२०८१ आश्विन २१ गते, सोमबार ११:०३
  • मन्त्री पन्थी सहितको टोलीद्धारा कपिलबस्तुका बुद्धस्थलको अवलोकन

    कपिलबस्तु लुम्बिनी प्रदेश सरकारका स्वास्थ्यमन्त्री विष्णु पन्थी र लुम्बिनी विकास कोषको टोलीले विहिबार कपिलबस्तुमा रहेका बुद्धस्थलहरुको अवलोकन गरेको छ । कपिलबस्तुको तिलौराकोट दरबार क्षेत्र, निग्लिहवा, सगरहवाको अवलोकन गरेको हो । टोलीमा बुद्धस्थलको विकास तथा त्यससँग जोडेर पर्यटन प्रवद्र्धन गर्ने उदेश्यले मन्त्री सहितको टोलीले बुद्ध स्थलको स्थल अवलोकन गरेको लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई सिद्धिचरण ले जानकारी दिए ।

    कपिलबस्तु निर्वाचन क्षेत्र नम्बर १ ‘क’ बाट निर्वाचित सांसद समेत रहेका मन्त्री पन्थीले गौतम बुद्धको घर नै कपिलबस्तु भएकाले यहाँका बुद्धस्थलको संरक्षणसँगै प्रवद्र्धन गर्ने गरि अन्य विकास गर्ने गरि योजना बनाउन विभिन्न क्षेत्रको अवलोकन गरेको बताए । उनले संघीय, प्रदेश र स्थानीय सरकार, लुम्बिनी विकास कोष र अन्र्तराष्ट्रिय दातृ निकायलाई जोडेर कपिलबस्तुका बुद्धस्थल क्षेत्रमा पर्यटन पूर्वाधार बनाउन पहल थालिएको जानकारी दिए। मन्त्री पन्थीले कपिलबस्तुमा विश्वकै ठूलो बुद्धमूर्ती स्थापना गरिने बताए ।

    उक्त टोलीमा बुद्धमूर्ती स्थापना गर्ने दातृ निकाय वल्र्ड बुद्धिष्टि रिलिजन एसोसिएशनका उपाध्यक्ष चेङ की सेङ्जको समेत उपस्थिती थियो । एसोसिशनले कपिलबस्तुमा विश्वकै ठूलो बुद्धमूर्ती स्थापनाको प्रस्ताव ल्याएको छ ।

    उक्त प्रस्तावपछि मन्त्री सहितको टोलीले कपिलबस्तु नगरपालिका वडा न। ९ स्थित बाणगंगा नदी उकास क्षेत्र जर्लैया सम्भावित बुद्धमूर्ती स्थल हुनसक्ने भन्दै देखाइएको छ । नदी उकास क्षेत्रको अवलोकनअघि कपिलबस्तु नगरपालिकाका नगरप्रमुख सुदीप पौडेलसँग छलफल गरिएको थियो। त्यस्तै जगदीशपुर तालको समेत अवलोकन गरिएको थियो । सगरहवामा फागुन २३ गतेदेखि गर्न लागिएको कपिलबस्तु राष्ट्रिय मूर्तीकलाका कार्यशला तयारीको सम्बन्धमा पनि लुम्बिनी विकास कोषले जानकारी लिएको छ ।

    मन्त्री पन्थी सहित लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराई, कोषका पूरातात्व विभागका प्रमुख हिमाल उप्रेती, कपिलबस्तु नगरपालिका वडा न। ९ का वडाअध्यक्ष दीपक गुरुङ, वल्र्ड बुद्धिष्टि रिलिजन एसोसिएशनका उपाध्यक्ष चेङ की सेङ्ज, कोषका कपिलबस्तु शाखा प्रमुख माधवप्रसाद आचार्य, पत्रकार भेषराज पाण्डे लगायतको उपस्थिती रहेको थियो ।