२०८१ आश्विन २१ गते, सोमबार ११:०२
  • लुम्बिनीमा घट्यो नयाँवर्षको चहलपहल, यस्तो छ ८ वर्ष यताको तथ्यांक

    ५ वर्ष अघि एक लाख बढि आएकोमा अहिले १५ हजार

    लुम्बिनी -नयाँ वर्ष २०८१ सालको पहिलो दिन बुद्ध जन्मस्थल लुम्बिनीमा आन्तरिक पर्यटकहरुको चहलपहल निराशाजनक नै रहयो। विगतका वर्षहरुमा बैशाख १ गते लुम्बिनी घुम्ने आन्तरिक पर्यटकको संख्या एक लाख भन्दा बढि हुने गर्दथ्यो। कोभिडका कारण दुई वटा वर्षमा पर्यटक आउने वातावरण नै बनेन। कोभिडको प्रभाव हटेको लामो समय भइसक्दा पनि लुम्बिनीमा आन्तरिक पर्यटक समेत आशा गरे अनुसार बढ्न सकेका छैनन्।

    २०८१ सालको पहिलो दिन १५ हजार जति आएको लुम्बिनी विकास कोषका सुचना अधिकृत राजन बस्नेतले जानकारी दिए। यो कोभिड अगाडिको तुलनामा मात्र होइन २०८० को नयाँ वर्ष भन्दा पनि निकै कम हो। एक वर्ष अघि बैशाख १ गते ३८ हजार ५३६ जनाले बुद्ध जन्मस्थल लुम्बिनीको भ्रमण गरेका थिए। अघिल्लो वर्षको तुलनामा यो नयाँ वर्षमा लुम्बिनी घुम्नेहरु ६० प्रतिसतले घटेको देखिएको छ।

    कोभिड अघिका नयाँ वर्षमा लुम्बिनीमा थामी नसक्नुको भिड हुन्थ्यो। २०७६ सालको नयाँ वर्षको दिन मात्र १ लाख ६ हजार ९९५ जनाले लुम्बिनी घुमेका थिए। त्यस अघि २०७५ को पहिलो दिन १ लाख ९ हजार ५२७ जना लुम्बिनी आएका थिए। २०७४ मा ८३ हजार ९५० जना नयाँ वर्ष मनाउन लुम्बिनी आएका थिए। भुकम्प र नाका बन्दीको प्रभावका कारण २०७३ को नयाँ वर्षमा लुम्बिनी घुम्नेहरु कम थिए। लुम्बिनीमा आन्तरिक पर्यटकहरुको आगमन कमी हुनुमा बुटवल नारायणगढ सडक विस्तार ढिलाई मुख्य कारण मानिएको छ। विस्तारको क्रममा सडक अस्तव्यस्त हुँदा यात्रा गर्न निकै कठिनाइ छ। जसका कारण घुम्नेहरु नारायणगढ पश्चिम आउन नखोज्ने होटल संघ लुम्बिनीका अध्यक्ष गोबिन्द ज्ञवाली बताउँछन्। यो वर्ष वर्षमा पोखरा र चितवनको होटलहरु भरिभराउ थिए। तर लुम्बिनीका होटलका आधा जसो कोठामा मात्र पाहुनाहरु थिए।

    सडक अस्तव्यस्तता बाहेक अन्य केही कारण पनि नयाँ वर्षमा लुम्बिनीमा चहलपहल घटेको हो। पछिल्लो समय विभिन्न ठाउँमा पर्यटकीय गन्तव्यहरु व्यवस्थीत भएका छन्। त्यस्तै ठाउँठाउँमा पर्यटकीय पुर्वाधार र सेवा सुविधा थपिएको छ। घुम्न चाहानेहरुको रोजाइ नयाँ ठाउँ बनेका कारण पनि वर्षको पहिलो दिन लुम्बिनीको चहलपहलमा कमि आएको हो।

    तराइमा गर्मी हुने हुँदा पहाडी गन्तव्यहरुमा आन्तरिक पर्यटकहरु नयाँ वर्ष मनाउन थालेका छन्। जसका कारण लुम्बिनीमा आउनेहरुको संख्या कम हुँदै गएको हो। नयाँ वर्ष मनाउन आउनेहरु कम भएपनि त्यस अघि चैत महिनाका धेरै जसो समय लुम्बिनीमा राम्रै चहलहपहल थियो। एक हप्ते ध्यान सिविर, लुम्बिनी पिस फेस्टीवल, नेपाल शिक्षक संघको प्रतिनिधिहरुको भेलाले लुम्बिनीमा चहलपहल बढाएको थियो।