२०८१ आश्विन २१ गते, सोमबार ०९:१४
  • ‘जितगढी कता..?’ सानो तर अति आवश्यक कुरामा वेवास्ता

    वर्षमा एक दिन उत्सव मनाउँदैमा प्रवर्द्धन होला


    बुटवल-बुटवलको मुख्य बजारबाट तिनाउ पारी ऐतिहासिक जितगढी किल्ला पर्दछ। २०९ वर्ष अघि नेपालले अग्रेजलाई पराजित गरेको सम्झनामा शुक्रबार जितगढमा विजय उत्सवको कार्यक्रम गरिएको थियो। वर्षमा एक पटक दिवस मनाएर कार्यक्रम गरिए पनि जितगढीको प्रवद्र्धनका लागि सानो तर अति महत्वपूर्ण कुरामा भने ध्यान दिइएको छैन।

    पूर्व पश्चिम राजमार्गमा ओहोर दोहोर गर्नेहरुले अझै पनि जितगढी कता पर्छ, थाह पाउन सक्दैनन्। तिनाउ पुल तरेपछि जितगढी जाने बाटो चिनाउन कुनै पनि प्रवेशद्वार वा बोर्ड राजमार्गमा देख्न सकिँदैन। पुलको डेढसय मिटर जति अगाडि दायाँ तर्फ आँखा अस्पताल र बायाँ तर्फ अटोभिलेज जाने मैनाबगर चोक आउँछ। यो चोकमा जितगढी किल्ला उल्लेख भएको कुनै नाम निसाना छैन।

    गत असोज महिनामा पर्यटन प्रवद्र्धनको लागि मोटरसाइकिल यात्रा गरिरहेको गोल्डेन ट्रयांगल बाइक टुरको टोली काठमाडौँबाट हेटौंडा, चितवन हुँदै बुटवल आइपुग्यो। भोलिपल्ट विहान ऐतिहासिक जितगढी किल्लामा टोलीलाई स्वागत गर्ने कार्यक्रम राखिएको थियो। जितगढी आउन तिनाउ पुल तरेपछि धेरै जना राइडरहरु अलमलीए। मोबाइलमा नक्सा सर्च गर्दा जितपुर देखेर कतिपय पश्चिमतिर लागे। सोधखोज गर्दै केही ढिला उनीहरु जितगढी आइपुगेका थिए। मोटरसाइकल यात्रीहरुले त्यतीबेलै जितगढी सहज रुपमा फेला पार्न राजमार्गमा स्वागतद्वार वा बोर्ड राख्न सुझाब दिएका थिए। त्यस्तै कात्र्तिक महिनामा मेची महाकाली साइकल यात्रीको टोली बुटवल आयो। उनीहरु मध्ये कतिपयलाई पनि जितगढी पत्ता लगाउन गाह्रो भएको थियो।

    जितगढीका बारे बुटवलमा चर्का भाषण र कुरा गर्ने गरिन्छ। तर राजमार्गमा जितगढी चिनाउने बोर्ड राख्न न उपमहानगरपालिकाका जनप्रतिनिधिको ध्यान पुगेको छ। न पर्यटन व्यवसायी र सरोकारवालाहरुले नै चासो दिएका छन्।
    जुनसुकै ठाउँमा पर्यटकीय गन्तव्य चिनाउने उदेश्यले मुख्य सडकमा प्रवेशद्वार अथवा कम्तीमा बोर्ड राखीएको हुन्छ। तर ऐतिहासिक र महत्वपूर्ण मानिएको जितगढी प्रवद्र्धनको सानो काम गर्न पनि कसैले ध्यान दिएका छैनन। मैनाबगर चोकमा अरु व्यवसायीक संस्था वा कम्पनीका बोर्ड भने देखिन्छ। चोकमा रहेको अग्लो सडक बत्तीको पोलमा चारै तर्फ बुटवल हिल्सको बोर्ड छ। त्यस्तै अटो भिलेज, टोल समितिको बोर्ड पनि देखिन्छ। नयाँ मान्छेलाई जितगढी किल्ला कता हो भनेर अलमलिनुपर्ने हुन्छ।

    पर्यटन मामिलाका स्तम्भकार युवराज कंडेलले जितगढी प्रवद्र्धनको आधारभूत काम पनि हुन नसकेको बताए। ‘जितगढी चिनाउने बोर्ड राख्न कुनै ठूलो लागत चाहीँदैन। उपमहानगरले सजिलै गर्न सक्छ। वडा र टोलले पनि आँफैले राख्न सक्छन्। बुटवलमा यतीका व्यवसायीक तथा सामाजिक संस्था छन्। उनीहरुको भूमिका पनि यहाँनेर देखिएन।’ उनले भने ‘बोर्ड राख्दा बसमा यात्रा गर्नेहरुले कम्तिमा जितगढी किल्ला यहाँ रहेछ भनेर थाह त पाउँथे। मोटरसाइकिल र कारमा यात्रा गर्ने मध्ये केही अवलोकन गर्न जान सक्थे।’ कंडेलले मैनाबगर चोकमा बोर्ड राख्न ढिला गर्न नहुने बताए। त्यस्तै तिनाउ पुलको वारपार जितगढी बारे उल्लेख गर्न सकिने धारणा राखे।

    बुटवल उपमहानगरपालिका-१ का वडाध्यक्ष नरेन्द्र बस्नेतले बोर्ड राख्न ढिलाइ भएको स्वीकार्दै छिट्टै दुई ठाउँमा बोर्ड राखीने जानकारी दिए। ‘पहिले नै राख्न खोजेको यस्तै ढिलाइ भइरहेको छ। उपमहानगरपालिकाको तर्फबाट नराखे पनि वडाबाट बनाउँछौं। वडाबाट ढिला भएमा मेरो आफ्नै प्रतिमा बस्नेत स्मृती सहयोगी संस्था छ। त्यसबाट भएपनि मैले बनाउँछु।’ उनले भने ‘एउटा तिनाउ पुलको मुखमा सिंढीमा र अर्को मैनाबगर चोकमा छिट्टै जितगढी जाने बाटो भनेर बोर्ड राख्छौं।’

    जितगढी सम्बन्धी पछिल्ला केही समाचार

    पर्यटकलाई जितगढी भेटाउन गाह्रो, राजमार्गमा स्वागतद्वार वा वोर्ड आवश्यक

    बुटवलले अझै भजाउन सकेन जितगढीलाई

    जितगढी अब उत्सव मनाउने थलो मात्र नबनोस्, पर्यटकीय चहलपहल देखियोस्

    ‘जितगढी, बटौली र फूलबारीलाई व्यवस्थित गरि बुटवलमा पर्यटकीय चहलपहल बढाउँछौं'(अन्तर्वार्ता)