२०८१ आश्विन २१ गते, सोमबार ११:०१
  • बुद्धिष्ट टुर गाइड तालिम सम्पन्न

    लुम्बिनी सँगै अन्य बुद्धस्थलको प्रवद्र्धनमा भूमिका निर्वाह गर्छौ: प्रशिक्षार्थी



    भैरहवा
    -लुम्बिनीसँगै अन्य बुद्धस्थलको प्रचार प्रसार र पर्यटकको बसाइ लम्बाउन आँफूहरुले पनि भूमिका निर्वाह गर्ने एक कार्यक्रमका सहभागीले बताएका छन्। भैरहवामा सम्पन्न भएको ७ दिने बुद्धिष्ट लोकल टुर गाइड तालिमका सहभागीले गन्तव्यहरुको प्रवद्र्धन र पर्यटकहरुको आथित्य सत्कारमा आफूहरुले पनि सहयोग गर्ने उल्लेख गरेका हुन्.

    पर्यटन विकास परिषद र लुम्बिनी बौद्ध विश्वविद्यालयको आयोजनामा चैत्र २४ गतेबाट टुर गाइड तालिम सुरु भएको थियो।
    समापन कार्यक्रममा तालिमका प्रमुख प्रशिक्षक तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पर्यटन समिति संयोजक श्रीप्रसाद भट्टराईले तालिमले बुद्ध स्थलहरुको प्रवद्र्धनमा नयाँ आशा थपिएको बताए। उनले तालिमपछि प्रशिक्षाथीहरुमा पर्यटन प्रवद्र्धनको लागि नयाँ जिम्मेवारी थपिएको उल्लेख गरे।

    पर्यटन विकास परिषदकी मार्केटिङ तथा ब्राण्ड प्रमुख सुनिता चौधरीले पर्यटकीय स्थलहरुको प्रवद्र्धन र स्वरोजगार सिर्जना गर्ने उदेश्यले टुर गाइड तालिम आयोजना गरिएको जानकारी दिइन्। तालिममा सहभागी प्रशिक्षाथीहरुले आफ्नो अनुभव सुनाउँदै ७ दिनमा पर्यटनबारे धेरै कुरा सिक्न पाएको उल्लेख गरे। उनीहरुले आफ्नो ठाउँको प्रचार प्रसार सँगै अरु जिल्लाको बुद्धस्थलहरुको बारेमा पनि पर्यटकहरुलाई जानकारी गराउने सुनाएका थिए।

    टुर गाइड तालिममा नवलपरासी, रुपन्देही, कपिलबस्तु जिल्लाबाट गरि २९ जना सहभागी रहेको पर्यटन विकास परिषदले जनाएको छ। तालिममा सहभागीहरुले बुधबार नवलपरासीका विभिन्न बुद्धस्थलहरुको अवलोकन गरेका थिए। विहिवार लुम्बिनी र कपिलबस्तुमा प्रयोगात्मक प्रशिक्षण गराइएको थियो।