२०८१ मंसिर ९ गते, आईतवार १२:४३
  • फिलिपिन्सको महिला सम्मेलन, टुरिष्ट रेष्ट एरिया र चक्लेट हिल्स

    ‘पर्यटकको आतिथ्य सत्कार साह्रै राम्रो लाग्यो’

    फिलिपिन्समा आयोजित पाटा इन्टरनेश्नल कन्फ्रेन्स अन वुमन इन ट्राभलमा सहभागी हुन केही दिन अघि हामी त्यस तर्फ प्रस्थान गर्यौ। नेपाल पर्यटन बोर्डकी बरिष्ठ निर्देशक नन्दिनी लाहे थापा र म काठमाडौँबाट बैंकक हुँदै फिलिपिन्सको राजधानी मनिला पुग्यौ। मनिलाबाट डेढघण्टाको उडानपछि फिलिपिन्सकै अर्को शहर बोहोलमा अवतरण गर्यौं। सिधा उडान नहुँदा काठमाडौँबाट बोहोल पुग्न १६ घण्टा लाग्यो।

    प्यासिफिक एसिया ट्राभल एशोसिएसन (पाटा) र फिलिपिन्सको पर्यटन मन्त्रालयको आयोजनामा मार्च २० देखी २२ सम्म सम्मेलनको आयोजना गरिएको थियो। ८ मार्चमा पर्ने अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आयोजित तीन दिने सम्मेलनमा सरकारी तथा अन्य क्षेत्रका विभिन्न पदमा काम गरिरहेका महिलाहरुको सहभागीता थियो। नेपालबाट पनि हामी पहिलो पटक भाग लिने अवसर पाएका थियौं। सम्मेलनमा विभिन्न विधामा प्यानल डिस्कसन भएको थियो। हामीलाई वक्ताको रुपमा उहाँहरुले सहभागी गराउनुभएको थियो।

    पर्यटन क्षेत्रमा काम गर्दा मैले स्वदेश तथा विदेशका धेरै सम्मेलनमा भाग लिने अवसर पाएँ। तर यो सम्मेलनमा चाँही विशेष गरि महिलालाई नै प्राथमिकता दिइएको थियो। कार्यक्रममा संघर्ष गरेर सफलता प्राप्त गरेका तथा उच्च पदमा पुगेका महिला रोल मोडलको रुपमा पनि सहभागी हुनुभएको थियो। आँफूहरुलाई कसरी सफलता प्राप्त भयो। महिलाहरु प्रतिको जिम्मेवारी कसरी निभाउनुभएको छ भनेर उहाँहरुले आफ्ना कथा सेयर गर्नुभएको थियो। त्यो प्लेटफम एकदम रमाइलो थियो।

    मेरो शिर्षक चाँही सस्टेनेवल ट्राभल वुमन एज एजेण्ट्स अफ चेन्ज थियो। मैले आफूले गरेका कामबाट महिलाहरुमा कसरी परिवर्तन ल्याउन सकें, उहाँहरुको जनजिविकामा केही फरक ल्याउन सकें की सकिन भन्ने स्टोरीहरु सेयर गरें।
    प्यानल डिस्कसनमा मलाई उनीहरुले युएनडिपिको जिविकोपार्जन प्रोजेक्टको बारेमा सोधेका थिए। नेपालले महिलाहरुको लागि के गरेको भनेर प्रश्न गरिएको थियो। जवाफमा हामीले महिलाहरुको तालिमको सम्बन्धमा कुरा गर्यौ। जेसी इन्क्लुसिभ अफ टुरिजम, एलजिभिटीलाई हामीले कसरी तालिमहरु दिइरहेका छौं । कसरी महिलाहरुलाई मुल धारको पर्यटनमा लिएर आउने कोशिस गरिरहेका छौँ भन्ने कुराहरु बतायौँ। हामी नेपालका सहभागीहरुलाई उहाँहरुले राम्रो रेस्पोन्स गर्नुभयो।

    ६ वटा सेसनहरु थिए। दुई वटा सेसनमा प्रतिनिधित्व गर्न पाउनु भनेको नेपालको लागि ठूलो कुरा थियो।
    हाम्रोमा पर्यटन मन्त्री भने जस्तै त्यहाँको पर्यटन हेर्ने मन्त्रिपरिषद सदस्यलाई सेक्रेटरी अफ टुरीजम अर्थात पर्यटन सचिव भनिदो रहेछ। ४० वर्षिय महिला क्रिस्टिना फ्रास्को त्यो पदमा हुनुहुँदो रहेछ। ४ नानीको आमा हुनुहुन्छ। त्यस अघि उहाँ लिलओन नगरको मेयर हुनुहुन्थ्यो। यती धेरै काम गरेर उहाँले महिलामा परिवर्तनको लहर ल्याउनु भएको रहेछ। कति आत्म विश्वासका साथ प्रस्ट तरिकाले आफ्ना कुरा राख्नुभयो। त्यसले मलाई एकदम प्रभावित बनायोे। उहाँका कुरा सुनेपछि हामी नेपालीले पर्यटनको क्षेत्रमा धेरै कुरा सिक्न र गर्न सक्ने रहेछौं जस्तो लाग्यो।

