२०८१ आश्विन २१ गते, सोमबार ०९:१५
  • अहिलेको पर्यटकीय विकासको मोडल परिवर्तन गर्नुपर्छ (अन्तर्वार्ता)

    ‘पुरातात्विक हिसाबले महत्वपूर्ण र प्रदेशका पहिचान बन्ने ठाउँहरुलाई बजेटको प्राथमिकतामा राख्छौं’

    नवलपरासी पश्चिम क्षेत्र नम्बर २ (क) का प्रदेश सभा सदस्य खड्ग बस्नेत अहिले लुम्बिनी प्रदेश सरकार अन्तर्गतको उद्योग, पर्यटन तथा सहकारी मन्त्री छन्। बुद्ध जन्मस्थल जस्तो महत्वपूर्ण पर्यटकीय गन्तव्य यही प्रदेशमा छ। साथै अन्य थुप्रै ऐतिहासीक र धार्मिक पर्यटकीय गन्तव्य लुम्बिनी प्रदेशमा रहेका छन्। प्रदेशको समग्र पर्यटकीय विकास र गन्तव्यहरुको प्रचार तथा प्रवद्र्धनको सम्बन्धमा हामीले मन्त्री खड्ग बस्नेतसँग कुराकानी गरेका छौं।

    केही दिन अघि मात्र यहाँ लुम्बिनी प्रदेशको उद्योग, पर्यटन तथा सहकारी मन्त्री नियुक्त हुनुभयो। जिम्मेवारी सम्हाल्दै गर्दा पर्यटनको लागि कहाँबाट काम सुरु गर्नुभएको छ ?
    मैले मन्त्रालय सम्हालेको १८ दिन पुगेको छ। यो अवधीमा प्रदेशको पर्यटनलाई कसरी विकास गर्न भन्ने विषयमा सम्बन्धित पक्षहरुसँग छलफल गरिरहेका छौं। मन्त्रालय भित्र र बाहिर सरोकारवालाहरुसँग पनि छलफल गर्ने र सल्लाह लिने काम गरेका छौं। पर्यटकीय विकासको अहिलेसम्मको जुन मोडल छ। त्यसलाई परिवर्तन गर्नुपर्ने छ। मोडल परिवर्तन गर्दा पर्यटकीय स्थलहरुको विकास र प्रवद्र्धनसँगै कसरी त्यहाँ आर्थिक प्रगती गर्न सकिन्छ भन्ने बारेमा विचार गर्नुपर्छ। कसरी त्यो ठाउँलाई उत्पादन र रोजगारीसँग जोड्न सकिन्छ, कसरी त्यो ठाउँको पहिचानसँग जोड्ने भन्ने विषयमा हामी केन्द्रीत हुन खोजेका छौं।

    यहाँले मन्त्रालय सम्हाल्दा पर्यटन क्षेत्रका मुख्य प्राथमिकता के -के हुन् ?
    अहिलेसम्म हामीले पर्यटनको बजेटलाई प्रयोग गर्दा टोल छिमेकमा ८–१० घरको विचमा हुने मन्दिर निर्माण र ति मन्दिरहरुको सम्हारको लागि धेरै बजेट खर्च गरेका छौं। अब खर्च गर्ने सैली परिवर्तन गर्नुपर्नेछ। लुम्बिनी प्रदेश भित्र रहेका पुरातात्वीक हिसाबले महत्वपूर्ण र प्रदेशका पहिचान बोकेका ठाउँहरुलाई हामीले बजेटको प्राथमिकतामा राख्छौं।
    लुम्बिनी, पाल्पाका पाल्पा दरबार, भैरबस्थान, रानीमहल, बर्दिया, रोल्पा रुकुमका पनि जस्ता ठाउँहरुलाई प्राथमिकता दिनुपर्ने छ। विभिन्न जिल्लामा सहासिक अथवा धार्मिक महत्वको हिसावले पर्यटकीय विकास गर्न सकिने ठाउँहरु छन्। जसले लुम्बिनी प्रदेशको आय स्तर नै परिवर्तन गर्न सक्छन्। त्यस्ता ठाउँहरुलाई प्राथमिकतामा राखेर विकास गर्ने गरि हामीले छलफल थालेका छौं।

