२०८१ मंसिर ७ गते, शुक्रबार १७:१२
  • रेसुङ्गा क्षेत्रमा थप ५ प्रजातिका चरा भेटिए

    गुल्मी -जिल्लाको रेसुङ्गा वन क्षेत्रमा थप पाँच प्रजातिका चरारहरु फेला परेका छन्। पंक्षी संरक्षण गुल्मीले जिल्लाको रेसुङ्गा क्षेत्रमा चरासम्बन्धी अध्ययन गर्दै आएको छ। जस अनुसार पछिल्लो पटक गरिएको अध्ययनमा कोटेरो मुनियाँ, तिलहरी चरा, चखेवाचखेवी, चञ्चले सुड्सुडिया, टुइँसी सुगा फेला परेको नेपाल पंक्षी संरक्षण संघ गुल्मीका परियोजना अधिकृत भरत पन्थीले बताए।
    नेपालमा पाइने ८८६ प्रजातिका चरामध्ये रेसुङ्गा क्षेत्रमा ३५ प्रतिशत पाइन्छन् । रेसुङ्गामा २५८ प्रजातिका चरा पाइने पंक्षी संरक्षण संघले जनाएको छ । यसअघि २५३ प्रजातिका चराहरु फेला परेका थिए । रेसुङ्गा क्षेत्रमा विश्वकै दुर्लभ चराहरु चीर, रणमत्त महाचील, सेतो गिद्ध, सुन गिद्ध, गोमायु महाचील, डंगर गिद्ध रहेका छन्। रेसुङ्गा धार्मिक, ऐतिहासिक पर्यटकीय क्षेत्रसँगै चरा अवलोकनका लागि उत्कृष्ट गन्तव्य बन्दै गएको छ । चरासम्बन्धी अध्ययन गरिरहेको नेपाल पंक्षी संरक्षण संघ गुल्मीले तयार गरेको रेसुङ्गा वन संरक्षण क्षेत्रमा पाइने चराहरुको पुस्तक विमोचन गरिएको हो ।
    पुस्तक विमोचन गर्दै रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले रेसुङ्गा क्षेत्रको विकास हुनु जिल्लाकै निम्ति गौरव रहेको बताए। पंक्षी संरक्षण गुल्मीले जिल्लाको रेसुङ्गा क्षेत्रमा चरासम्बन्धी अध्ययन गर्दै आएको छ। पुस्तकमा त्यस क्षेत्रमा पाइने चराहरु र त्यहाको अबस्थाको बारेमा उल्लेख गरिएको छ। रेसुङ्गा क्षेत्रमा नेपालकै लोपउन्मुख प्रजातिका चराहरु फेला परेता पनि त्यसको संरक्षणमा सबै पक्षको सहयोगको खाचो रहेको नेपाल पंक्षी संरक्षण संघ गुल्मीका परियोजना अधिकृत पन्थीले बताए।