२०८१ आश्विन २१ गते, सोमबार ०९:१७
  • महावीर पुनको त्यो स्ट्याटस र लुम्बिनीमा पर्यटक तान्ने ‘मन्त्र’

    बुटवल -राष्ट्रिय अविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले किताब बेच्ने क्रममा विभिन्न ठाउँमा पुगेका छन्। दस दिन अघि उनी कपिलवस्तुको तिलौराकोट हुँदै बुद्ध जन्मस्थल लुम्बिनीमा आएका थिए। लुम्बिनी र तिलौराकोटमा पर्यटकको चहलपहल कम भएको देखेर पुनले दिग्दार माने।

    चैत्र २७ गते फेसबुकमा यस्तो स्टाटस लेखे ”विश्वको प्राचिन राजधानी तिलौराकोट र गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा पर्यटकहरुको असाध्यै घुइँचो हुनुपर्ने हो। तर ज्यादै कम चहलपहल देख्दा बैराग लाग्यो। पर्यटक तान्ने मन्त्र थाह छैन भने मलाई सोधे हुन्छ।”

    लुम्बिनीबाट भैरहवा, मणिग्राम हुँदै पुन बुटवल आए। मंगलबार बुटवल उपमहानगरपालिकामा जनप्रतिनिधिहरुसँग उनले भेटघाट गरे। त्यसपछि उपमहानगर परिसरमै आफ्नो पुस्तक ‘महाविर पुन सम्झना, सपना र अविरल यात्रा’ नामक पुस्तक हस्ताक्षर गरेर विक्रि गर्दै थिए। त्यही बेला उनलाई फेसबुकमा लेखेको स्टाटस सम्झाएर लुम्बिनी र कपिलबस्तुमा पर्यटन तान्ने मन्त्रबारे सोधियो। महाविर पुनले लुम्बिनी गुरुयोजना अन्तर्गतको भित्री संरचनासँगै बाहिरको वातावरण पनि राम्रो गराउनुपर्ने धारणा राखे। उनले लुम्बिनीको प्रचार सामाग्री बनाएर अन्तर्राष्टिय मिडियामा प्रसारण गर्नुपर्ने समेत धारणा राखे ।

    बुद्ध परिपथसँग कुरा गर्दै फेसबुकमा लेखेको आफ्नो स्टाटस बारे महावीर पुनले यसरी बताए…

    अहिलेको जमाना भनेको सूचना प्रविधिको जमाना हो। सूचना प्रविधिलाई प्रयोग गरेर संसारको कुना काप्चामा लुम्बिनीको प्रचार प्रसार गर्नुपर्यो। त्यसको साथसाथै भित्रको संरचना मात्र होइन बाहिरका संरचनाहरु राम्रो र पर्यटकहरुलाई तान्ने खालको हुनुपर्यो। भित्रको ११ सय विघामा केही संरचना त बनेको छ, बहिरतिर केही पनि छैन। बाहिरको संरचनामा पनि पर्यटकको मन लोभ्याउने कुराहरु गर्नुपर्यो। तिलौराकोट पनि निर्जन जस्तो छ। तिलौराकोटलाई त्यसरी निर्जन बनाएर हुँदैन। त्यहाँ वरीपरि विकासहरु गर्नुपर्यो। अर्को कुरा सूचना प्रविधिलाई पनि हामीले प्रयोग गर्नुपर्छ। लुम्बिनीको मात्र होइन समग्र नेपालमा पर्यटकहरु बढि तान्नको लागि सूचना प्रविधिमा खर्च गर्नुपर्यो। बीबीसी, सीएनएन जस्ता विश्वमा नाम चलेका मिडिया छन्। ठूला ठूला अनलाईन मिडियाहरु छन्। विश्व पर्यटनलाई तान्न नेपालले एउटा सूचना कहिँ राखेको छ अहिले? अहिलेसम्म राखेको छैन। धेरै देशले राखेको छ। चीनले राखेको छ, भारतले राखेको छ, हङकङ र भूटानले राखेको छ।

    तर नेपालमा पर्यटन तान्नको लागि खर्च गरिएको छैन। महोत्सव राख्नको लागि यीनीहरुले करोडौँ अर्बौ खर्च गर्छन्, तर एउटा अन्तर्राष्ट्रिय अनलाईन तथा विश्वप्रशिद्ध अनलाईन मिडियाहरुमा यो ठाउँ यस्तो हो भनेर पर्यटकलाई आकर्षित गर्न एउटा ३० सेकेण्डको मिडिया सामाग्री पनि राखिएको छैन। त्यसो गर्न नसक्नेले कहिले पनि गर्न सक्दैन। अब त्यहाँबाट सुरु गर्यो भने विश्वमा घुम्न चाहाने पर्यटककोमा त्यो पुग्छ। अहिले हामी भारतले हाम्रो नेपालको गौतम बुद्ध जन्मेको देशलाई आफ्नो भन्छ भनेर भन्छौं। उनीहरुले त बनाएको छे भन्छ। हामीले प्रतिस्प्रर्धा गर्न सक्नुपर्यो नि। उनीहरुले त्यसो भन्दा हाम्रो यो हो भनेर प्रचार प्रसार गर्न सक्नुपर्यो। ठूला ठूला महोत्सवहरु राख्नको लागि खर्च पुग्ने अनि एउटा प्रचार प्रसारमा खर्च गर्नु नसक्ने, सरकारले कसरी पर्यटक तान्छ ?