२०८१ आश्विन २१ गते, सोमबार ११:०७
  • सिद्धार्थ सञ्जालले नयाँ महाप्रबन्धकलाई भन्यो: अन्तर्राष्ट्रिय उडानको लागि फेरि आन्दोलन गर्न नपरोस्


    भैरहवा सिद्धार्थ सञ्जाल रुपन्देहीले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीसँग भेट गरेको छ। भेटमा सञ्जालले भैरहवाबाट अन्तर्राष्ट्रिय उडान हुनुपर्ने आफ्नो माग बारे जानकारी गराएको थियो।

    सञ्जालका अध्यक्ष अनिल ज्ञवालीले आँफूहरुको माग र विगतमा भएका आन्दोलन बारे महाप्रबन्धकलाई जानकारी गराएको सुनाए। ‘अहिलेसम्म भएका गतिविधिहरु उहाँलाई जानकारी गरायौं। सडक आन्दोलन देखी एयरपोर्ट धर्ना, काठमाडौँमा गएर मन्त्रीज्युसँग भएका वार्ताका बारेमा समेत बतायौँ।’ उनले भने ‘छिटो भन्दा छिटो भैरहवाबाट नियमित अन्तर्राष्ट्रिय उडान होस् र फेरि आन्दोनल गर्न नपरोस् भनेर भनेका छौं।’

    व्यवसायीको कुरा सुनेपछि महाप्रबन्धक तिवारीले सबै कुरा बुझ्ने र अन्तर्राष्ट्रिय उडानको लागि सक्दो पहल गर्ने बताए। ‘म भरखर आएको छु। उडानको के-के प्रक्रियामा कहाँ कहाँ गएर रोकिएको छ। के सुविधा दिएर अन्तर्राष्ट्रिय जहाज ल्याउन सकिन्छ।’ उनले भने ‘रुटका समस्या के के छन्। नचलेको कारण के रहेछ मलाई केही दिन बुझ्न दिनुहोस्। नियमित अन्तर्राष्ट्रिय उडानको लागि सक्दो पहल गर्छु।’यस अघि काठमाडौँको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको महाप्रबन्धक रहेका प्रताप बाबु तिवारी सरुवा भइ भैरहवाको अन्तराष्ट्रिय विमानस्थल सम्हाल्न आएका हुन्।

    गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन भएको २ वर्ष भइसक्दा पनि नियमित अन्तराष्ट्रिय उडान हुन सकेको छैन। यस विचमा व्यवसायीहरुले सडक आन्दोलन, विमानस्थल धर्ना लगायतका विरोधका कार्यक्रम गरेका थिए। पछि काठमाडौँ गइ मन्त्री, नागरिक उड्यन प्राधिकरण र विभिन्न एयरलाइन्सहरुसँग छलफल गरेको थियो। छलफलका क्रममा त्यसबेला काठमाडौँमा दैनिक ४ वटा उडान गर्ने जहाजले एउटा उडान भैरहवाबाट गर्ने, नेपाल एयरलाइन्सले जहाज लिजमा लिएर भएपनि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमास्थलबाट उडान गर्ने लगायतका आश्वासन पाएका थिए।

    अहिले सम्म ति कुरा आश्वासनमा मात्र सिमित भएको सञ्जालका अध्यक्ष ज्ञवालीले बताए। महाप्रबन्धकसँगको भेटमा सिद्धार्थ सञ्जालका अध्यक्ष ज्ञवाली सहित बरिष्ठ उपाध्यक्ष चन्द्रप्रकाश श्रेष्ठ, उपाध्यक्ष सञ्जलय बजिमय, होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठनका अध्यक्ष रामप्रसाद पोखरेल लगायत सहभागी थिए।