२०८१ आश्विन २१ गते, सोमबार ११:०६
  • यस्तो देखियो गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आपतकालिन अवस्थाको अभ्यास

    भैरहवा -सोमबार विहान साढे ९ बजेतिर भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल परिसरको दक्षिण तर्फ एकाएक आगोको मुस्लो देखियो। नजिकै हरियो रंगको जहाज दुर्घट्नाग्रस्त अवस्थामा थियो। विमानस्थलमा आपतकालिन अवस्था घोषणा गरि उडान र अवतरण रोकियो। आगोको मुस्लो देखिने वित्तीकै विमानस्थलमा खटिएका दुई वटा दमकल त्यसतर्फ कुदे र पानीको फोहरा फाली आगो निभाउन सुरु गरे।

    यता प्रहरीले घट्नास्थललाई डोरी टाँगी घेराबन्दी गरको थियो। आगो निभाउन विमानस्थलका बाहेक थप दमकल पनि साइरन बजाउँदै आइपुगे। आगलागी नियन्त्रणमा आउँदै गर्दा केही एम्बुलेन्स र उद्धार टोली घट्नास्थलमा पुगे। सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, रेडक्रस लगायतको उद्धारको टोली घट्नास्थलमा खटियो।

    आगो नियन्त्रणमा आइसकेपछि जहाजमा रहेका यात्रुहरुलाई स्टेचरमा राखेर बाहिर निकालियो। उद्धार गरेकाहरुलाई लिन साइरन बजाउँदै लस्करै एम्बुलेन्सहरु आइरहेका थिए। विमानस्थलका अधिकारीहरुले कन्ट्रोल कक्षबाट विभिन्न सुरक्षा अधिकारीहरुसँग समन्वय उद्धारको लागि समन्वय गरिरहेका थिए। यात्रुहरुको अवस्थाको बारेमा जानकारी संकलन गरिएको थियो। विमानस्थलका प्रवक्ताले घट्नास्थलमा खटिएका सञ्चारकर्मीहरुलाई बेला बेलामा यात्रुहरुको अवस्थाको बारेमा जानकारी गराएका थिए।

    गौतम बुद्ध विमास्थलमा देखिएको यो दृष्य वास्तविक नभई कृतिम अर्थात अभ्यासको रुपमा मात्र थियो। साँच्चीकै दुर्घट्ना भएर यस्तो अवस्था आएमा उद्धारमा कसरी खटिने भनेर अभ्यास गरिएको थियो। यसलाई पूर्ण आपतकालिन अवस्थाको अभ्यास (फुल स्केल इमर्जेन्सी एक्सरसाइज) भनिन्छ। पूर्ण आपतकालिन अवस्थाको अभ्यास अन्तर्राष्ट्रिय विमानस्थलहरुले प्रत्येक दुई वर्षमा गर्नुपर्दछ।

    आपतकालिन अभ्यासमा उद्धारमा सम्बन्धित सबै पक्ष सहभागी हुनुपर्ने गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले बताए। ‘सबै पक्ष प्रहरी, सेना लगायतका सुरक्षाकर्मी, अस्पताल, एम्बुलेन्स, रेडक्रस, विमानस्थल प्रशासन एयरलाइन्सहरु सबै सहभागी भएको एक्सरसाइजलाई फूल स्केल एक्सरसाइज भनिन्छ।’ उनले भने ‘अन्तर्राष्ट्रिय नागरिक उड्यन संगठन अनुसार विभिन्न १३ वटा अलर्टहरुको व्यवस्था गरेको छ। आज ३ वटा इमरर्जेन्सीको कल्पना गरेर हामीले अभ्यास गर्याैं।’

    ३ वटा आपतकालमा एउटा जहाज तातेर इन्जिनमा आगो लागेको अवस्था, त्यसपछि पाइलटले जहाज फूल इमरजेन्सी घोषणा गरेको र जहाज दुर्घट्ना भएको परिकल्पना गरेर आपकालिन अभ्यास गरेको तिवारीले बताए। सकभर दुर्घट्ना नहोस् दुर्घट्ना भएमा कम भन्दा कम क्षति होस् भन्ने उदेश्यले पूर्ण आपतकालिन अवस्थाको अभ्यास गरिएको महाप्रबन्धक तिवारीको भनाइ छ।