२०८१ आश्विन २१ गते, सोमबार ११:०७
  • प्राचिन कपिलबस्तुको पर्यटकीय विकासको लागि बृहत गोष्ठिको प्रस्ताव

    लुम्बिनी-प्राचिन कपिलबस्तुको पुरातात्विक क्षेत्रको अन्वेषण, उत्खनन संरक्षण तथा विकासका लागि बृहत गोष्ठि गर्नुपर्ने प्रस्ताव गरिएको छ। २५६८ औं बुद्धजयन्तीका दिन कपिलबस्तुको तिलौराकोटमा शुक्रबार आयोजित बुद्धजयन्ती तथा प्रसुती उत्सव समारोहमा लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाले सबै सरोकारवालाहरुविच एकै ठाउँमा बसेर साझा धारणा र बुझाईका लागि बृहत गोष्ठिको प्रस्ताव गरेका हुन।

    उपाध्यक्ष डा. लामाको प्रस्तावमा राष्ट्रियसभाका उपाध्यक्ष बिमला घिमिरेले समर्थन जनाउँदै अब सबै पक्ष बसेर कपिलबस्तुको पुरातात्विक अन्वेषण, संरक्षण र विकासका लागि साझा दृष्टिकोण बनाउनुपर्ने बताईन। उनले लुम्बिनी विकास कोषले कपिलबस्तुलाई उपेक्षा गरेको गुनासो धेरै हुने तर यसको समस्याबारे एकै ठाउँमा बसेर छलफल गर्दा त्यसले परिणाम ल्याउन सहयोग गर्ने उल्लेख गरिन। ‘मन्त्रीदेखि सांसदसम्मले गुनासो गरेका छौं, खासमा बुद्धको गृहनगर कपिलबस्तु ओझेलमा किन छ, यसबारेमा जनप्रतिनिधि, स्थानीयहरु सबै जागरुक बनौं’ घिमिरेले भनिन।

    बुद्धजयन्तीको भोलिपल्ट लुम्बिनीबाट तिलौराकोटमा दरबार ल्याइएको शिशु बुद्धलाई स्वागतपछि लुम्बिनी विकास कोषको आयोजना तथा कपिलबस्तु नगरपालिकाको सहयोगमा तिलौराकोट दरबारमा प्रसुती उत्सवका रुपमा कार्यक्रम गरिएको थियो। कार्यक्रमलाई भव्य बनाउनका लागि कपिलबस्तुवासीले समेत बुद्धजयन्तीलाई महत्व दिनुपर्नेमा घिमिरेको जोड थियो।

    कोषका उपाध्यक्ष डा. लामाले नियुक्त भएदेखि नै बुद्धको गृहनगरलाई व्यवस्थित र एक करोड बढि बुद्धिष्टहरुलाई आमन्त्रण गर्ने गरी विकास गर्ने सोँच बनाएको समेत बताए। उनले पुरातात्विक स्थल भएकाले कतिपय संरचना बनाउन चाहेर पनि बनाउन नसकेको भन्दै आगामि दिनमा कसरी जाने भन्नका लागि बृहत रुपमा गोष्ठि गर्नुपर्ने बताए।तिलौराकोटलाई कोषले प्राथमिकतामा राखेर काम अघि बढाएको र केही वर्षमै अब तिलौराकोट विश्व समपदा सूचीमा सूचीकृत हुने लामाको भनाइ छ।

    कार्यक्रममा लुम्बिनी प्रदेशका वन तथा वातावरणमन्त्री अर्जुनकुमार केसीले बुद्धको गृहनगरको विकासको गति निकै सुस्त भएको भन्दै कोषले ध्यान दिनुपर्ने बताए। लुम्बिनी प्रदेशका सांसद सुधाकर पाण्डेयले लुम्बिनीमा लुम्बिनीमा प्रधानमन्त्रीको उपस्थितीमा बुद्ध जयन्ती तामझामका साथ मनाइरहँदा तिलौराकोटमा सामान्य कार्यक्रम गरेर मनाइएको गुनासो पोखे।

    र्यक्रममा कपिलवस्तु नगरपालिकाका नगरप्रमुख सुदीप पौडेल, कोषका बोर्ड सदस्य नारद कोहार, परिषद सदस्य गोपिकृष्ण शर्मा, दामोदर सापकोटा लगायतले बोलेका थिए। यस्तै सोही अवसरमा माछापुच्छ«े बैंकले कपिलबस्तु क्षेत्रको सरसफाईका लागि ‘ग्रास कटर’ मेशिन प्रदान गरेको छ। माछापुच्छ«े बैंक लुम्बिनी शाखा प्रवन्धक बर्षा खनाल र तौलिहवा शाखा प्रमुख संघर्ष रेग्मीले कोषको तिलौराकोट सम्पर्क कार्यालयका प्रमुख माधव प्रसाद आचार्यलाई हस्तान्तरण गरे।

    प्रसुती उत्सव कार्यक्रममा प्रदेश सांसद गिरीधारीलाल न्यौपाने, लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराई, सदस्य सचिव सानुराजा शाक्य, बोर्ड सदस्य श्याम रोक्का, विभिन्न स्थानीय तहका वडाअध्यक्ष, पत्रकार, विज्ञ र स्थानीयहरुको उपस्थिती थियो । प्रत्येक वर्ष लुम्बिनीबाट मायादेवीले बोधिसत्व सिद्धार्थलाई लिएर तिलौराकोट दरबार फर्कदै गर्दाको प्रतिकको रुपमा लुम्बिनीबाट शिशु बुद्व प्राचीन कपिलबस्तुको तिलौराकोट दरबार ल्याउने गरिएको छ।