    फिलिपिन्स आइल्याण्ड अर्थात टापुहरु भएको देश हो। बर्षको ३० लाख पर्यटक आउने रहेछन्। बोडागाया, बोहोल, सिवुग, पलावान लगायतका आइल्याण्ड फिलिपिन्समा छन्। आइल्याण्डका कारण नै त्यहाँ पर्यटकहरु घुम्न आउने रहेछन्। स्कुपा ड्राइभिङ, डिपिसी ड्राइभिङ जस्ता सामुद्रिक गतिविधिका लागि पर्यटकहरु घुम्ने रहेछन्। मलाई त त्यहाँको हस्पीटालिटी अर्थात आतिथ्य सत्कार साह्रै राम्रो लाग्यो। म केही देश घुमेँ तर फिलिपिन्सको जस्तो हस्पिलालिटी कहिँ पनि छैन। हामीले थाइ हस्पिटालिटीको कुरा गर्छौ। तर फिलिपिन्समा यती राम्रो अतिथिको सत्कार र सेवा रहेछ। सानो सानो कुरामा पनि ध्यान दिने। होटलमा मात्र नभई बजारमा मान्छेहरुको व्यवहार एकदम राम्रो पाएँ।

    पर्यटकको लागि ठाउँ ठाउँमा टुरिष्ट रेष्ट एरिया रहेछ। पर्यटकहरु थाक्छन् भनेर यो व्यवस्था गरिएको रहेछ। सन्तानलाई स्तनपान गराउन महिलाहरुको लागि छुट्टै ठाउँ थियो। पर्यटकको सेवाको लागि कति सानो सानो कुरामा पनि उनीहरुले ध्यान दिएको पाएँ। अहिले नेपालमा रोजगारीको लागि युवाहरु विदेश गइरहेका छन्। यसबाट नेपालमा पर्यटन लगायतका सेवा क्षेत्रमा गुणस्तर घटिरहेको छ। तर उनीहरुको त्यो गुणस्तर झन बढेको छ। फिलिपिन्स महंगो गन्तव्य पनि होइन रहेछ। खानाहरु पनि सबै सस्तो छ। पर्यटकको आथित्य र सत्कारको कुरामा फिलिपिन्सबाट हामीले धेरै सिक्नुपर्ने छ।

    म पनि सरकारी निकायसँग पनि आबद्ध भएकाले त्यहाँको सरकारले पर्यटन क्षेत्रमा के के गरेको छ भन्ने कुरामा चासो दिँए। पर्यटन क्षेत्रमा महिला सम्बन्धी क्याम्पेनहरु गराएको छ। एउटा गाउँमा एकजना सय वर्ष पुग्न लाग्नुभएको महिला हुनुहुन्थ्योे। उहाँले शरीरमा ट्याटु बनाउनुहुने रहेछ। फिलिपिन्सको सरकारले ति महिलालाई यती धेरै प्रमोट गरेको थियो। विदेशीहरु ट्याटु बनाउनकै लागि त्यहाँ आउने रहेछन्। उहाँ शहरमा होइन कुनै गाउँमा बस्नुहुन्थ्यो। मान्छेलाई कसरी भूलाउने अनि पर्यटकहरुको बसाई कसरी बढाउने भनेर त्यहाँ धेरै गतिविधिहरु गरिएको रहेछ। अघि मैले भनेझै रेष्ट हाउसको अवधारणा, बच्चाहरुलाई स्तनपान गराउने ठाउँको कुरा फरक थियो।

    कृषिका महिलालाई पनि पर्यटनसँग जोडिएको छ। सबैजनाले पर्यटनमै काम गर्न पर्छ भन्ने पनि छैन। तर पर्यटनसँग जोड्ने एउटा लिंक त्यहाँको सरकारले बनाइदिएको छ। त्यो वास्तवममा उदाहरणिय छ। हामी गएको बोहोलमा मुख्य गरेर कोरियन पर्यटकहरु धेरै आउने रहेछ। कोरियाको सोलबाट बोहोल प्रत्येक दिन ५ वटा उडान हुन्छ। बोहोल कोरियनको लागि कति ठूलो बजार रहेछ।

    अर्को फरक प्रकारको गन्तव्य चक्लेट हिल्स पनि रहेछ। सानो सानो थुम्काहरु रहेछ। गर्मीको बेलामा सबै पात झरेर खैरो हुने। खैरो हुँदा थुम्कामा चकलेट जस्तै देखिने। समुद्रपछि पर्यटकहरु त्यहाँ जाने रहेछन्। चक्लेट हिल्समा आधा दिन, आधा दिन रिभर क्रुजमा विताउने रहेछन्। हामीकहाँ पनि थुप्रै प्राकृतिक स्थलहरु छन्। फिलिपिन्समा जस्तै हामीले पनि प्राकृतिक तथा सांस्कृतिक सम्पदाहरुको व्यवस्थापन र प्याकेजिङ गरि प्रवद्र्धन र प्रचार गर्नुपर्छ। पर्यटन क्षेत्रको लागि हामीले फिलिपिन्सबाट केही कुरा सिक्यौं। नेपाल फर्किदैं गर्दा यहाँ पनि केही गर्न सकिन्छ कि भन्ने हामीलाई लागेको छ।