    लुम्बिनी प्रदेशमा बुद्ध जन्मस्थल लुम्बिनी, बर्दिया राष्ट्रिय निकुञ्ज, पाल्पा, स्वर्गद्वारी लगायत थुप्रै ठाउँहरु छन्। यी ठाउँको पर्यटकीय विकास र प्रवद्र्धनको लागि प्रदेश सरकारको योजनाहरु के छ ?
    हामीसँग भएका धार्मिक, ऐतिहासिक पृष्ठभूमि भएका पर्यटकीय स्थलहरु छन्। तर प्रचार प्रसार गर्न सकिरहेका छैनौं। यी ठाउँको महत्व देश तथा विदेशमा बुझायौं भने ठूलो संख्यामा पर्यटक आकर्षित गर्न सकिन्छ। उनीहरुलाई किन घुम्न र अवलोकन गर्न गएनौं भन्ने खालको वातावरण सिर्जना गर्नुपर्छ। हामीसँग लुम्बिनी लगायत अन्य धेरै पुरातात्वीक स्थलहरु छन्। जसलाई विश्वले अध्ययन गर्न र हेर्न चाहान्छ। त्यो हामीसँग छ भनेर प्रचार गर्न सकिरहेको अवस्था छैन। लुम्बिनी र बुद्धसँग जोडिएका तमाम ठाउँहरु पुरातात्वीक हिसाबले महत्वपूर्ण छ। बुद्धकालिन इतिहास बोकेका ति ठाउँहरुलाई एकिकृत विकास गर्नको लागि हामीले पञ्चवर्षिय परियोजना सञ्चालन योजना बनाएका छौं। त्यसलाई अहिलेको नीति कार्यक्रम र बजेटमा समेटेने सोँच बनाएका छौं। अन्य १२ वटै जिल्लामा भएका पर्यटकीय स्थलहरु छन्। जुन पर्यटकीय स्थलको कारण त्यो ठाउँको पहिचान बनेको छ त्यसको विकास र प्रवद्र्धन गर्नको लागि प्रचार गर्नको लागि हामीले छुट्टै संयन्त्र तयार पार्छौं। मिडिया मार्फत ति ठाउँको प्रचारलाई देश तथा विदेशमा पुर्याउने धेरै भन्दा धेरै आन्तरिक र बाह्य पर्यटक भित्राउन सकिन्छ। पर्यटकीय स्थलको प्रचार र प्रवद्र्धनको लागि विभिन्न प्रकारका सभा, गोष्ठीहरु, अन्तर्राष्ट्रिय ख्यातीप्राप्त धार्मिक व्यक्तीहरुलाई भ्रमण गराउने खालका कार्यक्रमहरु पनि हामीसँग छन्।

    एउटा महत्वपूर्ण बुद्धस्थल रामग्राम यहाँको गृहजिल्लामा पर्दछ। लुम्बिनीमा पर्यटकहरुको केही चहलपहल हुँदा रामग्राम ओझेलमा परेजस्तो देखीन्छ। लुम्बिनीमा आएका पर्यटकलाई रामग्राम, देवदह र तिलौराकोट लगायतका ठाउँमा लगेर भ्रमण अवधि लम्बाउने प्रदेश सरकारको योजना के छ ?
    लुम्बिनी र बुद्धसँग सम्बन्धित, बुद्धकालिन इतिहास बोकेका प्रत्येक ठाउँहरुको एकृकिृत विकास गर्ने योजनामा छौं। लुम्बिनीसँगै रुपन्देहीको देवदह, कपिलबस्तुमा रहेका ठाउँहरु, नवलपरासीमा रहेका रामग्राम, ककरपत्त नगर लगायतका स्थलहरुलाई एकिकृत विकास गर्नुपर्ने छ। त्यसको लागि बुद्ध सर्किटको निर्माण र संघिय सरकारसँगको समन्वयमा पञ्चवर्षिय योजना सञ्चालन गर्ने योजना छ। अर्को तर्फ रामग्राम स्तुप ओझेलमा परेको भन्दा पनि यसको प्रचार प्रसार हामीले गर्न सकेनौं। यसको महत्व हामी आँफैले पनि बुझ्न सकेनौं। बुद्धको दुई वटा रौं बोकेर गएको र बास बसेको थाइल्याण्डमा सबै भन्दा ठूलो धार्मिक स्थल निर्माण गरेर पर्यटकीय क्षेत्रलाई विस्तार गरि पर्यटन प्रवद्र्धन गरेका छन्। यो त अस्थी धातु रहेको ठाउँ हो। यस्तो महत्वपूर्ण ठाउँमा बौद्ध मार्गीहरुले टेक्न र हेर्न पाउँदा साह्रै ठूलो प्राप्ती सम्झन्छन्। हामीसँग भएको त्यो सम्पत्तीलाई प्रचार गर्न सकेनौं, त्यसको महत्व बुझ्न सकेनौं। अब हामीले त्यसको महत्व बुझाउने कुरा त्यसको प्रचार गर्ने र विकास गर्ने कुरा लुम्बिनी विकास कोषसँग पुरातात्वीक विभागसँग सहकार्य गर्दै यसको समन्वयमा प्रदेश सरकारले बुद्धकालिन इतिहास बोकेका सबै ठाउँलाई समेटेर परियोजना निर्माण गर्दैछौं। मलाई विश्वास छ यो परियोजना सञ्चालन भइसक्दा बुद्धकालिन इतिहाससँग जोडिएका र लुम्बिनी लगायतका क्षेत्रहरुको आफ्नै किसिमको विकास हुन्छ। जसले लुम्बिनी मात्र भ्रमण गर्न आउने पर्यटकहरुले यी ठाउँलाई नछुटाइकन यो सर्किटलाई अध्ययन गर्ने अवलोकन र दर्शन गर्दै जाने वतावरण चाँही हामीले बनाउँदै छौं। आगामी बजेट कार्यान्वयन हुँदा यो वातावरण बन्छ।

