२०८१ आश्विन २१ गते, सोमबार १३:१४
  • ‘स्वर्गीय बाबु छिरी शेर्पा स्मारक ओपन स्पोर्ट क्लाइम्बिङ’ सुरु

    काठमाडौं – ‘स्वर्गीय बाबु छिरी शेर्पा ओपन स्पोर्ट क्लाइम्बिङ’ प्रतियोगिता सुरु भएको छ।  काठमाडौंकाे
    बौद्धस्थित क्रिम्पान्जी एड्भेन्चर हबमा  प्रतियोगिता सुरु भएकाे हाे।

    प्रतियाेगिताकाे उद्घाटन गर्दै सोलुदुधकुण्ड नगरपालिका नगर प्रमुख नाम्गेल जाङबु शेर्पाले पर्यटन क्षेत्रमा यो खालको कार्यक्रमले महत्त्वपूर्ण योगदान दिएको बताए। याे प्रतियोगिताले स्वास्थ्यको क्षेत्रमा मात्र नभएर भौतिक विकासको लागि पनि सहयोग पुराउने उनकाे भनाइ छ।  ‘अगामी दिनमा यस्ता खालका प्रतियोगिताहरुले निरन्तरता पाओस्। त्यसका लागि स्थानीय निकाय र राज्यको तर्फाबाट पनि हामीले अहिलेका पुस्ताहरुमा जुन खालको क्रेज छ, त्यसको महत्वलाई बुझेर सहयोग गर्दै जानुपर्छ।’  नगर प्रमुख शेर्पाले भने।

    प्रतियोगितामा पुरुष २६ र महिला १५ जनाको सहभागीता रहेको छ। प्रतियोगिता पर्वतीय खेलकुद संघ र सगरमाथा आरोही संघले संयुक्त रूपमा आयोजना गरिएको हो ।
    पर्वतीय खेलकुद संघका अध्यक्ष ङवाङ नीमा शेर्पाले प्रतियोगिताले साहसिक खेलकुद उद्योगमा सकारात्मक प्रभाव पार्ने तथा सहभागीहरूका कारण नेपालमा खेलकुद आरोहण विकासको अनुभव बढाउने लक्ष्य राखेकाे बताए।

    सगरमाथा आरोही संघकी अध्यक्ष माया शेर्पाले ‘स्वर्गाीय बाबु छिरी शेर्पा’ विश्व कीर्तिमानी आरोही भएको र उनको योगदान स्मरणीय हुनुपर्ने बताइन्। ‘कीर्तिमानी आरोहीलाई विर्सने क्रम बढेकाले स्मरण योग्य बनाउन हालसम्म प्रतियोगिताहरु पनि नभएको हुनाले उहाँको सम्झनामा गर्न लागिएको हो’ उनले भनिन। संघकी अध्यक्ष शेर्पाले प्रतियोगिता हरेक वर्ष निरन्तर रुपमा आयोजना गर्ने बताइन्।
    ‘बाबु छिरी शेर्पाको सालिक र संग्रहालय बनाउन संघका पूर्व अध्यक्ष लगायतको योगदान भएकोले हालसम्म संघले नै रेखदेख गर्दै आइरहेको छ’, उनले थपिन्।

    प्रतियोगीतालाई नेपाल राष्ट्रिय पर्वतारोहण पथ प्रदर्शक संघले प्राविधिक सहयोग (रुट सेटिङ, जजिङ, सुरक्षा, र बेले सर्भिस) प्रदान गरेको छ। उक्त प्रतियोगिता पुरुष र महिलाहरुबीच छुट्टाछुट्टै आयोजना हुदै छ भने प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमस नगद पुरस्कार पचास हजार, तीस हजार र पन्ध्र हजार प्रदान गरिने छ। प्रतियोगिताको मुख्य निर्णायक छिरिङ जाङबु शेर्पा, निर्णायक ज्याम्चाङ भोटे, निर्णायक पिम्बा तेन्जिङ शेर्पा रहेका छन्।

    स्व. बाबु छिरी शेर्पालाई अहिलेसम्मकै महान पर्वतारोही मानिन्छ। १० औं पटक सगरमाथा शिखर चुमेका (चार पटक चीन तर्फबाट सहित) शेर्पा हिमालका सबैभन्दा बलिया आरोही एवं विश्वका प्रशिद्ध पर्वतारोहीका रूपमा चिनिन्छन्।

    वसन्त ऋतृमा अक्सिजन बिना सगरमाथा शिखरमा २१ घण्टा भन्दा बढी समय बिताए ९अझै पनि रेकर्ड कार्यम नै रहेको० र १६ घण्टा ५६ मिनेटमा दक्षिण तर्फबाट सगरमाथा छिटो आरोहण गरी उनले सगरमाथामा दुई विश्व कीर्तिमान राख्न सफल भएका थिए। सन् २००१ अप्रिल २९ तारिखका दिन सगरमाथा ११ औं पटक आरोहण गर्ने प्रयास गर्दा बाबुछिरि शेर्पाको निधन भएको थियो ।