२०८१ आश्विन २१ गते, सोमबार ११:०७
  • पाल्पामा बार्दली सहित मौलिक शैलीको बनबाटिका होटल

    तानसेन- पाल्पाको तानसेन नगरपालिका- ७ मा नेपाली मौलिक नेपाली सैलीको आकर्षक भवन छ। सिद्धार्थ राजमार्ग अन्तर्गत प्रभासको उकालो चढेपछि बर्तुङ नआउँदै तानसेन बजारको दृष्य देखिने ठाउँमा मौलिक सैलीको भवनमा सञ्चालित होटल देख्न सकिन्छ। बजारको कोलाहल नभएको स्थानमा रहेको बनबाटिका होटल एण्ड रेष्टुरेण्टले सडकमा यात्रा गर्ने धेरैको ध्यान खिचेको हुन्छ। ३ तला यो घरमा बुट्टेदार झ्याल ढोकाहरु र बार्दली सहितको फराकिलो भवनमा बनबाटिका होटल रहेको छ। छाना माथि भवनको बीचमा मन्दिरको स्वरुप पनि रहेको छ।

    १० वर्ष अघि नारायण पाण्डेले मौलिक सैलीको होटल सञ्चालनमा ल्याएका हुन्। ‘मलाई पुरानो सैली मन पर्छ। म जस्तै अरुलाई पनि यस्तै मन पर्छ, यसमा आकर्षण बढ्छ भन्ने लाग्यो।’ उनले भने ‘त्यसैले २०७० सालमा यहाँ होटल सुरु गरे। खर्च बढि लाग्ने भएकाले बाहिर मात्र कलात्मक झ्याल ढोका राखेको हो।’ काठमाडौँबाट कालिगढ बोलाएर पाण्डेले बुट्टेदार कलात्मक झ्याल ढोका बनाउन लगाएका हुन्।

    घरको घित्र पट्टी पनि बार्दली सहितको ठाउँ छ। बारतलीमा पुराना सामाग्री डोको, डालो लगायतका सामाग्री झुण्डाइएको छ। घरको भित्तामा सारङ्गी, ठेका, करुवा लगायतका पुराना उपयोगी सामान सजाएर राखिएको छ। विभिन्न पर्यटकीय स्थलका तस्वीरहरु पनि रहेका छन्। २ रोपनी क्षेत्रफलमा नारायण पाण्डेले ३ करोडको लागतमा बनबाटिका होटल एण्ड रेष्टुरेण्ट सञ्चालनमा ल्याएका हुन्। होटलमा १४ वटा कोठा छन्। यहाँ आएका पाहुनाहरुले सेवा सुविधाको प्रसंसा समेत गरेको होटल सञ्चालक पाण्डेले सुनाए। ‘पोखरादेखी लुम्बिनी भ्रमणमा आउने पाहुनाहरु विशेष हाम्रोमा पस्नुहुन्छ। धेरै मध्यम बर्गका र केही उच्च बर्गका पाहुनाहरु पनि आउनुहुन्छ।’ उनले भने ‘खाना लगायत यहाँको सेवा सुविधाको प्रसंसा गर्नुहुन्छ।’

    होटलमा नेपाली खानालाई विशेष ध्यान दिएको पाण्डेले बताए। ‘आगोमा पकाएको खाना खुवाउने मेरो अवधारणा हो। तर व्यवस्थापन गर्न अहिल गाह्रो हुँदोरहेछ।’ उनले भने ‘तर हामीले मौलीक सैली र गुणस्तरियतामा ध्यान दिन्छौं।’ होटल सञ्चालन भन्दा पहिलेदेखि पाण्डेले ढाका उद्योग सञ्चालन गरेका थिए। उनले २०३७ सालदेखी ढाका बुन्ने काम थालेका थिए। पहिले ढाका व्यवसाय महालक्ष्मीको नाममा रहेको थियो। अहिले होटलकै नाममा बनबाटिका ढाका उद्योग नाम राखेका छन्।

    राजमार्गको ठाउँ भएकाले व्यवसाय राम्रै होला भनेर पाण्डेले एक दशकअघि होटल सुरु गरेका थिए। सुरुवातका केही वर्ष होटल राम्रो चल्यो। तर पछि कोरोना, आर्थिक मन्दी लगायतका कारण व्यापारमा कमी आएको उनको भनाइ छ। ‘कोरोना भन्दा अघि बेस्सरी चल्थ्यो। त्यसबेला सिजनमा सबैजसो कोठाहरु प्याक हुन्थ्यो।’ पाण्डेले भने ‘अहिले मेरो मात्र होइन पाल्पाका अरु होटलमा पनि पहिलेको तुलनामा ३० प्रतिसत मात्र पाहुना होलानमुनाफा त्यस्तै हो, खर्च चाँही उठेको छ।’ अवस्था सुधार होला र विस्तारै पाहुना बढ्दै जालान भन्ने पाण्डेको आशा छ।