२०८१ आश्विन २१ गते, सोमबार ११:०३
  • तानसेनमा विदेशी पाहुना भित्र्याउन पर्यटकीय वातावरण निर्माण र स्तरिय होटल थपिनुपर्छ

    लक्षमण बस्याल

    पाल्पाको तानसेन सुन्दर, शान्त र सुरक्षित शहर हो। पर्यटकीय गन्तव्यको हिसाबले नेपालकै उत्कृष्ठ शहर मानिन्छ। पारिवारिक वातावरणदेखी साथीभाइ रामाइलो गर्न र घुम्न यहाँ पर्याप्त ठाउँ छन्। तानसेनमा सबै खालका गन्तव्य एकै ठाउँमा छ। धार्मिक, कला संस्कृतीदेखि लिएर इतिहास बोकेको ठाउँहरु यहाँ छन्। प्राकृतिक रुपमा पनि उत्तिकै सुन्दर छ।

    ऐतिहासिक पाल्पा दरबार, भगवती मन्दिर, अमर नारायण मन्दिर, केही पर रानीमहल, भैरबस्थान, ऋषिकेश मन्दिर जस्ता यती धेरै ठाउँ एउटै शहर भित्र भएको नेपालमा कमै होला। गर्मी मौसमको लागि पनि सहज तरिकाले पुग्न सकिने पाल्पा उत्कृष्ठ गन्तव्य हो। बुटवल र पाल्पाको दुरी ४० किलोमिटर मात्र छ। गर्मीमा यहाँ धेरै सितल हुन्छ। कुनै बेला तनहुँको बन्दिपुर हामी भन्दा पछि थियो। अहिले अघि बढेको छ। आशा छ विस्तारै पाल्पाको पर्यटनले पनि गति लिने छ।

    पाल्पामा गत वर्षदेखि भारतीय पर्यटकहरुको आगमन बढेको छ। केही मात्रामा तेस्रो मुलुकका विदेशी पर्यटकहरु पनि आउन थालेका छन्। पहिले त खासै देखिन्थेनन्। अहिले चाँही बुकिङ डटकम मार्फत अलिअलि विदेशी पर्यटक पनि आउन सुरुवात भएको छ। पछिल्लो समयमा नेदरल्याण्ड, अष्ट्रेलिया, क्यानडा बेल्झियामबाट घुम्न आउनुभएको थियो। तेस्रो मुलुकका पर्यटन आगमन सुरुवात भएको छ। तर जति हुनुपर्ने हो अपेक्षाकृत रुपमा छैनन्।

    सुन्दर र सम्भावना हुँदा हुँदै पनि पाल्पामा अझै पर्यटकीय वातावरण बनेको छैन। पर्यटकीय वातावरण निर्माण र तेस्रो मुलुकका पर्यटक आकर्षित गर्न हामीले केही काम गर्नुपर्छ। म होटल एशोसिएनको अध्यक्ष भएपछि हामीले पर्यटन निती बनाउनुपर्छ भनेर भनेका छौं। स्थानिय सरकारलाई हामीले अवधारणाहरु बुझाएका छौ। विदेशी पर्यटकको आकर्षित गर्नको लागि सूचना र प्रचार प्रसारमा केन्द्रीत हुनुपर्छ। पाल्पा विश्वका पर्यटनको सूचीमा पाल्पा अलि कम्जोर भए जस्तो लाग्छ। त्यसको लागि प्रचार-प्रसार र प्रद्र्धनमा जोड दिनुपर्छ।

    पर्यटन प्रवद्र्धनको लागि सबै भन्दा पहिले भएका पर्यटकीय गन्तव्यहरुलाई राम्रोसँग व्यवस्थापन गर्नुपर्छ। श्रीनगर डाँडाको कुरा गर्दा त्यहाँको व्यवस्थापनमा हामी कम्जोर नै छौं, त्यसलाई सुधार गर्नुपर्छ। रानीमहलमा पर्यटक भुलाउने वातावरण अझै बनेको छैन्। अहिलेको पर्यटकले खोज्ने कुराहरुलाई पनि हामीले ध्यान दिनुपर्छ। त्यस्तै रानीमहलमा व्यवस्थीत पार्किङ, सौचालयहरुको व्यवस्थापनहुन सकेको छैन। रानीमहल भित्र गएपछि दरबारको अनुभुती हुनुपर्ने हो, यो हुन सकेको छैन।

    यहाँ भएका पर्यटकीय गन्तव्यहरुलाई व्यवस्थापन गर्ने र प्रचारप्रसारलाई व्यापकता दिनुपर्छ। त्यस्तै तानसेनमा साप्ताहिक रुपमा सांस्कृतिक कार्यक्रमहरु गर्न सक्यो भने यहाँको पर्यटनमा एउटा सन्देश दिन्छ। पाल्पामा साना ठूला गरेर सय भन्दा बढि होटलहरु छन्।

    प्रतिदिन ५ सय रुपैयामा खाएर सुत्ने कोठादेखि १० हजारसम्मका कोठा भएका होटल पाल्पामा छन्। साधारण बसाइ गर्न पनि मिल्नेदेखि लक्जरी सुविधासहितको होटल छन्। पाल्पामा स्तरिय होटल खुल्न थालेको ४–५ वर्ष भयो। यहाँ आठ १० वटा स्तरिय होटलहरु छन्। यती मात्र पर्याप्त छैन। राष्ट्रिय स्तरका ठूला कार्यक्रम गर्ने स्तरिय हल र होटलको भने अझै अभाव छ। पर्यटकीय वातावरण निर्माण भयो र स्तरिय होटलहरु थपिएमा पाल्पाको पर्यटन आगमन अझै बढ्न सक्छ।

    (कुराकानीमा आधारित)