२०८१ आश्विन २१ गते, सोमबार ११:०९
  • पर्यटकको बसाई लम्ब्याउन फेवाताल किनारमा पदमार्ग

    पोखरा -पर्यटकको बसाई अवधि लम्ब्याउन पोखराको फेवाताल किनारमा पदमार्ग निर्माण गरिएको छ। पोखरा महानगरपालिका -२२ मा पर्ने अनदुदेखि ड्यामसाइड क्षेत्रको फेवाताल किनारमा ४ किलोमिटरको पदमार्ग निर्माण गरिएको हो।

    पोखरामा आन्तरिक तथा बाह्य पर्यटकको चाप बढी हुने भएकाले छोटो दूरीको पदयात्रा गर्ने पर्यटकका लागि पदमार्ग निर्माण गरिएको ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) गण्डकीका अध्यक्ष धर्मराज पन्थीले बताए। उकालो र ओरालो भन्दा पनि ताल किनारामा पद मार्ग भएकाले प्रायः सबै उमेर समुहका व्यक्तिको उत्कृष्ट पदमार्ग हुन सक्ने उनको भनाइ छ। पोखरा पर्यटकीय राजधानी घोषणा भइसकेको अवस्थामा पर्यटकको बसाइ लम्ब्याउन उक्त पद मार्गले थप टेवा पुग्ने विश्वास गरिएको छ।

    पदमार्ग निर्माणसँगै पोखरामा आएका पर्यटकले छोटो समयमा हिमाल, ताल, र पोखरा बजारको दृश्यावलोकन गर्दै पदयात्रा गर्न पाउने र यो उत्कृष्ट गन्तव्य हुने टान गण्डकीका उपाध्यक्ष कृष्ण आचार्यले दाबी गरे। हाल निर्माण भएको पदमार्गको करिब ४० प्रतिशत मात्र काम सम्पन्न भएको पोखरा महानगरपालिका–२२ का वडाध्यक्ष हिमलाल बरालले बताए।

    उनले ड्यामसाइडदेखि रानीवन हुँदै, अनदु, रातमाटा, शसर्कोदेखि खपौदीसम्म जोड्न करिब ९ किलोमिटर पदमार्गको अवधारणा अघि सारेको जानकारी दिए। आगामी वर्ष योजना अनुरुप उक्त पद मार्ग पूरा गर्न करिब एक करोड बजेट आवश्यक भएको बरालको भनाइ छ।