    लुम्बिनीबाट रामग्रामसम्म सार्वजनिक यातायातको सिधा पहुँच पनि छैन। लुम्बिनीमा विद्युतीय गाडीहरु ३ -४ वर्षदेखी अलपत्र परेको छ। बुद्धस्थलहरुको बिचमा सहज यातायातको पहुँचको लागि के गर्दै हुनुहुन्छ ?
    लुम्बिनी र बुद्धसँग सम्बन्धीत ठाउँहरुलाई समेटेर बुद्ध सर्किटको रुपमा विकास गर्ने गरि अध्ययन र यसको विकासको लागि अगाडी बढिरहेका छौं। मन्त्रालयहरु एक अर्कामा अन्तरसम्बन्धित र एक अर्कामा छलफल र समन्वय गरेर विकास नहुने। जस्तै भौतिक पूर्वाधारको विकास भौतिक मन्त्रालयले हेर्छ। हामीले बजेट विनियोजन गरेको र पर्यटकीय हिसाबले बुद्ध र लुम्बिनीसँग सम्बन्धीत महत्वको आधारमा त्यसको विकास भन्दा पनि आफ्नो तरिकाले विकास गर्ने, हामीले आफ्नो तरिकाले बजेट व्यवस्था गर्ने यी कारणले जसरी विकास हुनुपर्ने हो त्यसरी विकास हुन सकेको छैन।
    अहिले हामीले अन्तर मन्त्रालय पनि समन्वय गरेर विकास गर्न खोजेका पर्यटकीय स्थलहरुमा पहुँच मार्ग, बुद्धसर्किटहरु लगायतका पर्यटकीय पदमार्ग बनाउने कुरा, पर्यटकीय एक्सेसहरु बनाउने कुरा छ यसलाई हामीले प्रदेश भित्रका अन्तरमन्त्रालय र यदि बुद्धसँग सम्बन्धीत सर्किट निर्माण गर्दा अन्य प्रदेशसँग पनि समन्वय गर्न पर्यो भने हामीले अन्तरप्रदेशसँग समन्वय गरेर विकास गर्ने हामीले तयारी गरेका छौं। यस बारे छलफल पनि अघि बढिरहेको छ।

    प्रदेशको पर्यटन कार्यक्षेत्र भएको मन्त्रालय सम्हालेको हिसाबले यहाँको संघ सरकार र स्थानिय तहसँग समन्वय कस्तो हुन्छ?
    तीन तहको सरकारबीच समन्वय र सहमार्यमा सह अस्थित्वमा काम गर्ने संविधानले नै परिकल्पना गरेको छ। हामी प्रदेश सरकारले र संघिय सरकारले पनि विकास गर्ने भनेको स्थानिय तहमा नै हो। स्थानिय तहसँग समन्वय गर्ने त्यहाँको आवश्यकता त्यहाँको पहिचान गर्नुपर्छ। त्यो क्षेत्रको कुन पर्यटकीय स्थलको विकास गर्दा प्राथमिताको आधारमा त्यो क्षेत्रको पहिचान बन्न सक्छ र पर्यटकीय हिसाबले पर्यटनको प्रवद्र्धन गर्न सकिन्छ भन्ने कुरा हामीले स्थानिय र संघिय सरकारसँग पनि समन्वय गर्नुपर्छ। प्रदेश सरकारले सञ्चालन गर्न नसक्ने ठूला आयोजनाहरु हामीले संघिय सरकारसँग समन्वय गरिरहेका छौं। सानातिना योजना जुन स्थानिय सरकारले गर्न सक्छ। स्थानिय सरकारसँग सहकार्य गरेर हामीले दोहोरो बजेट कार्यान्वयन नहुने खालको वातावरण बनाएर विकास गर्ने तयारीमा छौं। हामीले यही किसिमको छलफल पनि गरेका छौं। संविधानले परिकल्पना गरेको ३ तहको सरकार यसको समन्वय र सहअस्तीत्वको रुपमा सहकार्य गर्ने गरि अगाडि बढेका छौं।