२०८१ आश्विन २१ गते, सोमबार ११:०३
  • २५६८ औं बुद्धजयन्ती मनाइँदै, प्रधानमन्त्री लुम्बिनीमा

    लुम्बिनी– विहिवार २५६८ औं बुद्धजयन्ती मनाइँदै छ। बुद्धजन्मस्थल लुम्बिनीमा बुद्ध जयन्ती समारोहको आयोजना हुँदै छ। विहान ९ बजे लुम्बिनीको अन्तर्राष्ट्रिय सभाहलमा बुद्धजयन्ती समारोह हुँदैछ। समारोहमा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बुधबार साँझै लुम्बिनी आइपुगेका छन्।

    उपप्रधान तथा परपराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, संस्कृती पर्यटन तथा नागरिक उडडयन मन्त्री हितबहादुर तामाङ, लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महरा लुम्बिनी आइपुगेका छन्। प्रधानमन्त्री सहित मन्त्री र मुख्यमन्त्रीलाई लुम्बिनी विकास कोषका उपाध्यक्ष डा। ल्हारक्याल लामाले स्वागत गरे।

    प्रधानमन्त्री प्रचण्ड बुधबार बेलुका बुद्धजयन्तीको पूर्वसन्ध्यामामा लुम्बिनीमा आयोजित सांस्कृतिक तथा चित्रकला प्रदर्शनी कार्यक्रममा सरिक भएका थिए। भारतीय दुतावासले लुम्बिनी विकास कोषसँगको सहकार्यमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले गौतमबुद्धको शिक्षामा सदभाव र शान्तिको सन्देश रहेको बताए। उनले बुद्धको शाश्वत अहिंसा, करुणा र आन्तरिक शान्तिको सन्देश वर्तमान विश्वमा झन् सान्दर्भिक हुँदै गएको उल्ल्ेख गरे। ‘बुद्धको शिक्षाको विश्वासपूर्ण अनुसरणले व्यक्ति, समुदाय र राष्ट्रहरूबिच विवाद समाधान गर्न र सद्भाव फैलाउन मद्दत गर्नेछ’ प्रधानमन्त्रीले भने । उनले आफू लुम्बिनी आउँदा सधैँ खुसी अनुभूत हुने गरेको बताउँदै बुद्धको शिक्षा मानवजातीकै लागि कल्याणकारी रहेको बताए।

    प्रधानमन्त्री सांस्कृतिक सम्पदाको प्रदर्शनका लागि गरिएका अथक प्रयासप्रति धन्यवाद व्यक्त गर्दै कलाकारहरूको सिर्जनशीलता प्ररेणादायी रहेको बताए । उनले नेपाल–भारत सम्बन्धको सन्दर्भमा सांस्कृतिक आयामले विशेष स्थान ओगटेको बताउँदै प्रधानमन्त्रीले दुई देशका जनतालाई प्राचीन कालदेखि नै सांस्कृतिक आयामले नजिक राखेको बताए ।
    लुम्बिनी विकास कोषका उपाध्यक्ष डा। ल्हारक्याल लामाले बुद्धजन्मस्थल लुम्बिनी विश्व शान्तिको स्थापना गर्ने भूमि समेत रहेको रहेको बताए। उनले प्रधानमन्त्रीको उपस्थितीमा बुद्धजन्मस्थलमा मनाईने बुद्धजयन्तीले विश्वभरका बौद्ध सम्प्रदायमा सदभाव, शान्ति र सुखको सन्देश जाने उल्लेख गरे।

    कार्यक्रममा नेपालका लागि भारतीय राजदुत नविन श्रीवास्तवले बुद्धजयन्तीको पूर्वसन्ध्यामा बुद्धजन्मस्थ लुम्बिनीमा साँस्कृतिक र चित्रकला प्रर्दशनी गरेर विश्वभर शान्ति र सदभाव बाड्न पाएकोमा खुशि व्यक्त गरे। वेविबुद्ध स्थलमा आयोजित साँस्कृतिक तथा चित्रकला कार्यक्रममा नेपाल र भारतका कलाकारहरुले विभिन्न संगितहरु प्रस्तुत गरेका थिए ।