२०८१ आश्विन २१ गते, सोमबार ११:१०
  • उद्घाटन हुँदैगर्दा हामी एकदम उत्साहित थियौं, तर भ्रममा रहेछौंं

    भैरहवाबाट यात्रु नभएर, बजार नभएर विमानस्थल नचलेको होइन, सरकारले आवश्यक पहल नगरेकाले हो

    ठाकुरकुमार श्रेष्ठ
    आजको ठीक दुई वर्ष अघि हामी एकदमै उत्साहित थियौं। विहान जजिरा एयरवेजको विमान भैरहवा आयो। जजिरालाई अगाडि राखेर तत्कालिन प्रधानमन्त्री शेरवहादुर देउवाले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गर्नुभयो। उद्घाटन हुँदै गर्दा भैरहवाबाट अब दिनमा कम्तीमा ३–४ वटा उडान होला आशा थियो। पर्यटकीय चहलपहल बढ्छ भन्ने लागेको थियो। भैरहवाको उद्योगी व्यवसायीको नेतृत्व गरेको हिसाबले म निकै खुशी थिएँ। समग्र उद्योगी व्यवसायी र रुपन्देहीबासी नै उत्साहित थियौं। नेपाल एयरलाइन्स, हिमालयन एयरलाइन्स, कतार एयरलाइन्स लगायतका जहाज भैरहवा आउँछन् र चहलपहल बढछ् भन्ने लागेको थियो। तर हामी भ्रममा रहेछौं।

    भैरहवाबाट अन्तर्राष्ट्रिय उडान नहुँदा अहिले हामी दिनप्रतिदिन एकदम पिडामा गुज्रिरहेका छौं। अन्तर्राष्ट्रिय विमानस्थल निर्माण र जग्गा मुआब्जा समेत गरेर ३८ देखी ४० अर्बको मेघा प्रोजेक्ट हो। एडिबीको लोन लिएर विमानस्थल बनेको हो। यो निर्माण भइरहँदा निजी क्षेत्रले पनि व्यापक रुपमा लगानी गर्यो। नेपाल सरकारको लगानी भन्दा झण्डै दोब्बर लगानी निजी क्षेत्रले व्यवसायीक पूर्वाधारहरुमा गरेको छ। लगानी गरेका नीजि क्षेत्रहरु त पिडामा छन्। तर जति बैंकले लगानी गरेका छन्। उनीहरुलाई संकट भएको छ। बैंकको लगानी डुब्ने अवस्था भयो।

    एक वर्ष अघि बुद्ध जयन्तीको दिन हामीले लुम्बिनीमै गएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझायौं। उहाँले के कारणले भैरहवाबाट जहाज उडेन भनेर तत्कालिन पर्यटनमन्त्री सुदन किराँतीलाई सोध्नुभयो। एक महिना भित्र कुनै पनि हालतमा अन्तर्राष्ट्रिय उडान गराउन प्रधानमन्त्रीले भन्नुभयो। प्रधानमन्त्रीले भने झै उडान त भयो। मलेसियाबाट भैरहवा आउने भैरहवाबाट काठमाडौँ जाने त्यो पनि हप्ता मा एक मात्र उडान भयो। त्यो उडान हुनु र नहुनुसँग हामीलाई मत्लबै रहेन। एक खालको भ्रममा मात्र पारियो।

    केही दिन अघि हामीले परासीमा गएर फेरि प्रधानमन्त्रीलाई भेट्यौं। ज्ञापनपत्र बुझाउँदा लुम्बिनीको भएको कुरा सम्झायौं। ‘प्रधानमन्त्रीज्यु हजुरले चासो लिएर मलेसीया भैरहवा उडान भएको छ। यसलाई दुईतर्फी गरिदिन पर्यो । अरु एयरलाईन्सलाई पनि तपाईले भनिदिन पर्यो। त्यसो नभए हामी पर्यटन व्यवसायीहरु आत्महत्याको अवस्थामा पुग्यौं।’ भनेर मैले भनें।
    हालै भैरहवा आउनुभएका विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीज्युले पनि भैरहवाबाट अन्तर्राष्ट्रिय उडानको बारेमा केही प्रस्ताव राख्नुभएको छ। त्यो कुराहरु हामीले पहिलेदेखी नै उठाएको कुरा हो। अहिलेको महाप्रबन्धकज्यु पनि उडान सुचारु गराउन एकदम सकारात्मक हुनुहुन्छ भन्ने सुनेको छु।

    अब सरकारले छिटै भैरहवाबाट उडानको वातावरण बनाउन पर्छ। विदेश जानेहरुको लागि श्रम स्विकृती, स्वास्थ्य परिक्षण लगायतका काम रुपन्देहीबाटै हुनुपर्छ। भैरहवामै स्वास्थ्य परिक्षणको इकाइ राख्न स्वास्थ्य मन्त्रालयले मन्त्रीपरिषदबाट निर्णय नै गराउन पर्दैन होला। अहिले पहिलो पटक श्रम स्विकृती लिन काठमाडौँ जानपर्छ। श्रम स्विकृती, स्वास्थ्यको रिपोर्ट लिन काठमाडौँ जानपर्ने, म्यानपावरको काठमाडौँमै हुने हो भने को भैरहवाबाट उड्न खोज्छ? श्रम स्विकृती, स्वास्थ्य परिक्षण रुपन्देहीमै खोल्नुहोस्। म्यानपावर कम्पनीहरुलाई पनि भैरहवामा शाखा खोल्न अनिवार्य गर्नुहोस्। हामीले माग गरेको यही कुरा हो। अर्को तर्फ भैरहवाबाट हवाइ इन्धन काठमाडौँ लैजादा भाडा लाग्छ। भैरहवामा आएर भैरहवामै खपत हुँदा ढुवानी कम हुन्छ। त्यसमा सहुलियत दिन पर्यो, ग्राउण्ड हेण्डलिमा सहुलियत दिन पर्यो भनेर हामीले भनेको हो।

    काठमाडौँबाट ३ वटा फ्लाइट हुन्छ भने एउटा उडान भैरहवा विमानस्थलबाट अनिवार्य हुनुपर्छ भन्ने सरकारले नीति बनायो भने गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थल तुरुन्तै सुचारु हुन्छ । भैरहवाबाट यात्रु नभएर, बजार बजार नभएर विमानस्थल नचलेको होइन। सरकारले नचाहेकाले र आवश्यक पहल नगरेकाले हो। गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल यहाँका नीजि क्षेत्रको लागि मात्र चल्नुपर्ने त होइन होला नि। त्यसैले लुम्बिनी प्रदेश सरकार र यहाँका स्थानिय तहहरुले पनि भैरहवाबाट अन्तर्राष्ट्रिय उडानको लागि दबाब दिनुपर्छ।