२०८१ आश्विन २१ गते, सोमबार ११:०१
  • पर्यटन र हस्पिटालिटीमा कपिलबस्तुको पहिचान बन्दै सिद्धार्थ लुम्बिनी ग्रीन रिसोर्ट

    चन्द्रौटा -केही वर्ष अघि कपिलबस्तुको चन्द्रौटामा सभा समारोह गर्नको लागि ठाउँको अभाव थियो। उच्च वर्गका भारतीय पाहुना आउँदा बासका लागि बुटवल पठाउनुपथ्र्यो। अहिले भने शिवराज नगरपालिकाको चन्द्रौटा क्षेत्रमा विदा मनाउन आउने भारतीय पर्यटकहरु बढेका छन्। लखनौ, गोरखपुर लगायतका ठाउँबाट विवाहका लागि समेत चन्द्रौटामा जमघट हुने गरेका छन्। ठूलादेखी साना सभा समारोह गर्ने सुविधायुक्त ठाउँ पनि तयार छ।

    चन्द्रौटाको मुख्य बजारबाट एक किलोमिटर अगाडि गएर पूर्वपश्चिम राजमार्ग छोडी दक्षिण पश्चिम लागेपछि सिद्धार्थ लुम्बिनी ग्रिन रिसोर्ट पुगिन्छ। यो रिसोर्टले कपिलबस्तु र विशेष गरि चन्द्रौटा क्षेत्रको हस्पीटालिटी र पर्यटन क्षेत्रमा पहिचान थपेको छ। सिद्धार्थ लुम्बिनी ग्रिन रिसोर्टले हालै नेपाल सरकारको पर्यटन विभागबाट चार ताराको बर्गिकरणमा परेको हो। त्यस अघि यो डिलक्स रिसोर्टको रुपमा रहेको थियो।

    सिद्धार्थ लुम्बिनी ग्रिन काठमाडौँ र पोखरा बाहिरको पहिलो डिलक्स रिसोर्ट समेत हो। सिद्धार्थ लुम्बिनी ग्रिन रिसोर्ट गत वर्ष विश्व पर्यटन दिवसका दिन उत्कृष्ठ रिसोर्टको अर्वाडबाट समेत सम्मानित भएको थियो। ३ विघा क्षेत्रमा क्षेत्रमा फैलिएको रिसोर्टको परिसर सुन्दर आकर्षक देखिन्छ। रिसोर्टमा ८५ वटा कोठा रहेका छन्। त्यस्तै साना ठूला गरेर ५ वटा हल छ। रेष्टुरेन्ट, बार, स्पा, वाटरर्पाक सहितको स्वीमिङ पुल, हेल्थ क्लबको सुविधा पनि रहेको रिसोर्टका सेल्स एन्ड मार्केटिङ एक्ज्युकेटिभ बिष्णु प्रसाद बन्जाडेले बताए। एक महिनापछि कसिनो पनि सुरु हुने उनले जानकारी दिए।

    रिसोर्टको अर्को विशेषता यहाँको पोखरीमा डुंगा सयर गर्न र बल्छी खेल्न पनि पाइन्छ। पोखरी वरपर पदमार्ग र खानपानको लागि कटेज समेत छ। जहाँ हरियाली र शान्त वातावरणमा रमाउन सकिन्छ।

    लुम्बिनी ग्रीन रिसोर्ट एग्रो फर्म सहितको रिसोर्ट हो। आएका पाहुनालाई फर्ममै उत्पादन भएका परिकार खुवाउने रिसोर्टका प्रबन्ध निर्देशक लक्षमण भण्डारीले बताए। ‘पाहुनालाई हामीले आफ्नौ पोखरीको माछाका परिकार खुवाउँछौं। कुखुरा, हाँसका परिकार, अण्डा, दुध र तरकारीहरु पनि धेरै जसो हामी आफ्नै फर्मको प्रयोग गर्छाैं।’ उनले भने ‘फर्ममा हुने उत्पादन सतप्रतिसत अर्गानिक हो। गेटभित्र हामीले युरिया, डिएपी लगायत कुनै पनि रसायनीक मल प्रयोग गर्दैनौं।’

