२०८१ आश्विन २१ गते, सोमबार ०९:१२
  • पोखरा जाने १० प्रतिसत पर्यटकलाई बसाल्न सके पाल्पाको पर्यटनमा ठूलो क्रान्ति हुनेछ (अन्तर्वार्ता)

    ‘पर्यटन प्रवर्द्धन र कृषि उत्पादनको बजारीकरणको लागि महोत्सव आयोजना गरेका हौं’

    पाल्पामा शनिवारदेखि तानसेन महोत्सव सुरु हुँदै छ। तानसेन नगरपालिकामा टुडिँखेलमा सञ्चालित महोत्सव २९ गतेसम्म सञ्चालन हुनेछ। परम्परागत सिप, स्थानिय उत्पादन र पर्यटनको प्रवद्र्धन गर्ने उदेश्यले महोत्सवको आयोजना गरिएको हो। तानसेन महोत्सव र पाल्पाको पर्यटनका बारेमा हामीले तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठसँग कुराकानी गरेका छौं।

    नगरपालिकाबाट तानसेन महोत्सवको आयोजना गर्नुभएको छ। महोत्सवको उदेश्य के हो ?

    तानसेन नगरपालिकाले यही फागुन १९ गतेदेखी २९ गतेसम्म महोत्सव गर्दै छ। यहाँको पर्यटन प्रवद्र्धन र विकास, कृषि उत्पादनको बजारीकरणको लागि महोत्सव आयोजना गरेका हौं। नगरपालिकाले विभिन्न क्षेत्रमा लगानी गरेको छ। कृषि, शिक्षा स्वास्थ्य, पर्यटन, कुटीर उद्योगमा लगानी गरेका छौं। ढाका र करुवा पाल्पाको पहिचान हो। यसबाट हामीले कति उपलब्धी गर्यौं। यहाँका नागरिक उद्योगपति व्यवसायीहरुलाई कति सुविधा दिन भन्ने कुरा पनि छ। यहाँका उत्पादनको बजारीकरणको लागि सुसुचित गर्ने हाम्रो उदेश्य हो । महोत्सव मार्फत बजारीकरणमा सघाउ पुर्याउने छ विश्वास लिएका छौ ।

    पाल्पा पर्यटकीय शहर हो, यहाँको पर्यटन प्रवद्र्धनमा महोत्सवले कसरी सघाउ पुर्याउँछ ?
    हाम्रो ट्याक अन्तर्गतको पर्यटन समिति पनि छ। त्यसले पाल्पामा भएका विभिन्न पर्यटकीय स्थलको प्रदर्शनी पनि गर्छ, ब्रोसरहरु निकाल्छ, प्रचार प्रसार गर्छ। त्यसबाट महोत्सवको अवसरमा यहाँ आउने पर्यटकहरुलाई पनि पाल्पामा कहाँ कुन कुन क्षेत्रमा जाने भन्ने जानकारी हुन्छ। यहाँका पर्यटकीय गन्तव्यहरुको प्रचार प्रसार पनि हुन्छ भन्ने आशा राखेका छौं।

    आन्तरिक पर्यटनमा पाल्पा राम्रो गन्तव्य हो, पछिल्लो समय भारतीय पर्यटकहरुको आगमन पनि बढिरहेको छ। भारतीयसँगै तेस्रो मुलुकका पर्यटकहरुलाई थप आकर्षित गर्ने के के योजना छ?
    बेलहिया नाकाबाट सिद्धार्थ राजमार्ग भएर भारतीयहरु पोखरा जाने लहर चलेको छ। त्यसको १० प्रतिसत मात्र तानसेनमा बसाल्न सकियो भने हामीले यहाँको पर्यटन क्षेत्रमा ठूलो क्रान्ति भएको मान्ने र्छौ। त्यसैको लागि यहाँका पर्यटकीय स्थलको प्रवद्र्धन र प्रचार प्रसारको कार्यक्रम गर्दै आएका छौं। पाल्पामा तेस्रो मुलुकका पर्यटकहरुलाई पनि आकर्षित गर्ने योजना बनाएका छौं। त्यसको लागि महोत्सवले सघाउ पुर्याउँछ भन्ने विश्वास लिएका छौं।

    पाल्पाको पर्यटन विकासमा यहाँको निजी क्षेत्र र व्यवसायीहरुको भूमिका के हुन्छ। नगरपालिकाको नीजि क्षेत्रसँगको सहकार्य कस्तो हुन्छ?
    यहाँका दरबार स्क्वायरसँगै अन्य सम्पदाहरुको पर्यटकीय विकास गर्ने, विभिन्न गन्तव्यहरुको पहिचान दिने हाम्रो काम हो। नगरपालिका र सरकारले गन्तव्यहरुको सौन्दर्यता बढाउने, भगनावशेष छ भने पुनर्निर्माण गर्ने, पूर्वाधारको विकास गर्ने काम गर्दछ। आएका पर्यटकलाई बासको व्यवस्थ गर्ने, होटलमा राम्रो सेवा सुविधा प्रदान गर्ने, यातायातको व्यवस्था गर्ने काम निजी क्षेत्रले गर्नुपर्छ। निजी क्षेत्रले पर्यटकहरुलाई ट्रेकिङको काम पनि निजी क्षेत्रबाट हुनुपर्छ। पाल्पाको पर्यटकीय विकासमा नगरपालिका र निजी क्षेत्रबीच सहकार्य गरेर अघि बढ्नेछौं।

    तानसेन महोत्सवपछि पाल्पाको पर्यटन क्षेत्रमा केही परिवर्तन होला?
    यहाँ विभिन्न गन्तव्यहरु छन्। रानीमहल, रुरु क्षेत्र, रणउजेश्वरी भगवतीको मन्दिर, अमरनाथको मन्दिर लगायत धार्मिक स्थलहरु छन्। प्राकृतिक सौन्दर्यमा आधारित श्रीनगर डाँडा छ। त्यहाँबाट मनोरम हिमश्रींखलाहरु हेर्न सकिन्छ। त्यस्तै गुफाचौर, सिद्धगुफा लगायत लुकेर बसेर रहेका गन्तव्यहरुको पनि प्रचारप्रसार र प्रवद्र्धन गर्न जरुरी छ। म्होत्सव मार्फत ति ठाउँहरुको पनि प्रचार प्रसार हुने छ। महोत्सव मार्फत एक प्रकारले पाल्पा जाऔं भन्ने अभियान चल्ने छ। ति ठाउँको प्रसार प्रसारले आन्तरिक र बाहय पर्यटकलाई बृद्धि हुन्छ भन्ने हाम्रो ठहर छ।