२०८१ आश्विन २१ गते, सोमबार ११:११
  • ग्रेटर लुम्बिनी र आसपासका गन्तव्यलाई समेटेर ‘टुर गाइड म्यानुअल बुक’ तयार गरिँदै

    लुम्बिनी-बुद्ध जन्मस्थल लुम्बिनी, आसपासका बुद्धस्थल र पर्यटकीय गन्तव्यहरुलाई समेटेर टुर गाइड म्यानुअल बुक तयार गरिने भएको छ। नेपाल पर्यटन बोर्ड अन्तर्गत एसटिएलआरपी परियोजना र लुम्बिनी साँस्कृतिक नगरपालिकाको संयुक्त आयोजनामा आज टुर गाइड म्यानुअल बुकका लागि अन्तरक्रिया कार्यक्रम भएको हो। कार्यक्रममा सहभागीहरुले लुम्बिनी आएका पर्यटकहरुको बसाइ लम्बाउने गरि टुर गाइड म्यानुअल बनाउनुपर्ने धारणा राखेका छन्। उनीहरुले लुम्बिनी र बुद्धस्थलसँगै अरु प्राकृतिक र सांस्कृतिक पक्षलाई पनि म्यानुअल बुकमा समेट्नुपर्ने बताए।

    कार्यक्रममा नेपाल पर्यटन बोर्डकी प्रबन्धक तथा एसटिएलआरपी परियोजना संयोजक श्रद्धा श्रेष्ठले लुम्बिनीसँगै आसपासका गन्तव्य र त्यहाँ पर्यटकीय विशेष्ताहरुलाई समेटेर टुर गाइड म्यानुअल बुक तयार गर्नका लागि अन्तरक्रिया गरिएको बताइन्। यस अघि २०२० को लागि लुम्बिनीको टुर गाइड म्यानुअल बुक बनेको थियो। अहिले त्यसलाई परिमार्जन गरि अरु पर्यटकीय गन्तव्य र विभिन्न पक्ष समेटेर म्यानुअल बुक बनाउन लागेको उनले जानकारी दिइन्। पर्यटकहरुलाई आ आफ्नो सैलीले गाइड गरिएको भन्दै श्रेष्ठले टुर गाइड म्यानुअल तयार भएपछि पर्यटकहरुलाई गाइड मार्फत एकैखालको सन्देश दिन सकिने बताइन्।

    लुम्बिनी सांस्कृतिक नगरपालिकाकी उपमेयर कल्पना हरिजनले ऐतिहासिक र महत्वपूर्ण ठाउँहरु टुर गाइड म्यानुअल बुकमा छुट्न नुहुने बताइन्। स्थानिय संस्कृति र पर्वहरुको पनि पहिचान हुने गरि नगरबासीको उन्नती र प्रगतीलाई ध्यान दिएर म्यानुअल बुक बनाउनुपर्ने उनको भनाइ छ।

    बरिष्ठ पुरातत्वविद बसन्त विडारीले लुम्बिनीमा आउने मध्ये केही तिर्थयात्राका लागि मात्र आउने र कतिपय प्रकृतिक तथा सांस्कृतिक पक्षसँग रमाउन खोज्ने गरेको बताए। पर्यटकका फरक फरक रुचि र चाहानाहरुलाई सम्बोधन हुने गरि म्यानुअल बुक बनाउनुपर्ने र त्यसै अनुसार गाइड गर्नुपर्ने उनको धारणा छ।

    लुम्बिनी विकास कोषका सूचना अधिकृत तथा पर्यटनविद डा. हरिध्वज राइले लुम्बिनीमा संख्यात्मक भन्दा पनि गुणस्तरिय पर्यटकलाई ध्यान दिनुपर्ने बताए। उनले लुम्बिनीसँगै आसपासका प्राकृतिक र सांस्कृतिक पक्षलाई समेटेर टुर गाइड म्यानुअल बनाउनुपर्ने र पर्यटकीय वातावरण समेत बन्नुपर्ने उल्लेख गरे।
    लुम्बिनी सांस्कृतिक नगरपालिकाका समन्वय शाखा प्रमुख तुल्सीराम लामिछानेले लुम्बिनी सांस्कृतिकसँगै कपिलबस्तु, देवदह र रामग्राम नगरपालिकाको भावना पनि टुर गाइड म्यानुअलमा समेट्न आग्रह गरे।
    लुम्बिनी सांस्कृतिक नगरपालिकाका मेयर सजरुद्धिन मुशलमानको अध्यक्षतामा भएको अन्तरक्रियामा होटल संघ लुम्बिनीका महासचिव पुरुषोत्तम अर्याल, नगरपालिकाका परियोजना प्रमुख फणिन्द्र पाल, स्थानिय टुर गाइड एशोसिएसन तथा आमा समूहका प्रतिनिधि र सरोकारवालाहरुले लुम्बिनीमा पर्यटकीय वातावरण निर्माण हुनुपर्ने, पर्यटकहरुलाई बुद्ध दर्शन र बुद्धस्थलको बारेमा आवश्यक जानकारी दिनुपर्ने, टुर गाइड म्यानुअलका लागि सबै पक्षका सुझाब समेट्नुपर्ने धारणा राखेका थिए।