    उखुँखेतीबाट माछापालन हुँदै चारतारा रिसोर्टसम्म

    भण्डारीको रिसोर्ट परिसरसहित २ ठाउँमा गरि ३५ विघामा क्षेत्रमा माछा फर्म छ। रिसोर्ट भन्दा अगाडि यही ठाउँमा उनको कृषि फर्म मात्र थियो। उखुँखेती, माछा पालन लगायतको फर्म, डिलक्स रिसोर्ट हुँदै चार तारा होटल सञ्चालनसम्मको अवस्थामा आँफू आइपुगेका प्रबन्ध निर्देशक भण्डारीले सुनाए। ‘सुरुमा २०६४ देखी ०६६ सम्म हामीले उखुँ खेती गर्यौं। त्यसबेला पनि उत्कृष्ठ किसान भनेर चिनी मिलले हामीलाई सम्मान गरेको थियो।’ उनले भने ‘त्यसपछि माछा कुखुरा र गाइ पाल्न थाल्यौं। २०७५ रिसोर्ट निर्माण सुरु भयो। निर्माण सम्पन्न भएपछि व्यवसायीक रुपमा सञ्चालन गरिरहेका छौं।’

    पिछडिएको ठाउँमा चहलपहल बढाउँ भनेर आफूलाई रिसोर्टको सोँच आएको प्रबन्ध निर्देशक भण्डारीको भनाइ छ। ‘यहाँ बर्थ डे मनाउन या विवाह गर्नुपर्यो भने सुविधायुक्त ठाउँ थिएन। मेरो खाद्य उद्योग पनि छ। उद्योगमा भारतीय पाहुनाहरु आउँदा कि आफ्नै घरमा राख्न पर्यो। होटलमा बस्ने भए बुटवल पठाउन पथ्र्यो।’ उनले भने ‘पैसा कमाउने भन्दा पनि आफ्नो ठाउँमा केही गर्नुपर्छ र पर्यटकीय चहलपहल पनि बढाउन सकिन्छ भनेर रिसोर्ट थालेका हौं।’

    सिद्धार्थ लुम्बिनी ग्रिन रिसोर्टले स्थानिय उत्पादन र रोजगारलाई प्राथमिकता दिएको छ। आफ्नो फर्मको बाहेक दुध, तरकारी, खाद्यान्नहरु स्थानिय उत्पादन प्रयोग गर्ने गरेको भण्डारीले बताए। रिसोर्टमा ५० प्रतिसत जनशक्ती स्थानिय नै भएको उनको भनाइ छ। ‘सिप नभएकालाई पनि सिप सिकाएर हामीले काममा लगाएका छौं। बढि भन्दा बढि स्थानियलाई रोजगारीको रुपमा समेट्ने छौं।’ भण्डारीले भने।

    रिसोर्टका प्रबन्ध निर्देशक : लक्ष्मण भण्डारी

    रिसोर्टमा अहिले ७५ जना जनशक्ती कार्यरत छ। छिट्टै कसिनो पनि सञ्चालन हुने छ। सञ्चालनमा आएपछि कसिनोमा २५० जना र होटल तर्फ पनि जनशक्ती थप हुँदा ३८० जनासम्मले रोजगारी पाउँने उनले बताए। रिसोर्ट सञ्चालनको लागि हालसम्म ८० देखी ८२ करोड लगानी भएको र कसिनो समेत सञ्चालनमा आउँदा लागत एक अर्ब माथि पुग्ने अनुमान छ। रिसोर्टको व्यवस्थापन सिद्धार्थ ग्रुप अफ हस्पिटालिटीले गरेको छ। हस्पिटालिटीको सेवामा नाम कमाएको सिद्धार्थ ग्रुपको देशका विभीन्न ठाउँमा आफ्नै होटल तथा रिसोर्ट सञ्चालनमा छ।

    सिद्धार्थ लुम्बिनी ग्रीन रिसोर्टमा आउने धेरै जसो पाहुना भारतीय छन्। केही मात्रामा बुटवल लगायतका ठाउँबाट पनि घुम्न आउँछन्। रिसोर्टमा आएका भारतीय पाहुनालाई स्वर्गद्वारी, सुपादेउराली, लुम्बिनी सहित कपिलबस्तुकै जगदिशपुर ताल लगायतका स्थानको भ्रमण गराउने गरिएको छ। सिद्धार्थ लुम्बिनी ग्रीन रिसोर्टले पर्यटकीय चहलपहलसँगै कपिलबस्तु पश्चिममा आर्थिक चलायमान पनि गराउने आशा गरिएको छ।