको योजना छनोट गरि उपमहानगरले राष्ट्रिय योजना आयोगमा पठाएको हो।

    बुटवल उपमहानगरपालिकाबाट कम्तीमा ५० प्रतिसतको लागत सहभागीताको सुनिश्चितता रहने प्रतिबद्धता सहित योजना छनोट गरि पठाएको कार्यपालिकाको निर्णयमा उल्लेख छ। बुटवलबाट केही उचाइमा रहेको नुवाकोटमा ऐतिहासिक स्थल हो । दुई सय वर्ष अघि जितगढीमा नेपाल अंग्रेज युद्ध हुँदा नुवाकोट गढी युद्धको रणनीतिक केन्द्र थियो ।

    त्यसै विगतमा गुल्मी, अर्घाखाँची, पाल्पा, स्याङ्जा, पर्वत, बाग्लुङ लगायतका जिल्लाबाट मानिसहरु बटौलीमा किनमेल गर्न आउँथे। नुवाकोट भएर नै आफूहरु पैदल बटौली आउने पाकापुस्ता बताउँछन्। बुटवलबाट नुवाकोट यस अघि नेपाली सेनाले पदमार्ग बनाएको थियो।

    पदमार्गमा विगतको अवस्था झल्काउने गरि आकर्षण बनाइने बुटवल १ का वडाध्यक्ष नरेन्द्र बस्नेतले जानकारी दिए । ‘पदमार्गमा भरियाहरु भारी विसाएर बसेको, कतै चिया र कतै फलफूल बेचेको प्रतिकहरु राखेर परम्परागत बनाउन लागिएको हो ।’ उनले भने ‘नुवाकोट घुम्न जानेहरुले फरक अनुभव गरुन भनेर पदमार्ग आकर्षक बनाउन खोजिएको हो ।’

    समपुरक योजना अन्तर्गत बुटवलको जितगढीको पर्यटकीय विकास र आरती केन्द्र निर्माणको लागि ५ करोडको योजना तय गरिएको छ । जितगढी किल्ला पूर्व तिनाउ किनारमा आरती केन्द्र बन्ने वडाध्यक्ष बस्नेतले बताए। बटौली युद्ध संग्रालय इन्टेरियर व्यवस्थापनको लागि १० करोडको प्रस्ताव गरिएको छ। तत्कालिन बुटवल नगरपञ्चायतको कार्यालय रहेको स्थानमा नयाँ भवन बनाएर युद्ध संग्रालय बनाइएको छ । संग्रालयमा हतियार लगायतका अन्य कुराको व्यवस्थापन गर्न लागिएको उपमहानगरले जनाएको छ।