२०८१ आश्विन २१ गते, सोमबार १०:५८
  • होटलका पाहुनालाई आसपासका गन्तव्यहरुको बर्णन गर्न सक्नुपर्छ

    ७ दिने साना तथा मझौला होटल व्यवस्थापन तालिम सम्पन्न

    बुटवल -होटल सञ्चालकहरुले आफ्नो व्यवसायसँगै पर्यटकीय गन्तव्यको प्रर्वद्धनमा पनि ध्यान दिनुपर्ने बुटवलमा आयोजित कार्यक्रममा बताइएको छ। बुटवलमा सञ्चालन भएको साना तथा मझौला होटल व्यवस्थापन तालिमको समापन कार्यक्रममा सरोकारवालाहरुले पर्यटन प्रवद्र्धनमा होटल व्यवसायको पनि महत्वपूर्ण भूमिका हुने उल्लेख गरे।

    पर्यटन विकास परिषद लुम्बिनीको आयोजना र होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीको सहकार्यमा जेठ २७ गतेबाट सुरु भएको तालिम शनिवार सम्पन्न भएको हो। समापन कार्यक्रममा पर्यटन परिषद लुम्बिनीका प्रशासन शाखा प्रमुख शंकर पौडेलले होटलमा आएका पाहुनालाई आसपासका पर्यटकीय गन्तव्यहरुको बारेमा राम्रोसँग जानकारी दिन आग्रह गरे। ‘तपाईँहरुले जितगढी, फूलबारी, सिद्धबाबा, बनबाटीका लगायतका ठाउँको राम्रो जानकारी राख्नुपर्छ। लुम्बिनी प्रदेशका पर्यटकीय स्थलको बारेमा पनि पाहुनाहरुलाई बर्णन सक्नुपर्छ।’ उनले भने ‘सकभर प्रदेशको, त्यो पनि नसके जिल्लाको नभए कम्तीमा पालिकाका पर्यटकीय स्थलको बर्णन गर्नुहोस्।’

    होटल तथा रेष्टुरेन्ट व्यवसायी संघका बरिष्ठ उपाध्यक्ष माधव खनालले समयका माग अनुसार होटल व्यवसाय चल्नुपर्ने बताए। उनले नयाँ सैली र सोँच अनुसार व्यवसाय सञ्चालन गर्नुपर्ने धारणा राखे। संघका पर्यटन उपाध्यक्ष रोमाकान्त पाण्डेले ७ दिने तालिमले व्यवसायसँगै पर्यटन प्रवद्र्धनमा पनि इटा थपिएको उल्लेख गरे।

    तालिममा ४० जना होटल व्यवसायी सहभागी भएको तालिम संयोजक तथा संघका सहकोषाध्यक्ष माधव ढकालले जानकारी दिए। तलिमका सहभागी कृष्णप्रसाद आचार्यले आफूले गरिरहेको अभ्यास भन्दा नयाँ कुरा सिक्न पाएको बताए। संघका महासचिव अर्जुन थापाको सञ्चालनमा भएको कार्यक्रममा सहभागीहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो। सहभागीहरुलाई स्टे्रलिङ इन्टरनेश्नल कलेज अफ हस्पिटालिटीका निर्देशक धिरजप्रकाश राना, निरज ढुंगेल लगायतकाले सहजीकरण गरेका थिए।