२०८१ आश्विन २१ गते, सोमबार ०९:१२
  • पाल्पामा भारतीय पर्यटकको आगमन हालसम्मकै उच्च

    जेठमा होटलको अक्कुपेन्सी ८० प्रतिसत बढि

    तानसेन – पाल्पामा यो सिजनमा भारतीय पर्यटकहरुको आगमन हालसम्मकै उच्च देखिएको छ। गर्मी छल्न बैशाख र जेठ महिनामा नेपालका पहाडी जिल्लाहरुमा आउने गरेका छन्। पाल्पाको तानसेनमा यस वर्ष विगतको भन्दा धेरै भारतीय पर्यटकहरुको चहलपहल देखिएको छ।

    जेठमा तानसेनको होटलहरु प्राय भरिभराउ भएको पाल्पा होटल व्यवसायी संघका अध्यक्ष लक्ष्मण बस्यालले बताए। ‘अहिलेको गर्मी सिजनमा पाल्पामा घुम्न आउनेहरुको राम्रै चलहपहल छ। जेठ महिनामा होटलको अक्कुपेन्सी ८० प्रतिसत भन्दा माथि थियो। कहिलेकाँही त तानसेनका सबै होटल प्याक हुन्थे।’ उनले भने ‘असार लागेपछि केही घटेका छन्। घुम्न आउने मध्ये आधा भन्दा बढि त भारतीयहरु छन्।’ कोभिड अघि भन्दा पनि यस पटक पाल्पामा धेरै भारतीय पर्यटक आएको बस्यालको भनाइ छ।

    पाल्पाको तानसेन बजार आँफैमा घुम्न लायक ठाउँ हो। पाल्पा दरबार, प्राचिन सम्पदा र पुराना सैलीका मौलिक घरहरु तानसेनमा अझै देखिन्छ। तानसेन आएका पर्यटकहरु श्रीनगर, रानीमहल, भैरवनाथ, रिडी लगायतका ठाउँमा पुग्छन्।
    पाल्पा आएका पर्यटकहरु एक रात या दुई रात विताउने गरेका छन्। कतिपय पोखरा जाने क्रममा केही उताबाट फर्कने क्रममा पाल्पा पसेर जाने गरेका छन्। कतिपय भारतीय पर्यटकहरु पाल्पाकै लागि मात्र भनेर समेत आएको पाल्पा होटल व्यवसायी संघका अध्यक्ष बस्यालको भनाइ छ। ‘तानसेन गोरखपुर लगायतका ठाउँको लागि नजिकै हिल स्टेसन भयो। त्यसैले शानिवार आइ बसेर आइतबार दिनभर घुमेर फर्किन पनि मिल्यो।’ उनले भने ‘विदा मनाउन विशेष गरि भारतका कर्मचारी व्यापारीहरु परिवारसहित आउने गरेका छन्।’

    भारतीय पर्यटकको चहलपहलले केही उत्साह थपेको तानसेन नगरपालिकाका मेयर सन्तोषलाल श्रेष्ठले बताए। पर्यटकीय वातावरण निर्माणको लागि नीजि क्षेत्रसँग मिलेर काम गरिरहेको उनले जानकारी दिए। ‘दरवार स्क्वायर रानीमहल लगायतका ठाउँमा पूर्वाधार बनाउ र प्रवद्र्धनको लागि हामीले बजेट छुट्याएर काम गरिरहेका छौं। प्रचार प्रसार र प्रवद्र्धनको लागि पर्यटन व्यवसायीहरुसँग मिलेर अघि बढ्छौं।’मेयर श्रेष्ठले भने।